उसखेर गाउँमा बुढापाकाहरु “राजनीतिमा पोलिटिक्स घुस्यो” भन्ने गर्थे ।“राजनीति र पोलिटक्स भनेको एउटै त हो नि हौ बाजेहरु”, ६ कक्षाको My English Book – 3 पढेपछि मभित्र पलाएको गोराको सानो सानो बच्चा बुढाहरुलाई उल्टो अंग्रेजी सिकाउन उद्यत हुन्थ्यो । तर वास्तवमा, जानेर हुन् वा नजानीकनै, बुढापाकाहरुले त्यो के भनेका रहेछन्, म पछि ठूलो त्यसको सही अर्थ बुझें । मेरो युनिभर्सिटीकी प्रोफेसर Monika Kraus (2014) ले पनि आफ्नो पुस्तक The Good Project मा राजनीतिलाई आफ्नै तरिकाले ब्याख्या गरेकी छन् । हामीले सामान्य रुपमा बुझ्न राजनीति #politics भन्ने गरिए पनि उनी भन्छिन् पोलिटिक्सलाई P (क्यापिटल पी) र p (स्मल पी) गरी बेग्ला बेग्लै परिभाषाले बुझ्न राम्रो हुन्छ । उनले ठूलो पी Politics भनेको बिशेष गरी राज्यब्यवस्था अन्तर्गत नीति निर्माण र कानूनको कार्यान्वयन र दलगत काम कारवाही जस्ता कुराहरु पर्दछन् भनी तर्क प्रस्तुत गरेकी छन् । उनका अनुसार हक–अधिकारको माग, न्याय र समानताको मुद्दा, कर्मचारीतन्त्र, प्रशासन, कुटनीति, रणनीति, मुद्रा र रक्षा र विदेशनीति जस्ता कुराहरु ठूलो पी अन्तर्गत पर्दछन् । अर्कोतिर सानो p ले बनेको politics भनेको राज्यब्यवस्थाभन्दा पनि मानवजीवनको सामाजिक पक्षलाई जनाउँदछ । सानो p अन्तर्गत ब्यक्तिको स्वार्थ, आस्था, विस्वास, पहिचान, इतिहास, धर्म, नश्ल वा जातिका आधारमा कसलाई कहाँ सामेल गर्ने र कसलाई कतिखेर निकाला गर्ने (inclusion and exclusion) भन्ने जस्ता सामाजिक जीवनको मौलिक पक्षहरु समावेश हुन्छन् । यसरी हेर्दा के बुझिन्छ भने कुनै पार्टीमा आस्था राख्नु, उक्त पार्टीको कार्यकर्ता हुनु र त्यही बमोजिम पार्टी राजनीतिमा लाग्नु ठूलो Politics पर्दछ भने सानो politics भनेको मान्छे-मान्छे र समुह-समुहबीचको अस्तित्वको लडाईं र खिचातानी हो । सानो politics मन्दिरमा, मस्जिदमा, चर्चमा, गुम्बामा, व्यापारमा, जागिरमा, आर्मी ब्यारेकभित्र, घरपरिवारमा र सबै संघसंस्थाहरुमा हुन्छ । आफ्नो जातिलाई उँचो देख्नु, आफ्नो धर्मलाई सर्बश्रेष्ठ ठान्नु, आफ्नो क्षेत्रका बासिन्दाहरुलाई हितलाई केन्द्रमा राख्नु आदी सानो politics भित्र पर्दछन् । यहाँ एउटा बुझ्न पर्ने के हो भने सानो politics मा ठूलो Politics को महत्व हुँदैन तर ठूलो Politics मा सानो politics को गुञ्जायस रहन्छ । ठूलो Politics मा बिशेष गरी चुनावताका, हड्तालमा, संबिधान लेखन र संशोधन, मन्त्री-राजदुत-आइजीपी नियुक्ति आदिमा सानो politics को काम आउँछ । किनकी सानो politics को खेल मार्फत आफूलाई माथि र अरुलाई तल पार्न खोज्नु स्वाभाविक मानवीय प्रवृत्ति हो । सानो politics गर्दा आफ्नो शाख राख्नलाई अरुको अस्तित्व गिराउन पर्ने हुन्छ । सानो politics को कुटिल खेलमा ब्यक्ति वा समुह आफ्नो स्थान माथि पार्ने प्रयास गर्दछ जसको निम्ति अरुलाई तल पार्न जरुरी हुन्छ । उदाहरणका लागि वल्लो गाउँलेहरु भएर माथ्ला र तल्ला गाउँलेहरुसित मिलेर पल्ला गाउँकालाई एकलाउन खोज्नु, माथि उक्लन खोजेकालाई तलैतिर पार्न खोज्नुस तलतिर भएकालाई बहिर्याउन खोज्नुस बाहिर भएकालाई फेरि अवस्था हेरी भित्रयाउन खोज्नु आदी सानो politics अन्तर्गतको खेलहरु पर्दछन् । त्यस्तै (उदाहरणको लागि) किराँत राई यायोक्खाभित्र बान्तवाहरुले साम्पाङहरुलाई सिध्याउन खोज्नु, चुम्लुङको अधिबेशनमा तेह्रथुमे लिम्बुहरुले ताप्लेजुङ्गे उम्मेद्वारभन्दा तेह्रथुमेलाई नै भोट दिनु, बेलायतको नेपाली समाजमा हामी ‘गोर्खे तिमी त नोन-गोर्खे’, ‘हामी मिलिटरी तिनीहरु सिभिलियन’, ‘हामी हाइली-स्किल्ड तिमी बिद्यार्थी’ आदी भनी कित्ता काट्नु, एनआरएनए यूकेको चुनावमा गुरुङ मात्रै सधैं अध्यक्ष हुनपर्छ भनी तमुधींले लबिङ गर्नु आदी यी सबै सानो politics का रुपहरु हुन् । सानो politics भनेको जाल, साँज, फरेब र आफ्नो जीतको सुनिश्चितता गर्न एकले अर्काको खुट्टा तान्ने खेल हो । सानो politics मा अनेक हुन्छ । सानो politics यस्तो खेल हो जसले नजिकबाट अर्को मान्छेलाई चिनाउँछ । सानो politics ले अर्को मान्छेको जाल फरेब, अर्को मान्छेको कमजोरी, अर्को मान्छेको मित्रता र अर्को मान्छेको सख्यताको परिचय दिन्छ । यथार्थमा सानो politics ले को मानिस कस्तो जातको हो त्यो देखाउँछ । समष्टिमा भन्नुपर्दा मानिस जहाँ आफ्नो हित र स्वार्थ अनुसार काम गरिरहेको हुन्छ त्यहाँ सानो politics भइरहेको हुन्छ । अर्कोतिर ठूलो Politics को अर्थ बहुआयामिक (multidimensional) हुन्छ । ठूलो Politics भनेको समग्रमा एउटा दर्शन पनि हो र दर्शनले नै समाजलाई निर्देशित गर्दछ । यस अर्थमा ठूलो Politics समाज अघि बढ्ने मूल बाटो हो । ठूलो Politics बिज्ञान हो । ठूलो Politics कला पनि हो । अनि ठूलो Politics मुख्यत: टाउको (दिमाग) हो । जसरी टाउकोले सारा शरीर नियन्त्रण गर्दछ उसरी नै ठूलो Politics ले समाज हाँकेको हुन्छ । ठूलो Politics बिनाको काल्पनिक समाज टाउको बिनाको मुर्कट्टा हो । यस अर्थमा ठूलो राजनीतिका खुराकहरु ठूलै दर्शनशास्त्रबाट आएका हुुन्छन् । #marxism, #socialism, #communism, #democracy, #rightism, #leftism, #neoliberism, #postcolonialism आदि जस्ता ठूला दर्शनहरु ठूला Politics का खुराकहरु हुन् । त्यस्तै सानो politics का खुराकहरुहरु पनि सानै हुन्छन् । #egoism, #egocentrism, #ethnocentism, #hypocriticism, इत्यादि सानो politics का खुराकहरु हुन् । केही हप्ताअघिको कुरा हो बेलायतमा सानो politics गर्ने एउटा मिडियाले “NRNA UK को अध्यक्ष योग कुमार फगामी ठूलो राजनीतिमा लागे” (अर्थात नेपाली कांग्रेसमा लागे) भनेर हेडलाइन लेख्यो । मेरो बिचारमा त्यो हेडलाइन ब्यक्ति वा समुहप्रति लक्षित भन्दा पनि नितान्त आफ्नो न्युज पोर्टल बढीभन्दा बढी पाठकहरु बढून् भन्ने नै थियो । अर्थात तिललाई पहाड बनाएर आफ्नो समाचार बिकाउने त्यो नेपाल ब्रिटेन डट कमको एउटा कुटिल खेल (सानो politics) मात्र थियो । तर सोही कारण अध्यक्ष फगामीले आफु कुनै राजनीति दलमा आवद्द नरहेको भनी बिज्ञप्तिसम्म लेख्न पर्यो । अत: सानो politics को अघि ठूलो Politics ले पनि घुँडा टेक्न पर्यो । तर सानो राजनीतिकर्मीहरुलाई के थाहा ब्यक्तिलाई कुनै पदबाट राजीनामा गराइन सकिन्छ तर उसको बिचार र आस्थाबाट राजीनामा गराउन सकिन्न भनेर ।तर राजनीति, चाहे ठूलो P होस् वा सानो p, मानिसले गर्नुपर्दछ । यस बारेमा विद्धान प्रदिप गिरी भन्नुहुन्छ,“…… राजनीतिसँग उदासिन रहनु आफ्नो भाग्यसित खेलवाड गर्नु हो । राजनीति भनेको झन्डै युद्द जस्तै हुन्छ । राजनीति र युद्द भनेको एकअर्काको प्रतिरुप वा छायाँ हुन् । अर्को परिभाषामा युद्द भनेको राजनीति सफल नहुँदा गरिने अर्को माध्यम हो । राजनीति भनेको प्रत्यक्ष रुपमा आफ्नो जीत नहुँदा गरिने अर्को प्रकारको युद्द हो । ……… प्रेमबाट जस्तै राजनीतिबाट बडा ठुलो शिक्षा पाईन्छ । प्रेममा नपरेको मान्छे र राजनीतिमा नपरेको मनुवाले वास्तवमा जीवन बुझेकै हुँदैन । अब यो अलग हुन्छ कि राजनीति (Politics) काङ्रेसको गर्ने कि घरपरिवार,/देउरान-जेठानको/छरछिमेकको (politics) को गर्ने? राजनीति नभएको ठाउँ कहाँ हुन्छ ? तँ ठुलो कि म ठुलो नभएको कहाँ हुन्छ र ?” बेलायतमा Politics गर्ने संघ संस्थाहरुः
- नेपाल आदिवासी जनजति महासंघ (नेफिन) यूके
- प्रवासी नेपाली एकता मञ्च (प्रस्तावित)
- नेपाली जनसम्पर्क समिति यूके
- संघीय नेपाली समाज यूके
- अन्तरर्राष्ट्रिय नेपाली समाज यूके
- प्रवासी नेपाली एकता समाज यूके
- संघीय लिम्बुवान सामाजिक मञ्च यूके
बेलायतमा politics गर्ने संघ संस्थाहरुः
- एनआरएएनए यूके
- जातीय समाज यूके
- थर समाज यूके
- क्षेत्र समाज यूके
- जिल्ला समाज यूके
- बरो समाज यूके
- पेशा समाज यूके
- टोल समाज यूके
- नम्बरी समाज यूके
- वडा समाज यूके
- साक्षर समाज यूके
- कम-साक्षर समाज यूके
- हाइलि-स्किल्ड समाज यूके
- अनस्किल्ड समाज यूके
आदि … अत: तपाईं Politics गर्ने कि politics गर्ने ? मर्जी तपाईंको ।