पद्मसुन्दर लावतीलाई यसरी क्षमा दिएकी थिइन् सुबेदार अन्तरीले

“मैले बाहुनसित विहे गरेर तेरो के बिगारिदिएँ ए परसादे?” यति मात्र भन्दै गरेको यताको हुलमा के देख्या थियौं कतिखेर मञ्चमै पुगेर भाषण गरिरहेको एक जना पूर्व प्रधानपञ्चलाई गएर मुक्का हानेको देख्न पाइयो । त्यति मात्रै होइन पूर्व प्रपले समातिरहेको बडेमाको माइक खोसेर उनकै छातीमा बजारिन् – बड्याम्म … । त्यसपछि सेतो एभ्रेडी-ब्याट्रीचालित माइकका तारलाई खुट्टाले कुल्चेर दुई हातले तानेर चुँडाल्न के लागेकी थिइन् छेवैको कुर्सीमा बसिरहेको एक जना नेता आतिंदै आएर दुई हात जोड्दै सुब्बेनीलाई माफी माग्दै भने – “भैगो बैनी भैगो, माफ गरिदिनुहोला । भैगो, छोडिदिनुहोला ।” आफ्नै प्यानलका पूर्व प्रधानपञ्चका शब्दहरु आपत्तीजनक रहेकोमा उनको तर्फबाट आफ्नो मन्तब्यको क्रममा पुनः माफी माग्ने व्यक्ति थिए उही ‘लिजेण्डरी’ नेता पद्मसुन्दर लावती । कुरो २०४३ सालको पञ्चायतको अन्तिम निर्वाचन ताकाको हो । पद्मसुन्दर लावती र मानबहादुर जबेगू पक्षकाहरु आ–आफ्ना नेताहरुलाई राष्ट्रिय पञ्चायतको सदस्य जिताउन ध्र्रुविकृत थिए । तिनैमध्येका जबेगूपक्षीय एक दम्पत्ति तुलसीप्रसाद सुबेदी र अभिमाया लिङदेनले २०–२५ बर्षअघि नै गरेको अन्तरजातीय विवाहको प्रसङ्ग एक पूर्वपञ्चले चुनावी आमसभामा उठाएपछि घटेको थियो माथि उल्लिखित घटना । आफ्नो बारेमा गरेको नानाभाँती कुरो माइकको चर्को आवाजमा आफैंले सुनेपछि घरैबाट उडेर आएकी थिइन् अभिमाया लिङदेन सुबेदी, उर्फ सुबेदार अन्तरी । अतः यिनताकमा त यस्तो छ नेपालमा अन्तरजातीय प्रेमीहरुको अवस्था, अनुमान गरौं तिनताकमा त अझ कस्तो थियो होला ? धरैले अन्तरजातीय प्रेमीहरुले प्रेम गर्छन तर थोरैको मात्र प्रेम सफल हुन्छ । तिमध्येका प्रेमीहरु थिए याङवरक मेदिबुङका तुलसीप्रसाद सुवेदी र अभिमाया लिङदेन । अझ चाखलाग्दो कुरो त के थियो भने दुवै प्रेमी–प्रेमिकाहरु कट्टर सामन्तका छोराछोरी । थर्पू गाउँका जमिनदार साहु (जसले बि. स. मा २०२० थर्पू माबि स्थापनार्थ जग्गादान पनि गरेका थिए) भगिरथ सुबेदीका माहिला छोरा र सोही गाउँका महासामन्त, सुब्बा रणबहादुर लिङदेनकी अन्तरी छोरीले सफल अन्तरजातीय प्रेम र विवाह कस्तो हुन्छ दुनियाँलाई देखाइदिए । उपाध्यायबाहुनपुत्र तुलसीप्रसाद र भारतीय गोर्खा फौजका सेवानिवृत्त सुबेदार (तत्कालीन नागी–थर्पू प्रहरी थानाका इन्चार्ज) की छोरी दिनदहाडै भागेर प्रेमविवाह गरेर दुनियाँलाई चकित बनाइदिएका थिए रे । कुरो झण्डै ५५ बर्ष पुरानो । अर्थात यो पङतिकार जन्मिनुभन्दा निकै बर्ष पहिल्यै । यी उदाहरणीय सफल जोडीमध्येकी लैलाले आफ्नो मजनुँ र यो दुनियाँलाई लागि छोडेर हिजो यस धर्तीबाट सदाका विदा लिइन् भन्ने खबरले म स्तब्ध छु । आफ्ना तीन छोरा र तीन छोरीहरु हुर्काउँदै श्रीमान तुलसीप्रसाद सुबेदीलाई उक्त क्षेत्रकै सबैभन्दा लोकप्रिय समाजसेवीको रुपमा स्थापित गर्न उहाँको अहम् योगदान थियो । अन्तरजातीय विवाह गर्नेहरुलाई उसखेर सामान्यता डाँडा कटाउने समाजमा त्यसतो संस्कारको प्रतिकार संघर्ष गरेर आफ्नो जीवन सफल बनाएका यी जोडी अब साथ छैनन् । बाउको नामबाट अर्थात सुबेदार अन्तरी भनेर प्रायः चिनिनुहुने अन्तरी तुम्मा (ठुलीआमा) र मेरी आमा लिङदेन कुलका दिदीबहिनी भएर होलान् झटुट हेर्दा सहोदर दिदीबहिनी जस्ता देखिन्थे । दुवै अत्यन्तै मिल्ने साथी । घरदेखि विद्यालय धाउँदा २ घण्टा लाग्ने हुनाले सेण्ट अप परीक्षा मैले उहाँहरुको घरमा बसेर दिएको थिएँ । पछिल्लो पटक मैले उहाँलाई २०५५ सालमा भेट्ने मौका पाएको थिएँ । हङकङदेखि मैले लगिदिएको साडी पाएर मलाई धेरै आशीर्वाद दिनुभएको थियो । अब उहाँसित कहिल्यै भेट नहुने भयो । यस दुःखद घडीमा म तुम्बा तुलसीप्रसाद सुबेदी, दाइहरु ज्ञानेन्द्र, उपेन्द्र, कान्छो भाइ, मीना दिदी, माइली, कान्छी सबैमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै मृतक अन्तरी तुम्माका भतिजा–भतिजीहरु अनि भदै–भदैनीहरु र मेदिबुङका सम्पूर्ण सुबेदी परिवार सबैमा उत्तिकै वेदना प्रकट गर्दछ । ममतामयी तुम्माप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । उहाँहरुको साहस र संघर्षका अन्य कथाहरु पनि छन् । अर्को एन्ट्रीमा कुनै दिन पुनः शब्दहरु खर्च गर्नेछु ।

Leave a Comment