गधालाई के थाहा हिराको मोल कति भनेर?

मान्छेको नाकको लम्बाइ वा आँखाको गहिराइ उभित्रको ब्राम्हणवादको मानक हुन सक्दैन भन्ने तथ्यलाई हिजो निर्वाचन आयोगमा प्रस्तुत गरिएको वरियताक्रमले पुनः पुष्टि गरेको छ । यसले व्यक्तिको गोत्र र थरले उभित्रको जातिवाद र रंगभेदको मापन गर्न सकिन्न भन्ने देखाएको छ । समानता र समावेशीताको नारा दिएर उपल्लो स्थानमा पुगेका मधेशी नेताहरुले समावेशी सवालमा आफूसंगैका बाबुराम भट्टराईलाई चौथो स्थानमा झार्दै आफैंले पहिलो र दोश्रो स्थान ओगटेर आफ्नो सिद्दान्त र नाराप्रतिको अट्टहास गरेका छन् ।

चाहे माओवादीमा रहेर होस् वा नयाँ शक्तिमा, संसदमा रहेर होस् वा सडकमा, बाबुराम भट्राईले आर्थिक–सामाजिक–साँस्कृतिक रुपले सिमान्तकृत, पिछडा र उत्पीडित समुदायका पक्षमा आवाज मुखरित गर्न कहिल्यै पछि परेका छैनन् । तर कम्युनिस्ट पार्टी परित्याग गरेर नयाँ शक्ति जन्माउने उनको साहस, नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसंग एकता गर्ने उनको लचकता, समाजवादी पार्टी नेपाललाई राजपासंग मिलाउन सक्ने उनको सामर्थ्य र नेपालको राजनैतिक इतिहासमा उनको स्थानलाई जनजाति र मधेशीहरुले अवमूल्यन गरेर “गधालाई थाहा नभएको हिराको मोल” को प्रसंग सम्झाइदिएका छन् ।

बाबुराम भट्राईलाई जनता समाजवादी पार्टी (जसपा) को चौथो स्थानमा पारिनुले के दर्शाउँछ भने जनजाति र मधेशीहरु आफैं जातिवादी, रंगभेदी र नश्लीय छन् । देशको एक बौद्दिक, दूरदर्शी र पूर्वप्रधानमन्त्रीको राजनैतिक हैसियतको मर्दन गर्नु मधेशी नेताहरुको असमावेशिता, पदलुब्धता र हैकमीपनको प्रदर्शन कसरी होइन भन्ने ?

आजको जसपाभित्र हिजो जनजातिका मुद्दाहरुलाई उठाएर जन्मेको संघीय समाजवादी पार्टी छ कि छैन? घैयाको खेती गर्दै भैयाको चाकरीमा ब्यस्त जनजाति नेताहरुका अकर्मण्यताले गर्दा त्यो सबैले बिर्सिसकेका छन् । र आज एउटा राष्ट्रिय भाष्य (national narrative) बनिसकेको छ कि “जसपा एक मधेशकेन्द्रित दल हो” । जसपाभित्रका मधेशी–इतर नेताहरुले दोश्रो बरियतामा कि त अशोक नत्र बाबुराम भन्ने न्योचित अडान समेत लिन सकेन्न ।

जनजाति आन्दोलन आज किन कोमामा छ? नेता र कार्यकर्ताहरु आज किन किंकर्तब्यबिमुढ भएर “केरा खाँदै सुसेल्दै” बसेका छन? प्रष्ट छ, हिजो जनजातीय सवालमा आवाज वुलन्द गर्ने गैर-जनजाति वौद्दिकहरु आज जनजातिहरुकै नश्लीय सोच र गतिविधिहरुका कारण चुप छन् । उनीहरुलाई लाग्यो यो आन्दोलनमा हामी ‘इन्साडर्स’ होइनौं । तत्कालीन माओवादी केन्द्रका अध्यक्षको रुपमा प्रचण्डले अग्रगामी परिवर्तनका मुद्दाहरुलाई बिसर्जन गरेर यु–टर्न लिनुको एउटा रहस्य पनि यही नै हो  । यी तमाम परिस्थितिहरुको निर्माण जनजातिहरुकै आफ्नो नश्लीय चरित्रले गर्दा बनेको हो ।

कुनै बेला लिम्बुवानको पक्षमा चर्को आवाज वुलन्द गर्ने बौद्दिक, पत्रकार भवानी बराल आज किन मौन प्रायः छन् ? किनभने बिचरा लिम्बुवानवादीहरुलाई लाग्यो लिम्बुवानको मुद्दा त लिम्बुले मात्रै उठाउन सक्छ । अर्थात को आफ्नो को बिरानो हो भनी उसको नाकको लम्बाई र आँखाको गहिराई नाप्नेतिर लागे लिम्बुवानवादीहरु । उनीहरुलाई लिम्बुवानवादी भवानी बरालभन्दा लिम्बुवानबिरोधी सुवास नेम्बाङ नजिक लाग्न थाल्यो । बिचरा बराल, आफू लिम्बुवानको पुत्र भएर मात्र के गर्नु आफ्नो नामको पछि लिम्बु नभएपछि । अतः लिम्बुवानी आन्दोलनमा आफूले कहिल्यै भित्रिया को रुप महसुस गर्न पाएनन् । परिणामतः आज बराल आफ्नो सामर्थ्यलाई एउटा प्रेस काउन्सिलका दायरामा सिमित गरेर बसेका छन् । लिम्बुवानवादीहरु आफैं कतिसम्म नश्लीय छन् भन्ने यो एउटा उदाहरण हो । अतः आज लिम्बुवानवादीहरु कहाँ छन् शहर–शहर गाउँ–गाउँ खोजेर हिंड्न पर्ने भएको छ ।

अर्को, खगेन्द्र संग्रौलाकै कुरा गरौं । डेढ बर्षअघि नेपाल आदिवासी जनजाति महासंघ बेलायतले २४औं विश्व आदिवासी दिवसको अतिथिको रुपमा निमन्त्रणा गर्दै गर्दा आयोजक दीर्घाले निकै पापड बेल्नु पर्यो त्यो यो पङक्तिकारलाई राम्ररी ज्ञान छ । जनजाति दिवसमा “गैर-जनजाति किन?” भन्दै पाखुरा सुर्किनेहरु निकै थिए । तैपनि महासंघका अध्यक्ष र यो पङतिकारकै अडानले गर्दा ब्राम्हणपुत्र खगेन्द्र संग्रौलालाई बेलायत ल्याएरै छाडे । संग्रौला आज पहिले जस्तो उति उर्बर (prolific) छैनन् र कम लेख्छन् जनजाति सवालमा ।

जनजातिहरुलाई आज कसले के मुद्दा लिएर हिंडेको छ भन्दा पनि ऊ कुन मान्छे कुन नश्लको हो भनेर आफू र अरु भनी छुट्याउनु अचम्म छ । त्यो आफैंमा जातिवाद हो, उनीहरुको आन्दोलनप्रतिको घात हो । आज राष्ट्रिय वा अन्तरराष्ट्रिय मञ्चसम्म पहुँच भएका प्रदीप गिरी, युग पाठक, खगेन्द्र संग्रौला वा भवानी बराल जस्ता अन्य धेरै गैर-जनजाति राजनितिज्ञ, अभियानकर्ता, वौद्दिक लेखक र विश्लेषकहरु समावेशी सवालमा किन कम बोल्छन् वा कलम चलाउँछन् भन्ने कुरा यिनै तथ्यहरुलाई हेरे पुग्छ । अतः अरुलाई ब्राम्हणवादी भनेर आफैं ब्राम्हणवादको द्योतक बनेका जनजाति र मधेशीहरुहरुले दलभित्र र राष्ट्रिय राजनीतिमा बाबुराम जस्ताहरुलाई कस्तो व्यवहार गर्छन् त्यसले नै उनीहरुको आन्दोलनको दिशानिर्देश गर्ला ।

Leave a Comment