समाजवादको बाटो अग्रगामी हुन्छ, पश्चगामी होइन

देशमा सबैभन्दा पुरानो र लोकतान्त्रिक मानिएको दल नेपाली कांग्रेसको महासमितिको बैठक भइरहँदा हिन्दु धर्मलाई राष्ट्रको मूल धर्म बनाउन प्रयासरत एक पक्षले उक्त कुरा बैठकमा पेश गर्ने भएको छ । मोदीले भारतमा हिन्दु राष्ट्रवादको नारा बाँडे । ओलीले नेपालमा एकपटक भारतबिरोधी राष्ट्रवादको नारा घन्काए । त्यसपछि उनीहरु सत्तामा आएपछि लोभिएको कांग्रेसभित्रको एक पक्षको धर्मको नाममै राजनीति गर्ने दाउपेच राष्ट्रको लागि घातक हुनेछ । धर्मको नाममा राजनीति गर्दा कमल थापाले राप्रपालाई आज जुन अवस्थामा पुर्याए, आज सोही प्रवृत्तिको नेपाली कांग्रेसमा पुनरावृत्ति हुने देखिएको छ । बिपी कोइरालाले देखाउनुभएको प्रजातान्त्रिक समाजवादको बाटो राज्यले कुनै अमुक धर्मलाई आफ्नो मूल धर्म घोषणा गर्नु थिएन । यदि त्यो थियो भने प्रजातान्त्रिक समाजवादको पुनर्ब्याख्या अब हुन जरुरी छ । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसले रोजेको गणतन्त्रको बाटो संबैधानिक राजतन्त्रलाई ब्युउँताउनु थिएन । नेपाली कांग्रेसको बाह्रौं महाधिबेशनले अंगालेको धर्मनिरपेक्षता, संघीयता, समावेशिता र समानुपातिकताको बाटो अग्रगमनको थियो पश्चगमनको थिएन । धर्म निरपेक्षता (secularism) को अर्थ देश गैर–धार्मिक हुनु भन्ने होइन, बरु धर्मलाई राज्य-तटस्थ राख्नु हो । धर्मनिरपेक्षता भनेको धर्म नमान्नु भन्ने होइन, सबै धर्म धर्मावलम्वीहरुहरुलाई समान स्थान हुनपर्छ भन्ने हो । साना ठूला सबै धर्महरुले स्वतन्त्रताका साथ उत्तिकै फल्ने–फूल्ने अवसर पाउनु हो । र त्यो नै नेपालको प्रगति र समृद्धीको एउटा बाटो हो । नेपाल शदियौंदेखि धर्मप्रति सहिष्णु रहीआएको छ, जहाँ सबै धर्म, बिचार र आस्थाहरुको मिश्रण भएका छन् । त्यसबाट राम्रा जति अबलम्बन गरेर खराबजति परित्याग गरिंदैआएको छ र गरिनुपर्दछ । यो नै हाम्रो शक्ति हो र धर्मनिरपेक्षताको मूल मर्म पनि त्यही हो । धर्मनिरपेक्षता लोकतन्त्रको एउटा आधारभूत तत्व हो । एउटै छातामुनि रहेर सबैले आ–आफ्नो तरिकाले जीवन ज्युन पाउनु नै लोकतन्त्रको मूल्य र मान्यता होे । यदी धर्मनिरपेक्षतालाई नै परित्याग गर्ने हो भने नेपालले विश्व समुदायमा आजसम्म प्रस्तुत गरेका उदारता र सहिष्णुताका उदाहरणहरु सबै धुजा हुनेछन् । यदी धर्म निरपेक्षतालाई नकार्ने हो भने त्यसको तत्कालीक असर मुलुकमा अशान्ति र बिग्रह निम्त्याउनु हो भने दीर्घकालीन असर राष्ट्रिय अखण्डताको खतरा हो । संसदीय राजनीतिमा बहुमतले अल्पमतमाथि शासन गरेजस्तो धर्ममा हुँदैन । १२३ वटाभन्दा बढी जनजातिहरु १० वटाभन्दा बढी धर्मावलम्वीहरुको मुलुकमा कुनै अमुक धर्मलाई राष्ट्रको मूल धर्म बनाउने प्रत्यक्ष चेष्टा नेपाली कांग्रेसभित्र आजसम्म भएको थिएन । गलत बाटो हुँदै सत्तामा पुग्नुभन्दा चुनाव जित्न नसक्नुको कारणहरु पहिल्यौं । अबको नेपाली कांग्रेसको बाटो पूर्वप्रभावी (retrospective) होइन, भबिष्यप्रभावी (prospective) बन्न सकोस् । अन्तमा गान्धीले भन्नुभएजस्तै, “यदी हामीले प्रार्थना नै गर्नु छ भने हिन्दूमध्येमा पनि सबैभन्दा उत्तम हिन्दू बन्ने प्रार्थना गरौं, मुस्लिमहरुमध्येमा सबैभन्दा उत्तम मुस्लिम बन्ने प्रार्थना गरौं र क्रिश्चियन नै बन्नु छ भने सबैभन्दा उत्तम खाले क्रिश्चियन बन्ने प्रार्थना गरौं ।” तर सबैभन्दा खराब हिन्दु, मुस्लिम र क्रिश्चियन बन्ने प्रार्थना नगरौं । म यतिबेला देशभित्र र देशबाहिर रहेका तमाम लोकतान्त्रिक र न्यायप्रमी मित्रहरुलाई धर्मको नाममा राजनीति गर्न खोज्ने समुहहरुलाई निस्तेज पार्न आ–आफ्नो तर्फबाट प्रयास गर्न अनुरोध गर्दछु ।

Leave a Comment