
'Padmaavat': Medieval Beauty, Power and Feminine Fire

लामो समयपछि हलमै गएर सिनेमा हेर्ने एउटा निहुँ मिल्यो—आफ्नै जन्मदिनको अवसर पारेर, परिवारसँग।
यस पटक रोजाइमा परेको फिल्म थियो हिन्दी चलचित्र ‘पदमावत’।
केही दिनअघिदेखि लण्डनमा पनि प्रदर्शन भइरहेको यो फिल्म करिब ३४ मिलियन अमेरिकी डलर लागतमा निर्माण गरिएको भनिन्छ, जुन त्यस समयको वलिवुडकै सबैभन्दा महँगो परियोजनामध्ये एक थियो। भव्य सेट, ऐतिहासिक परिवेश, पोशाक, संगीत र दृश्य संयोजनमार्फत दर्शकलाई अर्कै युगमा पुर्याउन माहिर निर्देशक Sanjay Leela Bhansali ले यसअघि देवदास, खामोशी र हम दिल दे चुके सनम जस्ता चर्चित फिल्महरू दिइसकेका छन्। ‘पदमावत’ पनि त्यही शैलीको निरन्तरता हो।
फिल्मको कथा मध्ययुगीन १४औँ शताब्दी वरिपरि घुम्छ। अफगानिस्तानको खिल्जी वंशका महत्वाकांक्षी शासक अलाउद्दीन खिल्जी (रणवीर सिंह) ले मेवाडका राजा रतनसिंह (शाहिद कपूर) की रानी पद्मावती (दीपिका पादुकोण) को सौन्दर्यप्रति आसक्त भएपछि उत्पन्न हुने संघर्ष नै कथाको मूल आधार हो।
फिल्म हेर्दा लाग्छ, सञ्जय लिला भन्सालीले इतिहासलाई केवल कथाका रूपमा होइन, दृश्य–कविताका रूपमा प्रस्तुत गर्न खोजेका छन्। विशाल किल्ला, युद्धका दृश्य, हात्ती-घोडा, पोशाक र दरबारी साजसज्जाले दर्शकलाई साँच्चिकै मध्ययुगीन संसारमा पुर्याउँछ।
तर फिल्म केवल सौन्दर्यको उत्सव मात्र होइन; यसले केही गम्भीर प्रश्नहरू पनि उठाउँछ।
फिल्ममा दुई मुख्य रानी पात्रबाहेक अधिकांश महिलाहरूलाई दासी वा पृष्ठभूमिको पात्रझैँ देखाइएको अनुभूति हुन्छ। अन्त्यतिर मेवाडका महिलाहरूले सामूहिक आत्मदाह (जौहर) गर्ने दृश्यले तत्कालीन समाजको कठोर पितृसत्तात्मक संरचना झल्काउँछ। यही कारणले नारीवादी दृष्टिकोणबाट ‘पदमावत’ माथि गम्भीर बहस हुनसक्छ।
अर्कोतर्फ, मुस्लिम शासकलाई अत्यन्त क्रूर र बर्बर रूपमा चित्रण गरिएकाले धार्मिक संवेदनशीलताको प्रश्न पनि उठ्नु स्वाभाविक छ। यही विवादका कारण फिल्मको प्रदर्शन प्रारम्भमै रोकिएको थियो। पछि केही दृश्य संशोधन गरी तथा ‘पदमावती’ बाट नाम परिवर्तन गरेर ‘पदमावत’ राखिएपछि मात्र फिल्म रिलिज गरिएको थियो।
फिल्म सफल हुन्छ वा हुँदैन भन्ने निर्णय समयले गर्छ। यसको ऐतिहासिक प्रामाणिकता, सांस्कृतिक प्रभाव र राजनीतिक अर्थबारे समीक्षकहरूले अझ धेरै लेख्नेछन्। तर एक सामान्य दर्शकको रूपमा भने एउटा कुरा निर्धक्क भन्न सकिन्छ—रणवीर सिंहले निभाएको अलाउद्दीन खिल्जीको पात्र यस फिल्मको सबैभन्दा शक्तिशाली पक्ष हो। उनको अभिनयले सम्भवतः धेरै “Best Villain” अवार्डहरू जित्नेछ।
जे होस्, छोटो समयमै करोडौँ डलर कमाइसकेको ‘पदमावत’ अहिले पनि चर्चाको केन्द्रमै छ।
फिल्म करिब २ घण्टा ४४ मिनेट लामो छ।
हामीले त हेर्यौँ।
अब तपाईंको पालो।
11 February 2018 | London