Back to all blogsMovie Sugup: The cultural side is strong, the philosophical side is muted

Movie Sugup: The cultural side is strong, the philosophical side is muted

Khusi Limbu
Khusi Limbu
February 13, 2024
15 views

लिम्बू परिवेशमा बनेका ‘नुमाफुङ’, ‘जारी’ जस्ता चलचित्रहरू हेरको भएपनि पुरै लिम्बू भाषामा बनेको चलचित्र हेरेको थिइनँ । ‘सुगुप’ एउटा यस्तो लिम्बु चलचित्र हो जसमा फुङसा (नायिका) र फेदापे (नायक) भन्दा मुनिकाहरुले मात्र फाट्टफुट् खस नेपाली भाषा बोल्छन् । चलचित्रका धेरैजसो पात्रहरु नायक-नायिकाभन्दा माथिका उमेरका छन् । अतः ९० प्रतिशत जस्तो भाषा लिम्बू भाषामै बनेको छ । तर ‘याक्थुङ् पान’ नबुझ्ने नयाँ पिंढीका लागि सबै संवादहरुलाई ‘सबटाइटल’सहित राखिएको छ । भाषाविज्ञ डीबी आम्बुङले लिम्बू भाषालाई खस नेपाली भाषा र अंग्रेजीमा उल्था गरेका छन् ।

चिनियाँ नयाँ बर्षको छुट्टी, मौसम इम्बुङ र निर्माताहरुको समाजिक पूँजी (अर्थात आफ्नो चिनाजानी र सम्पर्कलाई शक्तिमा बदल्ने तागत) ले गर्दा गत फेब्रुवरी १० शनिबारको दिन हङकङको ह्वाम्पो सिनेमा हल दर्शकले भरियो । अपरान्ह ५ बजेको भन्दा साँझ ७ बजेको शो बढी बाक्लो देखियो । 

दुवै शोको लागि चार–चार वटा गरी जम्मा आठवटा हलहरुमा प्रदर्शन गरियो । भित्री हल खचाखच नहुनमा प्रत्येक हल आफैंमा ठूलो भएर पनि होला । त्यस्तै निर्माता टीम र फिल्मका नायक मौसम लिम्बूको राम्रो सञ्जाल र तीन महिनादेखिको टिकट ‘पुशसेल’ले गर्दा धेरैले चाहेर वा ‘नो’ भन्न नसकेर सहयोग स्वरुप धेरैले टिकट लिएका तर कतिपय हेर्न नआएका पनि हुन सक्छन् । दुवै शोका लागि कतिपयले टिकट पाउन हम्मेहम्मे परेको थियो । त्यस अर्थमा सुगुपले पहिलो शोबाटै निकै राम्रो अर्थ बटुल्यो भन्न सकिन्छ ।

चलचित्र ‘सुगुप’ लिम्बू परिवेश र संस्कारसंस्कृतिमा आधारित छ । कथा, विषयवस्तु र नायिका फुङसा (बबिता नयोङहाङ) को बेजोड उपस्थिति सबैले चलचित्र नारीप्रधान हो भन्ने सकिन्छ । लिम्बू मुन्धुम परम्परा अनुसार प्रसवको क्रममा मृत्यु भएकी महिलालाई ‘सुगुप’ भन्ने गरिन्छ । सुगुप सामान्य बाटो नभएर सास्तीले भरिएको बाटो वा स्वर्ग पुग्न गाह्रो बाटो लागेको मृतक महिलाको हङ्स हो । अतः उक्त हङ्स (सातो वा आत्मा) लाई कुनै कष्ट नहोस् भनेर लिम्बू बिजुवाद्धारा मुन्धुम परम्परा अनसार सामान्य बाटोमा लाउने कार्य गरिन्छ ।

चलचित्रको सुरुवात र अन्तिममा सुगुप मन्साएको देखाइए पनि चलचित्र सुगुप अन्य धेरै विषयवस्तुहरू दर्शाइएको छ । चलचित्रमा धनी बाउकी छोरी गरिब परिवारमा भागेर (अविभावकको स्वीकृतिबिना गरिएको प्रेमविवाह) विवाह गर्दाको तनावको अवस्था, त्यसो गर्दा नायिका फुङ्साले पाएको दुःख, गरिबीले गर्दा नायक फेदापे मुग्लान जानुपरेको अवस्था, त्यसले श्रीमान-श्रीमतीमा ल्याएको वियोग, गर्भवती अवस्थामा फुङसाले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, छोरी गरिब परिवारमा जाँदा यता माइतमा बाउले खप्नुपरेको समाजको नकरात्मक भनाइहरु सबै प्रस्तुत छन् । यी सबैले सुगुप हेर्न लायकको चलचित्र बनेको छ ।

चलचित्रको गीतको लागि गीतकार जानु काम्बाङको शब्द त मीठो छ तर अशोक लोहोरुङको संगीतमा मिठास भएपनि गीतलाई पूर्वेली जनजीवनको भाका (मेलोडी) मा ढाल्न नसक्दा नेपाली आधुनिक गीत हो कि लिम्बू गीत हो दर्शकहरुलाई छुट्याउन अलिक गाह्रो हुन्छ । त्यस्तै, गीत स्थापित गायक-गायिकाको सुमधुर स्वरले भरिएको भएपनि लिम्बु लवजले गीत उच्चारण गर्न नसक्दा गीत लिम्बुलिम्बुनीले गाएका हुन् कि बाहुनबाहुनीहरुले गाएका हुन् ? छुट्याउन श्रोताहरुलाई गाह्रो हुन्छ । आजकल यो समस्या सुगुपमा मात्रै नभएर अन्य लिम्बू चलचित्रहरुमा पनि विद्यमान पाइन्छन् ।

सुगुपका आ-आफ्नो भूमिकामा सबै जमेका भएपनि नयिकापछि सबैभन्दा जीवन्त अभिनय र संवाद वाचन गर्नेमा फुङ्साकी आमा (माइतमा) छिन् । उनको नाम मलाई जानकारी भएन तर उनी बोल्दा र अभिनय गर्दा अभिनय गरेको जस्तो नभएर साँच्चै जस्तो प्रस्तुत हुन्छिन् । अभिनयको सफलता र मर्म पनि त्यही नै हो । अन्य सजीव र वास्तविक अभिनय गर्ने पात्रहरुमा बाँसघरे काका (रबिन नाल्बो) पनि छन् । आफ्नो भूमिका छोटो भएपनि उनले अपत्यारिलो तरिकाले (किनभने उनी अभिनयमा नयाँ हुन्)राम्ररी निभाएका छन् । फेदाङमाको भूमिकामा याशेली योङहाङ लाखमा एक छन् । उनी लिम्बु संस्कारसंस्कतिमा अनन्त मूल्यका सम्पत्ति हुन् भन्ने फेरि प्रमाणित गरेका छन् ।

फिल्ममा नायक भएपनि मौसम इम्बुङको भूमिका नायिकाको भन्दा छोटो छ । उनले मुग्लानमा बिताएका पलहरुलाई पर्दामा राम्ररी देखाइएको छ । संवादहरू बोल्दा मौसमलाई दर्शकहरु त्यही ‘फुःलेन्देको बाउ’ बोलेको मन पराउँछन्, कुनै भूवन केसी बोलेको जस्तो होइन । किनभने फुङसालाई माइतमा पुर्‍याएर फर्किने बेलामा लोग्नेस्वास्नी छुट्टिदै गर्दाको संवादमा मौसमलाई मौसम भन्दा पनि कताकता अभिनय गर्न नजान्ने भुवन केसी बोलेको जस्तो देखिन्छ । आजको जमाना भुवन केसी र विश्व बस्नेतको होइन । आजको जमाना महजोडी, दयाहाङ राई र मौसम इम्बुङको हो । अर्थात उनीहरुको अभिनय हेर्दा अभिनय नभएर वास्तविक जस्तो लाग्छ । त्यस अर्थमा मौसम इम्बुङको ‘बेस्ट शट’ लिनमा निर्देशक लोकेन साँवा चुकेका जस्ता देखिन्छन् । तर, यो सामान्य कमजोरी मात्र हो, कुनै निर्णायक होइन ।

चलचित्रमा सबैभन्दा फितलो पात्रमा लिजेण्डरी अभिनेता प्रेम सुब्बा देखिएका छन् । उनी बोल्दा यस्तो लाग्छ उनले वास्तवमा लिम्बु भाषा कहिल्यै बोलेका छैनन् । त्यस्तै उनको संवाद र उनको हाउभाउ (बडी ल्याङवेज र फेसियल एक्प्रेशन) बीच तालमेल राम्रो देखिन्न । आगामी चलचित्रहरुमा उनले सधैं खेल्ने गरेका खस नेपाली भाषाका संवादहरुमा नै जम्छन् । मैले चिनेका अन्य पात्रहरुमा शैलेन्द्र नाल्बो, लिला सेलिङ माबो, इन्द्र पन्धाक र युवराज इश्बोहरूले पनि आफ्नो भूमिकाप्रति न्याय गरेका छन् ।

चलचित्रमा केही हाँसोउठ्दो तर चाखलाग्दो दृष्यहरु पनि छन् । जस्तो कि, कथाको परिवेश तेह्रथुम फेदाप हो । तर फेदापमा शुटिङ नभएर पाँचथरको याङवरकमा शुटिङ गरिरहँदा पारीपट्टिको दृष्य त कावेली खोला, ताप्लेजुङको सिरिजंघा गाउँपालिका (सिनाम, थुम्मेदिन, तेल्लोक आदि) र सिदिङबा गाउँपालिका (साप्लाखु,, मेहेले आदि) पो देखाइन्छ । त्यस्तै, फेदापेका घरबाट पनि त्यही पारीको सिरिजङघा र सिदिङबाको दृष्य देखाइन्छ भने उसको ससुराली (फुङसाको माइतगाउँ) बाट पारीको दुष्य देखाउँदा पनि उही दुष्य देखाइंदा कतै फेदापेको घर र फुङसाको माइतघर एउटै त होइन? जस्तो लाग्छ । अर्को चाखलाग्दो कुरो, फेदापेलाई मुग्लान (भारत) उपचार गर्ने डाक्टर नेपाली नै छन्, तर हिन्दी मात्रै बोल्दा हलभित्र दर्शकदीर्घामा हाँसोको खैलाबैला हुन्छ । नेपाली डाक्टरलाई नेपालीमै संवाद भन्न दिए राम्रो हुन्थ्यो नत्र भारतीय वर्णकोलाई डाक्टर बनाउन पर्दथ्यो ।

सुगुपको एउटा कमजोरी पक्ष भनेको यसमा कला र संस्कृति उपस्थित छ तर दर्शनको अभाव छ । चलचित्रले देखाउन खोजेको दृष्यहरु छन् तर भन्न (दिन) खोजेको सन्देश के हो थाहा हुन्न । के सुगुप संस्कार उचित हो ? हो भने कसरी? कि अनुचित हो? अनुचित भने कसरी अनुचित? समाजमा सुत्केरी हुँदा मर्नु स्वाभाविक हो तर मरेपछि मृतक महिलाको शरीर (कानमा किला ठोक्ने परम्परा) र उनको आत्माप्रति गरिने असम्मान के ठिक हो ? हो भने मुन्धुम त पुनर्लेखन गर्न त सकिन्न तर पुनर्व्याख्या वा पुनर्विचार गर्ने कि नगर्ने ? यदि सुगुम संस्कार ठिक हो भने कुन कोणले कुन हदसम्म ठिक? संस्कार र परम्पराहरू मानव निर्मित हुनु भने यिनमा सुधार गर्न सकिन्छ कि सकिन्न? यी यावत दार्शनिक पक्षहरू सुगुपमा मौन छ ।

सुगुप नाफाको लागि बनाइएको ‘कमर्शियल फिल्म’ भन्दा पनि साँस्कृतिक फिल्म हो । अतः निर्माताहरुले आफ्नो लगानी नउठाए आगामी दिनहरुमा यिनै निर्माताहरु फेरि यस्ता सांस्कृतिक चलचित्रहरू बनाउने कुरा गर्दा तर्सिनेछन् । कला र संस्कृति सधैं ओझेलमा पर्नेछन् । बरु ‘लाली जोवन कालो केश भयो सताउने’ जस्ता फिल्महरू बनाउन लाग्नेछन् । अतः कतिपय कमजोरीहरुका बाबजुद पनि चलचित्र सुगुप हेर्न लायक छ । यदि कसैलाई हेर्न लायक नलागे पनि हेर्नै पर्ने बाध्यता पनि सकारात्मक नै छ । सुगुप जस्ता अन्य चलचित्रहरू तर अझै विकसित रुपमा आगामी दिनहरुमा पनि हेर्न पाऊँ । सुगुप चलचित्रका समस्त टीमलाई बधाई र शुभकामना छ ।
खुशी लिम्बुको फेसबुकबाट साभार

नेपाल मामिलामा पनि प्रकाशित लेखः 

Back to all blogs