
सयपत्रीको सुवास जस्तै 'झुपडी': आदिवासी जनजातिको सामाजिक र सांस्कृतिक यथार्थ

2.5.2026. तमू समाज हङकङले प्रदर्शन गरेको फिल्म 'झुपडी' हेर्न हिजो निम्ता थियो। आदिवासी जनजाति महासंघ हङकङको प्रोफेसर महेन्द्र लावतीसंगको अन्तरकृयापछि तल याउ मा तेई हलमा एकै छिन अनुहार देखाएर अर्को कार्यक्रममा पनि जानु थियो। तर #झुपडी सोचेको भन्दा राम्रो लागेपछि फिल्म पुरै हेरियो। फिल्म गुरुङ भाषामा होइन रहेछ तर पुरै गुरुङ परिवेश र मध्य नेपालको सामाजिक, साँस्कृतिक र भौगोलिक पृष्ठभूमिमा निर्मित रहेछ।

युवन गुरुङद्वारा लिखित कथालाई निर्देशक कृष्ण कुमार गुरुङ आफैंले पथकथा दिएका छन्। फिल्मको एउटा बलियो पक्ष भनेको संगीत हो। कर्णदासले आफ्नै संगीतमा सदा झैं कर्णप्रिय गीतहरु गाएका छन्। तर वियोगान्तक अन्तिम गीत 'औंशीको रात' भने अलि लामो भइदिंदा गीत निकै पट्यारलाग्दो बनिदिन्छ। कर्णदासलाई तारा श्रीष र प्रितम गुरुङले गायनमा साथ दिएका छन्। नायक विस्वात्मा गुरुङ निकै हैण्डसम मात्रै होइन नृत्य र अभिनय दुवैमा उत्कृष्ट रहेछन्। सहनायक, दले दाई र दर्जी तीन जनाको अभिनय त अभिनय जस्तै लाग्दैन। दयाहाङले जस्तै ओर्ग्यानिक डायलग बोल्छन्। नायिका अनुता गुरुङ अभिनयमा निकै अनुभवी देखिन्छिन्। तर सहनायिका अमृता गुरुङको सौन्दर्य र अभिनयलाई भने अझ निखारता दिन सकिन्थ्यो। अरु सबैको अभिनय औसत छ।

धौलागिरीको काख (पर्वत र छिमेकी जिल्लाहरु) मा शूटिङ गरिएको झुपडी दृष्य र परिदृष्यहरु फिल्मको अर्को 'स्ट्रेण्थ' हो। गाउँले जीवन र पश्चिमी परिवेशमा देखाइँदा पुरै गाउँघरको सम्झना गराइदिन्छ। नेपालमै हुर्केर अहिले विदेशमा रहेका उत्तरयुवावस्थाकाहरुलाई नोस्टालजिया हुन्छ। दौरा बालेर भात पकाउने, पलेटी कसेर बस्ने, हातैले खाना खाने, देवर–भाउजू छेडछाड गर्ने, साली-भेना जिस्किने, सोल्टी-सोल्टिनी मायाप्रिति लाउने जस्ता आदिवासी जनजाति पाराहरुले न्यायपूर्ण तरिकाले मनोरञ्जन दिएका छन्। फिल्मको कथा समष्टिमा निम्न आयका परिवारले भोग्ने आर्थिक दुरावस्था र त्यसले युवाहरुको सपनामा पार्ने प्रभाव, आधुनिक जीवनशैली र अर्थतन्त्रका कारण हुने बसाईंसराइबाट गाउँ रित्तिंदैगएको अवस्था, प्रेम जीवन र गाउँको जीवन अझैपनि कति पनि व्यक्तिकेन्द्रित नभएर समुदायकेन्द्रित छ भन्ने देखाइएको छ।

समष्टिमा फिल्म झुपडी गुरुङ फिल्म मात्रै होइन, गुरुङ परिवेशमा निर्मित विल्कुलै एउटा ओर्ग्यानिक नेपाली फिल्म हो। जारी र कबडी जस्तै । झुपडीले दर्शकहरुलाई तीन घण्टा मजाले बाँधेर हलभित्रै राख्छ। फिल्म निर्माण गर्दा बजेटलाई निकै ध्यान दिएको देखिन्छ। स्टण्टहरु केही पनि छैनन्। गुरुङ वन्धुहरुले निकै कम खर्चमा निर्माण गरेबाट पनि भन्न सकिन्छ झुपडीले निकै पैसा जम्मा गर्नेछ।