Back to all blogsनेपाली  कार्यक्रमहरुमा कतिपय अतिथिहरूको नाम वाचन नहुने १० वटा कारणहरू

नेपाली कार्यक्रमहरुमा कतिपय अतिथिहरूको नाम वाचन नहुने १० वटा कारणहरू

Khusi Limbu
Khusi Limbu
April 30, 2025
10 views

“….. Do not let anyone else determine your worth. हामी यति कमजोर पनि नबनौं कि आफ्नो इज्जत रहनलाई अरूले नाम पुकारिदिओस्; आफ्नो सम्मान र महत्व निर्धारण गर्ने जिम्मा त्यसरी अरुको हातमा नछोडौं....।”
———

“बर्मा गयो कर्मसंगै, नेपाल आयो कपालसंगै” – नेपालीहरु जहाँ रहेपनि उनीहरुको कार्यक्रमहरुमा अनावश्यक समय लिने सेसन भनेको आसन ग्रहण हो। अरु जातिहरुको कार्यक्रम यस्तो हुँदैन। चुस्त र छोटा हुन्छन्, प्रायः कार्यक्रममा प्रमुख अतिथिलाई मात्रै डाइसमा बोलाइन्छ। अरु विशिष्ट अतिथिहरु फ्लोरमै हुन्छन्। 
नेपाली कार्यक्रमहरुमा भने एउटालाई डाइसमा बोलाएपछि अर्कोलाई बोलाउनै पर्ने हुन्छ, नत्र रिसाउने, मुहार अन्ध्यारो हुने, कार्यक्रमबाट भाग्ने, पछि भेटदा नबोल्ने र दुस्मनीसम्म पनि हुने गरेको पाइन्छ। यो वास्तवमा कार्यक्रम आयोजक र अतिथि दुवैको कमजोरीले गर्दा हुन्छन्ः
1. आयोजकले अतिथिलाई चिन्नु तर सञ्चालकले उसलाई नचिन्नु; नचिनेपछि दिएको लिस्ट सरर मेसिनले जस्तो पढ्नु; सरर पढेपछि कार्यक्रम सञ्चालक र अतिथिबीच आइकण्ट्याक्ट नहुनु; आइकण्ट्याक्ट नै नभएपछि अतिथिलाई आफू ‘इग्नोर्ड’ भएको महसुस हुनु; त्यसपछि कसैले थाहा नहुनेगरी सुटुक्क भाग्नु वा देखादेखी कार्यक्रमबाट निस्कनु।
2. अतिथिहरुको लिस्ट सञ्चालकले पुरा ध्यान नदिनु वा एक पटक वाचन गरेपछि पुनः वाचन नगर्नु।
3. कार्यक्रम ढिला शुरु हुनाले सञ्चालक समयको चापमा पर्नु; कार्यक्रम शुरु भएसि मात्रै अतिथिहरु आइपुग्नु; सबैको नाम लिंदालिंदै आधा समय खर्चिनु।
4. सनकी आयोजक वा प्रतिशोधी सञ्चालकहरुमा बदलाको भाव (उसले यस्तो गरेको थियो, म पनि उसलाई मञ्चमा नबोलाएर वा नाम नलिएर देखाइदिन्छु) आदि पर्सनल कारण।
5. कार्यक्रममा उपस्थित हुने वा नहुने बारे अतिथिले आयोजकलाई समयमा जानकारी नदिनु, वा दिएपनि ढिला आइपुग्नु।
6. सबैलाई डाइसमा बोलाउँदा फ्लोर नै खाली हुने भएबाट पछि उपस्थित हुनेलाई यथास्थानमा आसन ग्रहण गराउनु।
7. अतिथिको व्यक्तित्व र पहिचानको विधा र कार्यक्रमको विधा र क्षेत्र फरक हुनु। जस्तो कि च्यारिटी प्रोग्राममा साहित्यकारहरुलाई डाइसमा नराख्नु, राजनीतिक कार्यक्रममा ब्यवासायीहरुलाई।
8. नेपाली समाजमा कुन व्यक्ति, पद, विधा वा कार्य क्षेत्रलाई कहाँ राख्ने भनेर निश्चित मर्यादाक्रम तय नहुनु। सबैले आ-आफ्नै स्ट्याण्डर्ड अनुसार चल्नु। उदाहरणको लागि एनआरएनएनए हङकङको अध्यक्ष र नेपाली महासंघको अध्यक्ष मर्यादाक्रममा को माथि भन्दा आफ्नो धारण राख्नेहरु मैले फिफ्टी-फिफ्टी पाएको छु। रीताजी र गोकर्णजी दुवै मेरा मिल्ने साथीहरु हुन्। तर नेपाली महासंघ चाहिं हङकङको जनजीवनमा बढी भिज्ने गरेको (कम्तिमा पनि सिद्दान्तमा) भएपनि एनआरएनएको ‘वाइडर इन्टरन्यासनल आउटरीच’ को कारण र म आफैं एनआरएनएमा बढी समाहित भएको कारण एनआरएनएलाई कतिपय सन्दर्भहरुमा बढी महत्व दिएको हुन सक्छु। यही कारण कसलाई मर्यादाक्रममा कहाँ राख्ने भन्ने समान धारणा र अभ्यास (universally accepted standard) छैन। डम्फूको ताल एउटै हुन पर्ने हो तर सबैले आफ्नै तरिकाले बजाइदिंदा यस्ता बिडम्बनाहरु देखिएका हुन्।
9. व्यक्तिपिच्छेको आ-आफ्नो पर्सनालिटी फरक हुनु। जस्तो कि सोही कार्यक्रममा नाम वाचन नहुँदा वा आसन ग्रहण नगराईँदा कसैले हुलमुलमा, हतारमा, अनुभवको कमी आदिले गल्ति भयो होला भनेर क्षमादानको भाव राख्ने, कोहीमा भने त्यस्तो सहनशीलता नहुने। 
10. अतिथिलाई आफ्नो पहिचान र महत्वको स्तर थाहा नहुनु।
11. अतिथिलाई आफ्नो महत्व र पहिचान किनेर होइन आर्जन गरेर मात्रै पाइन्छ (honour is not something bought but earned over time) भन्ने ज्ञान नहुनु।
12. सबै कार्यक्रमको ढाँचा (format) एउटै हुन्छ वा हुनपर्छ भन्ने बुझ्नु। 
माथि उल्लिखित जुनसुकै कारणले भएपनि हामी कसैलाई डाइसमा मा फ्लोरमा नबोलाइँदा वा आफ्नो नाम वाचन नहुँदा आफू अपमानित भएको ‘फील’ हुन्छ भने हामी सम्मानको त्यस्तो ठूलो हकदार नहुन पनि सक्छौं। पहिलो, यदि म त्यति ठूलै हकदार हो भने मलाई अवश्य खोजीखोजी, पर्खीपर्खी भएपनि कार्यक्रम गरिन्छ। दोस्रो, कसैले मेरो नाम वाचन गर्दा म सम्मानित हुने र नगर्दा अपमानित हुन्छु भने कि त मेरो पहिचान र सम्मानको धरातल ज्यादै नै कमजोर छ, नत्र भने मेरो अस्तित्व र मन त्यति सानो कि म सम्मानित हुन कसैले मेरो नाम पुकारिदिओस्।
यदि कसैले डाइसमा बोलाएन भने बरु यस्तो किन नसम्झिने कि मलाई डाइसमा नराखेर मेरो अपमान भएको होइन बरु कार्यक्रम चाहिं अपमानित भयो, वा कम्तिमा पनि शोभायमान भएन। यदि हामी आफ्नो महत्वको गर्व छ भने त्यसरी नै सम्झौं। आफ्नो महत्व र सम्मानको निर्धारण गर्ने जिम्मा अरुलाई नदिऊँ, हामी आफैंमा आफ्नो पहिचान छ, कसैले कार्यक्रममा डाइसमा राख्दैमा ठूलो हुने र नराख्दैमा सानो हुने हो भने वास्तवमा हामी नै सानो हुन पनि सक्छौं।
आज भने मैले गत आइतबार मङकी हिलमा आयोजित पान्थर मञ्च हङकङको भेटघाट कार्यक्रमको तस्विर राखें। म मञ्चमा हुनै पर्छ भन्ने थिएन। केवल पाँचथरे हुनु बाहेक मैले मञ्चको लागि केही पनि गर्न सकेको छैन। उता फ्लोरबाट भने मञ्चका एक पूर्व अध्यक्ष फोटो लिंदै थिए, अर्का भिडियो। उनीहरु डाइसमा नहुँदा म उनीहरु सम्मानित भएको महसुस गरिर र उनीहरुले पनि आफू अपमानित भएको महसुस गरेनन् क्यारे।


२८।४।२०२५ सेवारो।

Back to all blogs