
ताप्लेजुङदेखि हङकङसम्मको पदचाप: ‘आञ्छनका कथाहरू’ भित्रको यथार्थ

‘आञ्छनका कथाहरू’ मैले पनि पढें। कथा संग्रह मोटो छैन—दुई कप क्यापुचिनो सकिँदासम्म आञ्छनका दसवटा कथाहरू सजिलै पढिसकिन्छन्। आजकालका पाठकहरूमा लामो पढ्ने धैर्य कम हुँदै गएको लेखकहरूले राम्ररी बुझेका छन्, त्यसैले आञ्छनका कथाहरू पनि मधुपर्क र गरीमाजस्ता पत्रिकाहरूमा छापिने लघुकथा आकारका जस्तै लाग्छन्। उत्तरआधुनिक साहित्य पूर्णता होइन, अंशतर्फ मोडिएको वर्तमानमा ‘आञ्छनका कथाहरू’ को घटना, पात्र, र प्रवृत्ति सरल छन्, जटिल छैनन्। कथाहरूमा व्यक्त गरिएका भावना र दिन खोजिएको सन्देश स्पष्ट र सुसम्बद्ध छन्। ताप्लेजुङ, काठमाडौं र डायस्पोरिक हङकङे परिवेशभित्र लेखिएका यी कथाहरूले पाठकलाई सजिलो तर प्रभावकारी तरिकाले छुन्छन्।
कथा संग्रहको पहिलो कथा ‘आमा अलप भइन्’ ले सुन्दर, धनी, र गगनचुम्बी भवनहरूले भरिएको हङकङ शहरको एक कुरुप यथार्थ एक ८० वर्षीया चिनियाँ बुढी आमाले जीविकाका लागि गर्नुपरेको शारीरिक श्रममार्फत प्रस्तुत गर्छ। पूँजीवादले कसरी धनीलाई अझ धनी बनाउने क्रममा गरिबहरूलाई ‘धनी हुने सपना’ देखाएर अन्ततः उनीहरूको जीवन बर्बाद गर्छ भन्ने कुरालाई यो कथाले मार्मिक रूपमा उजागर गर्छ। जुवाको लत र क्यासिनो, जोक्की क्लबहरूले कसरी एक परिवारलाई विघटनको अवस्थामा पुर्याउँछन् भन्ने यो एक उदाहरण हो।
‘नेताजी र माइली’ कथामा नेपाली राजनीतिमा शहीदहरूको नाममा राजनीति गर्ने, तर उनीहरूका परिवारलाई बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गरिएको छ। ‘जनमुक्ति योद्दाको विलौना’ पनि झण्डै त्यस्तै कथा हो।
‘तिमीलाई माया मार्न सकिन’ ले परिस्थितिले टुटेको प्रेम कसरी समयले फेरि जोडिन सक्छ भन्ने देखाउँछ—६० वर्षको उमेरमा फेसबूकमार्फत पुनर्मिलन भएका प्रेमी-प्रेमिकाको यो कथाले साँचो मायाँ कहिल्यै मर्दैन भन्ने सन्देश दिन्छ।
‘फक्रिन नपाई झरेको कोपिला’ हङकङमा बसोबास गर्ने नेपाली डायस्पोराको पारिवारिक समस्यालाई उजागर गर्छ। कथामा श्रीमानले नेपालबाट श्रीमती र छोरालाई डिपेन्डेन्ट भिसामा बोलाएपछि यहाँको प्रेमिकासँगको सम्बन्धका कारण दुई श्रीमतीको बिजोक र छोरो लागू पदार्थको लतमा फसेर गुमाउनु परेको पीडा मार्मिक रूपमा चित्रण गरिएको छ।
‘खलनायक मामा र भाञ्जा’ कथामा गाउँबाट पढ्न सहर आएका भाञ्जालाई शहरी श्रीमतीको दबाबमा आएर अविभावकको भूमिका निभाउन नसक्ने जोइटिङ्ग्रे मामाले जीवनको उत्तरार्धमा भोग्नुपरेको प्रायश्चित्त मार्मिक रूपमा देखाइएको छ।
‘भङगेरीको पीडा’ मा आन्छनले चरामार्फत प्रेम, वात्सल्य, र मानवीय क्रुरताको चित्रण गर्दै मानवकेन्द्रित संसारप्रति आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन्। कथाले अप्रत्यक्ष रूपमा ‘एनिमल जस्टिस’—जनावरप्रति न्यायको आवश्यकता—उत्कृष्ट ढंगले उठान गर्छ।
‘क्याप्टेनका तक्मा’ मा एक पूर्वफौजीले आफ्नो बहादुरी र जीवनभरको सेनानी पहिचानको प्रतीक मेडल साहुलाई जीविकाको निम्ति सस्तो मूल्यमा बेच्नुपरेको यथार्थलाई प्रस्तुत गरिएको छ। यो कथा लाहुरेको जीवनमा अवकासपछि पर्न सक्ने कटु यथार्थको प्रतिनिधित्व हो।
‘गणतन्त्रमा बलीको बोका’ मा नेपाली कर्मचारीतन्त्रमा राजनीतिक दलहरूद्वारा नियुक्त गरिएका कर्मचारीहरू कसरी आफ्नो कर्तव्य नगरी उल्टै हाकिमलाई समेत धम्क्याएर बस्ने प्रवृत्तिले कसरी राज्य प्रणालीमै अराजकता ल्याउँछ भन्ने कुरालाई नग्न रूपमा चित्रित गरिएको छ।
अन्तिम कथा ‘एकै रातमा नयाँ जिन्दगी’ ले मानिस जस्तोसुकै आपद वा असफलताको सामना गर्दा पनि हिम्मत नहार्नुपर्ने सन्देश दिन्छ। कथा भन्छ—हामीभन्दा अझ बढी दुःख भोगिरहेका मानिसहरू संसारमा धेरै छन्, त्यसैले जीवनमा जस्तोसुकै कठिनाइ आइपरे पनि आत्मबल र आशा नछोडी अघि बढिरहनुपर्छ।
समस्टिमा, ‘आन्छनका कथाहरू’ सरल संरचनाभित्र गहिरो सामाजिक सन्देश बोकेको एउटा कथा संग्रह हो। कथा संग्रहका विषयवस्तुहरू—गरिबी, पूँजीवाद, राजनीतिक विसङ्गति, पारिवारिक विखण्डन, पशुप्रेम, लाहुरेहरूको पीडा, र मानसिक सुदृढताको आवश्यकतालाई—सजिलो तर प्रभावशाली ढंगले प्रस्तुत गरिएका छन्। ताप्लेजुङदेखि काठमाडौं र हङकङसम्म फैलिएको भौगोलिक परिवेशमा लेखिएका यी कथाहरूले नेपाली समाजको बहुस्तरीय यथार्थलाई उजागर गर्छन्। आन्छनले उत्तरआधुनिक साहित्यमा प्रचलित 'सजिलो पढाइ, गहिरो सन्देश'को शैली अपनाएका छन्, जसले आजका व्यस्त पाठकहरूलाई पनि गहिरो अनुभूति दिन सक्छ।
यस संग्रहले विशेष गरी डायस्पोरिक नेपाली पाठकहरूका लागि आफ्ना अनुभवहरूसँग सम्बन्ध गाँस्ने अवसर दिन्छ, र नेपालमा बसोबास गर्ने पाठकका लागि प्रवासी जीवनका यथार्थलाई बुझ्ने झ्याल खोलिदिन्छ। कथा छोटा छन्, तर विचार गहिरा—यही नै यस पुस्तकको सबल पक्ष हो।