Back to all blogsजब ढुङ्गालाई आलु मान्न सिकाइन्छ

जब ढुङ्गालाई आलु मान्न सिकाइन्छ

Khusi Limbu
Khusi Limbu
April 21, 2026
77 views

नेपालीमै पनि भन्दा, लेख्दा, सुन्दा र पढ्दा अप्ठ्यारो लाग्ने एउटा शब्द छ – सैदान्तिकिकरण। अंग्रेजीमा त अझ कठीन सुनिने ‘indoctrination’ शब्दलाई नेपालीमा बुझाउने ठ्याक्कै शब्द छैनन्। तर सामान्य भाषामा ‘कसैलाई लठ्ठ/नशामा पार्नु’, ‘मोहनी मन्तर लगाउनु’, ‘जादु टुना लाउनु’, ‘एकोहोरो बनाउनु’, ‘ब्रेन वाश गर्नु’ भन्दा उक्त शब्दको अर्थ बुझ्नलाई सजिलो हुन्छ। 

तर ‘सैद्धान्तिकरण' सुन्दा जटिल लागे पनि यसको विम्व सरल छ — कसैको दिमागमा यसरी हावा भरिदिनु कि उसले ढुङ्गालाई आलु र आलुलाई ढुङ्गा देख्न थालोस्। जीवन र जगतप्रति प्रश्न गर्न छोडेर ‘अन्धो’ हुनु, आफ्नो विवेक मारेर अर्काको चस्माबाट संसार हेर्नु र सोहीबमोजिम ब्याख्या गर्नु नै सैद्धान्तिकरणको नशा हो। गीता, बाइबल, त्रिपिटक, मार्क्सवाद, उदारवाद, पुराण, महाभारत, इतिहास, गीत-संगीत, उखान-तुक्का, भाष्यहरू, गान्धी, नेहरु, बीपी, जबज, राजा, राष्ट्रवाद आदि सबै सैद्धान्तिकरणका माध्यम उदाहरणहरू हुन्। मीनिस सैद्धान्तिकरण भइसकेपछि उसलाई जे बुझाइएको छ, त्यसैलाई एउटै सत्य मानेर सिद्दान्त र विस्वासको झोला बोकेर हिंड्छ।

मान्छेको दिमागको सबैभन्दा उर्वर बर्षहरू, बिशेषगरी ५-११ (जसलाई formative years भनिन्छ) तर १२-२१ बर्षसम्मकाहरुलाई सैद्धान्तिकरण गर्नु सबैभन्दा उत्पादक मानिन्छ। उदाहरणका लागि, ब्रिटेन जहाँ ४९ बर्षसम्मकालाई सेनामा लिइन्छ तर गोर्खा भर्ति हुन २२ भन्दा माथिको हुन हुन्न। किन भने शारीरिक रुपमा अझ बलिया, अनुभवी र सीपालू भएपनि २२ भन्दामाथिकाहरु प्रणाली र अथोरिटीमाथि प्रश्न गर्ने बनिसकेका हन्छन् र उनीहरु ढुङ्गालाई आलु भन्न कमै तयार हुन्छन्।

समस्टीमा विद्यालय, मदरसा, मन्दिर, मस्जीद, चर्च, सैनिक तालिम केन्द्र, र राजनीति पार्टीका भातृ संगठनहरू सैदान्तिकिकरणकी लागि उर्वर थलोहरू हुन्।

विद्यार्थी युनियन र सैदान्तिकिकरण

पञ्चायतकालमा जब दलहरूमाथि प्रतिबन्ध थियो, त्यतिबेला विद्यार्थी युनियनहरू नै पार्टीका 'अदृश्य हात' थिए। साक्षर र सचेत वर्ग विद्यार्थी मात्र भएकाले उनीहरूमार्फत चेतना फैलाउनु तत्कालीन समयको आवश्यकता थियो। तर २०४७ सालको परिवर्तनपछि यो परिपाटी बदलिनुपर्थ्यो। विडम्बना! ट्रेड युनियनहरूबाट जुझारु नेता जन्मनुपर्ने ठाउँमा विश्वविद्यालयमा वर्षौँसम्म भर्ना भएर बस्ने 'व्यावसायिक विद्यार्थी नेता' उत्पादन गर्ने कारखाना बन्यो। पार्टीको नीति गलत होस् वा नेतृत्व भ्रष्ट, त्यसलाई अन्धभक्त भएर स्वीकार गर्ने दास मनोवृत्ति यहीँबाट सुरु भयो। आजको 'जेन्जी' (Gen Z) युवाहरूमा देखिएको आक्रोश त्यही वर्षौँदेखिको जडता विरुद्धको विद्रोह हो।

युगान्तकारी कदम र अबको बाटो

सरकारले विद्यार्थी युनियनहरूलाई विद्यालय र क्याम्पसबाट हटाउने वा खारेज गर्ने जुन आँट देखाएको छ, यो स्वागतयोग्य र युगान्तकारी छ। विद्यालयलाई राजनीतिमुक्त बनाउन यो अपरिहार्य छ। यसमा काँग्रेस, एमाले लगायत सबै दलले आफ्नो सानो राजनीतिक स्वार्थ त्यागेर समर्थन गर्नुपर्छ।
यदि संगठन राख्नै परे के गर्ने?

१. विद्यालयबाहिरको संरचना: नेविसंघ वा अखिल जस्ता संगठनलाई विश्वविद्यालयके आंगिक क्याम्पसको हाताभित्र होइन, केन्द्रीय क्याम्पस र वडा वा जिल्ला स्तरको राजनीतिक एकाइको रूपमा मात्र सीमित राखिनुपर्छ।

२. शिक्षण संस्थामा 'विद्यार्थी परिषद्': क्याम्पसभित्र विशुद्ध विद्यार्थीका समस्या (भर्ना, लाइब्रेरी, सुविधा) मा मात्र बोल्ने, दलीय ओत नलागेको 'स्ववियु' वा परिषद् हुनुपर्छ। विकसित देशहरुमा जस्तै।

३. श्रम र उद्यममा केन्द्रित युवा: युवाहरूलाई पढ्ने उमेरमा पार्टीको झोला बोकाउनुको साटो उद्यमशील बन्न वा आफ्नो पेशागत हकहितका लागि ट्रेड युनियनमा संगठित हुन प्रेरित गर्नुपर्छ।

जबसम्म हामी 'विद्यार्थी' लाई 'कार्यकर्ता' बनाउने मोह त्याग गर्दैनौँ, तबसम्म हाम्रा शैक्षिक संस्थाहरूले ढुङ्गालाई आलु देख्ने अन्धभक्तहरू मात्र उत्पादन गरिरहनेछन्।

#सैद्धान्तिकरण #विद्यार्थी_राजनीति #शिक्षा_सुधार #झोला_बिसाऊ #NepalPolitics #KhusiLimbu #EducationReform #NepalPolitics #KhusiLimbu

Back to all blogs