
हक्स्लीको ‘साहसी नयाँ संसार’ र आजको आनन्दको अर्थराजनीति

September 2025
हामी सधैं बिहानै उठ्छौं । सबैभन्दा पहिले हाम्रो काम नै फोन समात्ने हुन्छ । दाँत ब्रश गरौं भन्दाभन्दै दुई घण्टा त स्क्रीन हेरेरै बितिसकेको हुन्छ । फेरि एक घण्टापछि थाहा हुन्छ कि चिया पिउन त भुसुक्कै ।
यो हाम्रो आजको जमानाको कथा हो । करिब १२–१५ बर्षजति भो, यो प्रवृत्ति हामी प्रायः सबैको दैनिकी बनिसकेको छ ।
९३ बर्षअघि लेखिएको एउटा दुःस्वप्नात्मक उपन्यास ‘Brave New World’ (साहसिक नयाँ संसार) पढेपछि थाहा हुन्छ, यो हाम्रो प्रवृत्तिप्रति कुनै आश्चर्य मान्नु पर्दैन, किनभने यो कुनै दुर्घटना होइन । बरु निकै नै सोचेर र दूरदृष्टिसहित बनाइएको योजना थियो । इन्टरनेट आउनुभन्दा ६० बर्षअघि र फेसबूक–इन्स्टग्राम–टिकटक आउनुभन्दा ८०–९० बर्षअघि नै, सन् १९३२ मा प्रकाशित आफ्नो उपन्यास ‘दि ब्रेभ वल्र्ड’ मा उपन्यासकार अल्डस हक्स्ले (Aldous Huxley) ले यो भविष्यवाणी गरेका थिए । उनले देखिसकेका थिए कि भविष्यमा मानिसहरूलाई बल प्रयोग गरेर होइन, तर आनन्दद्वारा नियन्त्रण गरिनेछ, आफैं नियन्त्रित हुनेछन्, अझ बरु नियन्त्रित भइपाउनका लागि भिख माग्नेछन् । हामी आज ठिक उनले वर्णन गरेको संसारमा बसिरहेका छौं । तर सबैभन्दा डरलाग्दो कुरा के हो भने हामी धेरैजसोलाई यो बारेमा अत्तोपत्तो छैन ।
यसो कल्पना गर्दा हामीलाई यतिखेर कसैले माया र हेरचार (look after) गरिरेहेको जस्तो लाग्छ । तर वास्तवमा हामी जे गरिरहेका छौं, जे खाइरहेका छौं, जे लाइरहेका छौं, ति हाम्रा छनौट होइनन् । बरु पर्दापछाडि एउटा विशाल प्रणाली (A Massive System) आज रातदिन काम गरिरहेको छ, ता कि हाम्रो ध्यान चौबिसै घण्टा स्क्रीनमै टाँसिएर बस्न सकोस् । हामी इतिहासको यस्तो घडीमा छौं जहाँ हाम्रो मनमाथि नै अरु कसैको नियन्त्रण छ, जसलाई हामी देख्न सक्दैनौं । आज कसैले हाम्रो टाउकोमा बन्दूक तेस्र्याएर होइन, बरु हामीलाई ठिक त्यो चिज दिएर (giving us in abundance not what we truly need, but only what we crave) । त्यो हो अनन्त मनोरञ्जन । अनन्त मनोरञ्जन त्यस्तो हुन्छ जुन कहिल्यै परिपूर्ति हुँदैन, जसरी कुकुर आफ्नो पुच्छर चिलाउँदा टोक्नलाई फन्का मारिरहेको हुन्छ तर आफ्नै पुच्छर कहिल्यै पनि भेट्दैन ।
Aldous Huxley साधारण उपन्यासकार थिएनन् । उनी दूरदृष्टि भएका एक दार्शनिकसमेत थिए । उनले यो कुरा पहिल्यै बुझेका थिए जुन कुराको भेउ उनका कुनै समकालीनहरूले पाएका थिएनन् । उनलाई थाहा थियो कि भविष्यको झ्यालखाना (बन्दीगृह) कुनै फलामका डण्डी र पर्खालहरुले घेरिएका हुने छैन । बरु एउटा यस्तो मनोरञ्जन पार्क हुनेछ, जुन मनोरञ्जन पार्कको ढोका सधैं खुला राखिनेछ । तर मानिसहरू एकपटक भित्र पसेपछि बाहिर निस्कनेबारे सोच्नै सक्दैनन् । किनभने बाहिर निस्कनेबारे कहिल्यै नसोचुन् भनेर नै त्यो पार्कको डिजाइन, निर्माण र रखबार गरिएको हुनेछ ।
उपन्यासमा हक्स्लेले एउटा ‘सोमा’ भनिने (काल्पनिक) लागू पदार्थको बयान गरेका छन्, जुन आजको फेसबूक, इन्स्टग्राम, युट्युब, टिकटक, बिज्ञापन र हाम्रो ध्यान खिच्ने आजका बस्तु र सेवाको विम्व (metaphor) हो । उपन्यासमा मानिसहरूलाई सोमा औधी राम्रो लाग्छ । यो ड्रग्सले साहसिक नयाँ संसार (Brave New World) का मानिसहरुलाई दुःख, पीडा र तनाबबाट मुक्त गरिदिन्छ र आफ्नै दुनियाँमा भुलाइदिन्छ । तर यो ड्रगले मानिसहरुलाई वास्तविक सत्य देख्न र जीवनको गहिराई बुझ्नबाट भने बञ्चित गरिदिन्छ । आज त्यो ‘सोमा’ भनिने लागू पदार्थ पिल्समा (दबाईको गोली) मा आउँदैन । यो पिक्सेल (ग्राफिक पिक्सेल – जस्तो कि फोटो, भिडियो, रील आदि) मा आउँछ । हामी आज हरेक पटक फोन उचाल्छौं, त्यही ‘डिजिटल सोमा’ को एउटा मात्रा लिइरहेका हुन्छौं । आज हरेक सूचना, हरेक विज्ञापन, हरेक पोस्टहरु हाम्रो दिमागमा आनन्दको सानो भ्याक्सिन हो । हरेक लाइक, हरेक कमेण्ट, हरेक नयाँ भिडियो त्यही ‘सोमा’ को एक घुट्का हो जसले हामीलाई सधैं त्यही ठाउँमा फर्केर फेरि अर्को घुट्का लिन आउने गरी बाँधेर राख्छ । अनि हामी फेरि त्यसरी नै फन्फनी घुमिरहेका हुन्छौं जसरी कुकुरले आफ्नो चिलाएको पुच्छर टोक्नलाई फन्का मारिरहन्छ तर आफ्नो पुच्छर कहिल्यै भेट्दैन ।
यो एउटा प्रणाली (सिस्टम) को काम हो । यो सिस्टमको सबैभन्दा उत्कृष्टता (brilliance) के हो भने यो नियन्त्रण हामीलाई बन्धन वा निगरानी जस्तो नै लाग्दैन । बरु पूर्ण स्वतन्त्रता लाग्छ । त्यसैले यसउपर हामी प्रश्न नै गर्दैनौं । किनभने हामी जे गरिरहेका हुन्छौं, जे हेरिरहेका हुन्छौं, त्यो लाखौं विकल्पहरुमध्येबाट एक रोजेर गरिरहेका हुन्छौं, त्यो पनि आफ्नै समयमा । अतः हामीलाई लाग्छ कि हामी आफ्नै नियन्त्रणमा छौं, र आफ्नै खुशीले गरिरहेका छौं । आजको ‘Digital Soma’ ड्रगको उद्देश्य ठिक त्यसैका लागि हो ।
तर ‘ब्रेभ न्यु वल्र्ड’ मा बर्णित ‘सोमा’ र हाम्रो वर्तमान मनोरञ्जनबीच एउटा महत्वपूर्ण फरक छ । उपन्यासमा ‘सोमा’ ले प्रयोगकर्तालाई कसरी असर गर्छ भन्नेमा कथा ईमान्दार छ । कथामा यो स्पष्ट छ कि सोमा एउटा मचगन हो । तर, ठिक विपरीत आजको ‘डिजिटल सोमा’ ले भने मनोरञ्जन दिलाउने, संसारसँग जोडने र सूचना दिने निहुँमा यसले हामीलाई वास्तविकताबाट टाढा पु¥याएको छ । गलत जानकारीहरू दिने गरेको छ । सधैं मनोरञ्जनको दुनियाँमा भुलाएर हामीलाई अल्छी र मुर्ख बनाउँदै लगेको छ ।
अतः हक्सलेको उपन्यासले भन्छ — हाम्रो वास्तविक जीवनलाई तस्विर र दृश्यहरूको अनन्त संग्रह (graphic images) ले प्रतिस्थापन गरिसकेको छ । हामी प्रत्यक्ष अनुभवमा होइन, बरु तिनका प्रतिनिधित्व (फोटो, भिडियो) मार्फत (living life through proxies and representations) जीवित छौं । हुन पनि यसो सोचौं त, हामीले कतिपटक खाना खानु अगाडि प्लेटको फोटो खिचेका छौं? कतिपटक कन्सर्ट हेर्नुको सट्टा रेकर्ड गरेका छौं? अर्थात हामीले ति प्रत्येक अमूल्य क्षणहरुलाई पूर्ण रूपमा उपभोग गरेर बाँच्नुको सट्टा ग्राफिक्स पिक्सेलमा उतारेर अरुको उपभोग भएका छौं ।
उपन्यासमार्फत हक्स्लेले भविष्यवाणी गरेका थिए कि “हामीलाई कसैले दमन गरेर, डर देखाएर र हामीले चाहेको कुरा नदिएर हामीउपर नियन्त्रण गर्ने छैन ।” अर्थात हामीलाई अभाव र धम्कीद्वारा नभएर हामीलाई चाहेभन्दा प्रशस्त दिएर, फकाएर, अत्यधिक प्रचुरताद्वारा नियन्त्रण गरिएको छ । सिस्टम चाहन्छ कि हामी सधैं यही अवस्थामै बाँचिरहौं, सिस्टमलाई प्रश्न नगरौं, शक्तिकेन्द्रप्रति सधैं नतमस्तक रहौं, र Status Quo कायम रहोस् (माथि बस्नेहरू सधैं माथि नै बसुन्) । ‘सोमा’ ले प्रयोगकर्तालाई यस्तो दृष्टिभ्रम (optical illusion) देखाउँछ जसले उनीहरूलाई सुख र मनोरञ्जन दिनेहरुप्रति कृतज्ञ राख्छ । त्यसैले, जसले आनन्द दिन्छ, उसैबिरुद्ध लड्नुभन्दा बरु चुप रहन, सहयोगी बन्न र आज्ञाकारी हुन बाध्य बनाउँछ ।
हामी आज अल्डस हक्स्लेले झण्डै १०० बर्षअघि कल्पना गरेको संसारमा छौं । यस्तो संसार जहाँ मानिसहरूलाई पीडा दिएर होइन आनन्दद्वारा नियन्त्रण गरिन्छ; जहाँ आफ्नो जीवनको वास्तविकता भुल्ने अनन्त मनोरञ्जन नै स्वतन्त्रता लाग्छ । अर्थात, हक्सलेले केवल हाम्रो मनोरञ्जनको लागि ‘ब्रेभ न्यु वल्र्ड’ लेखेका थिएनन् । यो उपन्यासले हामीलाई भित्रभित्रै घोच्छ, तीखो ब्यङ्ग्य गर्छ, हसाउँछ, तर ब्युँउझाउँछ । उनको उपन्यासले हामीलाई जीवन, जगत र मानवव्यवहारबारे बुझाउँछ ।
९३ बर्षअघि ‘ब्रेभ न्यु वल्र्ड’ लेख्दैगर्दा हक्सलेलाई आजको डिजिटल दुनियाँ र फेसबूक–इन्स्टा–टिकटक बारे कुनै ज्ञान थिएन । त्यसैले उनले वास्तवमा जे लेखिरहेका थिए आज २१औं शताब्दीको दुनियाँभन्दा पनि २५औं शताब्दीको दुनियाँको कल्पना गरेर लेखेका थिए । उनले ५०० बर्षपछिको दुनियाँ कल्पेर लेखे तर १०० बर्ष नपुग्दै दुनियाँ आज आनन्दद्वारा नियन्त्रण भएकोमा भने उनको अनुमानको समयरेखा भने गलत ठहरियो । तर जे भएपनि उनी केवल एउटा रोचक कथाको आविष्कार गर्दै मात्रै थिएनन् । उनी हाम्रो दिमागले कसरी काम गर्छ भन्ने बारेमा एउटा ठोस अनुमान गर्दै थिए । उनलाई थाहा थियो कि हामी आफ्नो बानीद्वारा प्रताडित प्राणी हौं जसलाई समाज (र सिस्टम) ले सोचेअनुकूलन आकारमा मार्फत ढाल्न सकिन्छ । हुन पनि आजका हाम्रा बच्चाहरुहरु अर्थ र प्रयोग बुझ्नअघि नै प्रयोग गर्न थालिसकेका हुन्छन् । उपन्यासमा हक्स्लेले यसलाई ‘hypnopedia’ (निद्रामा सिक्ने शब्दज्ञान) भनेका छन् ।
आज हामीमाथिको रेखदेख र नियन्त्रण हक्सलेले कल्पना गरेको भन्दा पनि ४०० बर्षअघि नै सुरु भएको छ । दुई वर्षका बच्चाहरूलाई पहिले नै फोन र ट्याब्लेट कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा हुन्छ । पाँच वर्षको हुँदा उनीहरूले बिना कुनै झण्झट घण्टौं कार्टून हेर्छन्, जहाँबाट चाहिने–नचाहिने नयाँ मूल्यमान्यता र व्यवहारहरू सिकिरहेका हुन्छन् । दस वर्षमा उनीहरूसँग आफ्नै मोबाइल फोन हुन्छ, र पन्ध्र वर्षमा उनीहरूले वास्तविक मानिसहरूसंग अन्तरक्रिया गर्नु भन्दा बढी समय स्क्रिन हेर्दछन् ।
तर हक्स्लेको साहसिक नयाँ संसार र अहिलेको वास्तविक संसारबीचको फरक के हो भने हक्सलेको संसारमा जे भइरहेको हुन्छ, जसले÷जसलाई÷जेका लागि गरिरहेको हुन्छ त्यो आँखाले प्रष्ट देखिन्छ, र संस्थागत रुपमै हुन्छ (जस्तो कि उपन्यासमा प्रयोगशाला र वैज्ञानिकहरु देखिन्छन्) । तर हाम्रो संसारमा जे भइरहेको छ त्यो पूर्ण रूपमा अदृश्य छ । अहिले जे हुन्छ हाम्रा घरहरूमै हुन्छ, कोठाहरूमा हुन्छ, हाम्रो हातको हथेलीमा हुन्छ ।
आजको संसारमा प्रतिस्पर्धा र प्रगतिका नाममा (नाफाकै लागि भएपनि) प्रविधि कम्पनीहरू (जस्तो कि एप्पल, एण्ड्रोइड, गूगल, अमेजोन, माइक्रोसफ्ट आदि) ले संसारका उत्कृष्ट स्नायुविज्ञहरू, मनोविज्ञहरू, र व्यवहार विशेषज्ञहरूलाई भर्ना गर्छन् । उनीहरूले हाम्रो दिमागले कसरी विभिन्न रंगहरू, ध्वनिहरू, चाल–ढालप्रति कसरी प्रतिक्रिया गर्छ भन्ने अध्ययन गर्छन् । हाम्रो ’पसन्द’ को ढाँचा, डिजाइन, पहिरन, रंग, स्वाद, मानिस, पुस्तक, स्थान, संगीत सबै पत्ता लाएपछि खेदी–खेदी र बारम्बार गरेर त्यसप्रति हाम्रो लगाव पैदा गर्दछन् । अन्ततः हाम्रो रोजाई हामीलाई आफ्नै लाग्छन् ।
अध्ययनहरूले देखाउँछन् कि हामी मानिसहरू आज दिनमा १५० भन्दा बढीपटक आफ्नो फोन जाँच्दछौं । यसको मतलब हरेक छ मिनेटमा हामी जागिरहेका हुन्छौ । जब जाग्छौं, हामी स्क्रिन हेर्न सबैभन्दा बढी आत्तुर हुन्छौं । जसका लागि हामी दिसा र पिसाब थुनेरसमेत अनावश्यक केही हेर्नै पर्ने आवश्यकता महसुस गर्दछौं । यो यस्तो लागू पदार्थ हो जुन् ‘साहसिक नयाँ संसार’ मा बर्णित ’सोमा क्याप्सुल’ भन्दा मादक र वास्तविक संसारको कोकिन र हेरोइनभन्दा डरलाग्दो, खतरायुक्त तर आनन्दले भरपूर ‘ड्रग’ हो ।
अन्तमा यति भनौं, आज हामीलाई धम्काएर होइन फकाएर राखिन्छ; जेलमा थुनेर होइन मनोरञ्जनको खुला पार्कमा राखिन्छ; कुटेर होइन मसाज गरेर राखिन्छ; रुवाएर होइन हँसाएर मारिन्छ; पानी नदिकन तिर्खै राखेर होइन पिलाएर–पिलाएर मारिन्छ; भोकै राखेर होइन खुवाएर–खुवाएरै मारिन्छ; आँखामा पट्टी लगाएर अन्ध्यारोमा राखेर होइन हेर्न दिएर–दिएर मारिन्छ ।
के हामीले यसबारेमा सोच्ने गरेका त छौं?