
भ्रष्टाचार निवारणः थोक समस्याको खुद्रा समाधान

भ्रष्टाचार भनेको सामान्य चोरी, चकारी र चातुर्याईं मात्रै होइन । यो अजङ्को नदेखिने भूत हो। यसको निदान धामी–झाँक्री (जस्तो कि प्रहरी, अदालत आदि); आयुर्वेदिक पद्दति (जस्तो कि कानून, अनुसन्धान ब्युरो, सीसीटीभी आदि); र 'एलोप्याथिक' उपचार (जस्तो कि दण्ड–सजाँय आदि) केहीले हुनेवाला छैन। भ्रष्टाचारीलाई कुनै घरेलू (होमियोप्याथी) उपचार (जस्तो कि नैतिक शिक्षा - एथिक्स), ले पनि उसलाई स्थायी रुपमा नैतिक बनाउँदैन । यी खुद्रा समाधानका पद्दतिहरु सब बेकार हुन् । भ्रष्टाचारको निदान थोकबिक्री (wholesale) मात्रै सम्भव छ । त्यो भनेको पूँजीवादको अन्त मात्र हो | अर्थात भ्रष्टाचारलाई कुनै झिनामसिना घटनामा नहेरेर समस्त तस्विर (broader picture) मा हेरिनु पर्छ । भ्रष्टाचार कुनै ज्वरो, ग्यास्ट्रिक वा मधुमेह होइन । यो त क्यान्सर हो; किमोथेरापी नै गर्न पर्छ ।
भ्रष्टाचारको जग पूँजीवादमा छ। निजी सम्पत्ति राख्न पाउने प्रावधानमा छ । प्रकृतिलाई धुजा-धुजा पारेर नाफा कमाउने ब्यवस्थामा छ । यो जमीनलाई चोक्टा चोक्टा पारेर प्लटिङ गर्ने परम्परामा छ । वर्तमानमा अरुलाई छैन तर भविष्यका आफ्ना सन्तान–दरसन्तानका लागि जम्मा गरिदिने संस्कारमा छ । ट्याक्स मात्रै असुल्ने तर जनताको स्वास्थ्यको शिक्षा र स्वास्थ्यको लागि खर्च नगर्ने राज्य, आफूलाई आइपर्दा आमा-बाउ जस्तो (loving & caring) नभएर प्रहरी वा सेनाजस्तो सरकार भएपछि व्यक्तिले सम्पत्ति नथुपारेर के गरोस् त ? उता, कर्मचारीहरु सेवकजस्तो नभएर मालिक जस्ता छन् । तसर्थ भ्रष्टाचारको जग पूँजीवादमा छ ।
अतः पानी नै फोहर भएपछि नदी मात्र सफा गरेर के हुन्छ? मुहान सफा गर्नु पर्छ । नाफाखोर राज्य र ब्यवस्था अन्त गर्नुस्। भ्रष्टाचार आफैं अन्त्य हुन्छ ।