Back to all blogsमालिककै औजारले मालिकको घर ढल्दैन: सत्ता, संरचना र हाम्रो भ्रम

मालिककै औजारले मालिकको घर ढल्दैन: सत्ता, संरचना र हाम्रो भ्रम

Khusi Limbu
Khusi Limbu
April 19, 2026
17 views

“मालिककै औजारहरु प्रयोग गरेर तिमी उसका संरचनाहरु तोड्न सक्दैनौ”। - Audre Lorde (1934-1992)

झण्डै म जन्मिदाताका अड्रे लर्डद्वारा लिखित सानो तर निकै शक्तिशाली पुस्तक ‘The Master’s Tools Will Never Dismantle the Master’s House’ मेरो हात पर्यो।

“अरे बा, घर किन तोड्नु पर्ने?”
“अझ मालिककै?”
“नुनको सोझो गरेर मालिकको घरमा त बसिन्छ पो त!”
“अनि त्यो मालिक को हो?”
“घर केलाई भन्न खोजिएको?”
“औजार भनेका के के हुन्?”

– मथिङ्गलमा प्रश्नहरु उफ्रिए। 
सानो पुस्तक, एक बसाइमै पढेर सकियो। 

“खुकुरीले दिएको चोट अचानोलाई मात्रै थाहा हुन्छ” भनेझै अमेरिकी अश्वेत लेखिका जसले रंगभेद, उँचनीच र विभेद सहिन्, अड्रे लर्डको नजरमा ‘मालिकका औजारहरु’ भनेका त ति प्रणाली र तरिकाहरू रहेछन् जुन सत्ताधारी वा दमनकारी वर्ग (मालिक) ले आफ्नो शक्ति जोगाइराख्न प्रयोग गर्छन्। ति हुन्ः

(१) Dominant Ideologies — समाजमा व्याप्त ती हाबी विचारधाराहरू जसले यथास्थितिलाई नै 'सही' मान्छन्। (उदाहरणको लागि, पितृसत्ता, जातिवाद, वा पूँजीवादलाई स्वभाविक मान्नु)।

(२) Institutional Rules —राज्य, अदालत वा कार्यालयहरूले बनाएका ती संस्थागत नियमहरू जो हेर्दा निष्पक्ष लागे पनि भित्री रूपमा शक्तिशालीकै पक्षमा हुन्छन्।

(३) Accepted ways of thinking— समाजले आँखा चिम्लेर "यस्तै त हो नि" भनेर सधैं स्वीकार्दैआएका ती ‘taken-for-granted’ चिन्तन शैली र सोच्ने तरिकाहरू, जसले प्रश्न उठाउने ठाउँ दिँदैनन्।

(४) Elite-controlled systems —राज्य, प्राज्ञिक क्षेत्र (Academia) र पूँजीवाद जस्ता एलिटहरूद्वारा नियन्त्रित प्रणाली र संयन्त्रहरू जसमा टाठाबाठा र शक्तिवालाहरूको मात्रै हालीमुहाली हुन्छ।

अनि ‘मालिकको घर’ भन्नाले ति संरचनाहरु रहेछन् जसले मानिसहरूलाई दमन गर्छन् र शक्तिशाली वर्गको स्वार्थलाई सुरक्षित राख्छन्। ति हुन्ः 

(५) Systems of Domination —शक्ति र नियन्त्रणमा आधारित ती दमनकारी सम्पूर्ण व्यवस्था, जसले केही व्यक्तिलाई माथि र अरूलाई तल राख्छ।

(६) Patriarchy —समाजमा पुरुष वर्चस्व कायम राख्ने ती पितृसत्तावादी संरचना, जसले महिला र अन्य लिङ्गीहरूलाई दोस्रो दर्जाको नागरिक बनाउँछ।

(७) Racism —मानिसको जन्म, रङ्ग वा जातका आधारमा गरिने भेदभाव र त्यसलाई संरक्षण गर्ने ती जातिवादी र नश्लवादी संस्थागत प्रणाली र परम्परा।

(८) Capitalism —केवल नाफा र सम्पत्तिको संचयलाई प्राथमिकता दिने पूँजीवाद आर्थिक व्यवस्था, जसले श्रमिक र गरीबलाई शोषण गर्छ।

(९) Hierarchical Power Structures —कुलीन र शक्तिशालीहरूद्वारा निर्मित समाजको त्यो तहगत व्यवस्था, जहाँ शक्ति माथिबाट तलतिर (top-down) मात्र प्रवाहित हुन्छ र तलकाहरूले सधैं माथिकाको आदेश मान्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ।

साराँसमा, पुस्तकले भनेको ‘मालिकको घर’ समाजको त्यो सम्पूर्ण ढाँचा (structure) हो जुन शोषणमा आधारित छ। अड्रे लर्डको भनाइको अर्थ, यदि हामीले दमनकारी प्रणालीले नै बनाएका संस्थाहरू, नियम, कानुन, भाषा, धर्म, जातप्रथा, धर्मग्रन्थ, परम्परा, शैक्षिक सामग्री (मालिकका औजारहरूं) मात्र प्रयोग गरेर त्यो प्रणालीलाई ढाल्न खोज्यौं भने हामी कहिल्यै सफल हुने छैनौं। अतः यदि हामीले नेपालको पुरानै भ्रष्ट राजनीतिक प्रणाली (मालिकको घर) लाई त्यही भ्रष्ट संयन्त्र (मालिकका औजार) प्रयोग गरेर सुधार्न खोज्यौं भने घुमीफिरी पुग्ने त उही रुम्जाटार हो। त्यसैले प्रणालीभित्रै बसेर सुधार गर्ने कि प्रणाली नै बदल्ने? बिचार गरौं।

#ThinkAgainb  #WakeUpNepal #NotSoSimple
#BreakTheSystem #audrelorde #NepaliPolitics
#SystemReform #NewNepal #PoliticalCulture

Back to all blogs