दासता, अधिनायकवाद, अपहरण – सार एक, रुप अनेक

हिजो शुक्रबार एकाबिहानै एउटा स्ट्याटसमा आँखा पर्यो । लेखक महोदयले आफ्नो बोसको खुलेरै निर्लज्ज रुपमा तारिफ गरेका रहेछन् । आफ्नो बोसका ‘अ’ बाट आउने चार गोटा विशेषताहरु – असक्षमता, असफलता, अकर्मन्यता र अधिनायकवादी चरित्र – को चौतर्फी विरोध र भर्त्सना भइरहँदा पनि लेखनीमा उनले मालिककोे देवत्वकरण गर्न खोजेका रहेछन् । ‘मोटिभ’ चाहिं भोली कुनै दिन नेपाल फर्किहाले राजनैतिक नियुक्ति पाइन्थ्यो कि भन्ने मात्र होला ।

वास्तवमा यस्ता स्ट्याटसहरु आधुनिक दासताका लोभलाग्दा नमूनाहरु हुन् । अतः आइएलओको “संसारमा आज लगभग तीन करोड आधुनिक दासहरु छन्” भन्ने अनुमानलाई यो पङतिकार मान्दैन । दासता आज नाङ्गो आँखाले मात्र देखिने कुरा होइन, यो त बुझिने र महुसुश गरिने कुरा हो । दासता भन्नासाथ हिजो दासयुगमा मानिसहरुले मानिसहरुकै मोलतोलमा गरिरहेको तस्विर हाम्रो आँखाअघि आउँछ त्यसैले दासप्रथा हामीलाई इतिहास जस्तै लाग्दछ । तर बुझ्न जरुरी के छ भने सामाजिक–राजनैतिक परिघटनाहरु त युगसापेक्ष आफ्ना रुपहरु बदल्दै आउँछन्, जान्छन् । दासता पनि त्यस्तै नै हो ।

आज दासता औपनिवेशिककालीन अफ्रिकीहरुको घाँटीमा झुण्डिरहेको साङ्लामा होइन, नवऔपनिवेशिक कालखण्डमा पूँजीवादी राष्ट्रहरुले तेस्रो राष्ट्रहरुलाई सशर्त अनुदान र सहयोग गरिदिएर उनीहरुलाई युगौंयुग परनिर्भर बनाइरहने नीतिहरुमा देखिन्छ । इजिप्टमा पिरामिड बनाउनेहरुको शरीरमा बर्षिने कोर्राहरुमा होइन, दासता आज विश्वबैंक, अन्तरर्राष्ट्रिय मुद्राकोष र आइएनजीओहरुका नीति र कार्यक्रमहरुमा देखिन्छ । दासता आज वित्तीय कम्पनीहरुले सहयोगको नाममा मजदुर वर्गलार्ई जिन्दगीभरका लागि थमाइदिने मोर्गेज, ऋण र क्रेडिट कार्डहरुमा पनि देखिन्छ । उहिले ग्रीसका दासहरुलाई सोझ्याउन सयौं लौराहरु चाहिन्थे, आजका हामी दासहरुलाई बंग्याउन एउटा सीसीटीभी भएपुग्छ । समयसमयको कुरा न हो ।

भनिंदा स्वतन्त्र भनिए पनि हामी आज सबै कहीं न कहीं कुनै न कुनै रुपमा दास छौं – विचारले, विवेकले, दर्शनले, कर्मले । र दासताको निर्लज्ज प्रदर्शन हुने एउटा संस्था हो राजनैतिक दल । आफ्ना मालिकहरुले जे गरे पनि ठीक भन्ने भन्ने र आफ्नो असली विवेकलाई छिपाएर मालिकको भाषामा बोल्नु दासताकै अर्को रुप होइन ? त आफ्नो हातमा झण्डै दुईतिहाईको बहुमत हुँदाहुँदै सिङ्गो देश नै लकडाउनमा रहेको मौका पारेर राज्यसत्ता र शक्तिको चरम दुरुपयोग गर्दै अर्काको घर फोड्ने दुराशयका साथ पछाडिको खिड्कीबाट अध्यादेश जारी गर्ने प्रधानमन्त्री केपी ओलीका भक्तहरुले उनको महिमागान गाइरहनु पनि दासताकै अर्को रुप होइन ?

आज छद्म भेषमा परिचालित एउटा अर्को सामाजिक परिघटनाहरुमध्येमा पर्दछ – अधिनायकवाद । यसलाई साधारण अर्थमा हामी “सर्व साधारणको अधिकारलाई कुण्ठित पारी राज्यको सम्पूर्ण अधिकार प्रयोग गर्ने निरंकुश, अत्याचारी, तानाशाही प्रवृत्ति” भनी बुझ्दछौं । र हाम्रा आँखाअघि फेरि तिनै तस्विरहरु प्रायः आउँदछन् – हिटलर, मुसोलिनी, स्टालिन, सद्दाम हुसेन, गद्दाफी आदी । र यतिखेर प्रायः हामी भुल्दछौं आजका अधिनायकवादीहरु बन्दुकद्वारा होइन, चुनावबाटै आउँदछन् भनेर। यो घटना आज डोनाल्ड ट्रम्प, महाथीर मोहमद, नरेन्द्र मोदी हुँदै केपी ओलीसम्म आइपुगेको छ । २०७४ फागुनमा केपी शर्मा ओली सत्तारोहण भएयता २०७६ चैतसम्ममा क्रमबद्द रुपमा विकसित घटनाक्रमहरुले त पुष्टी गरेकै थियो । अब २०७७ बैशाखको अध्यादेश र अपहरणको घटनाले त्यसलाई सिलवन्दी गरिदिएको छ ।

अपहरण पनि अर्को त्यस्तै घटना हो जसलाई परम्परागत परिभाषामा मात्र सिमित राख्न सकिन्न । प्रकाश झाद्वारा निर्मित फिल्म ‘अपहरण’, रामगोपाल बर्माद्धारा निर्देशित ‘सत्या’ र मेल गिब्सन अभिनित ‘र्यान्सम’ हेरेर अपहरणलाई हत्या, हिंसा र बलप्रयोगको रुपमा मात्रै बुझनु भनेको अब ज्ञानको दायरालाई कुण्ठित पार्नु हो । भर्खरैमात्रै अवकास भएका आइजीपी सर्वेन्द्र खनालको प्रहरीबलमा बचेखुचेको प्रभावलाई ‘केपी ओली एण्ड एसोसियट्स’ ले गरेको बट्ठ्याईंपूर्वक प्रयोग भनौं वा दुई दुई जना सांसदहरुको पद र व्यक्तित्वको प्रभावको दुरुपयोग भनौं, यी हतियारहरू कुनै बन्दुकको गोलीको डर वा खुकुरीको धारको त्रासभन्दा कम थिए होलान् ? के लकडाउनमा सर्वत्र यातायात बन्द भएको बेलामा दुई जननिर्वाचित साँसद र पूर्व आइजीपी बिनाको गाडी जनकपूर पुगेर राजधानी फर्कन सक्थ्यो ? प्रश्न त्यो हो ।

धन्य छ, आधुनिक दासता र अधिनायकत्वलाई साहित्यहरुले जस्तो तरिकाले परिभाषित गर्दछन्, मुलुकी आचार संहिताले अपहरणलाई त्यस्तै साँगुरा शब्दहरुको दायरामा मात्र सिमित गर्दैन । मुलुकी आचार संहिता भन्छ, – “कुनै व्यक्तिलाई बलप्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डर त्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई, मादक पदार्थ वा नशालू पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारी साधनलाई नियन्त्रणमा लिई निजलाई कुनै ठाउँमा लगेमा वा मञ्जुरी बिना बाध्य गराइएमा त्यसलाई अपहरण भनिन्छ” । अतः स्पष्ट छ, १२/१२ घण्टासम्म सांसद डा. सुरेन्द्र यादवलाई उनको घरमा रुंगेर फकाएको, जनकपूर आउने योजना भएको मान्छेलाई रातारात काठमाण्डौं ल्याइएको, उनको गाडी छोडेर आफ्नो गाडीमा यात्रा गर्न विवश पारिएको, बाटोमा प्रधानमन्त्री ओलीसंग सम्वाद गराएर मन्त्री बनाउने लोभ देखाइएको, र अन्तमा, अनिच्छापूर्वक जो जो व्यक्तिहरुबाट कुनै अञ्जान गन्तब्यसम्म ल्याएर राखियो, मर्निङवाक गर्ने बहानामातिनै व्यक्तिहरुबाट भागी पार्टीको सम्पर्कमा आएको तथ्य के हो? अब आधुनिक दासहरु यसलाई अपहरण नै होइन र पीडितको उजुरी नै आएको छैन भन्दै निर्लज्ज आफ्ना सामाजिक सञ्जालका भित्तोहरु रंगाउँछन् भने त्यो सूर्यलाई हत्केलाले छेक्न खोजेको होइन?

कुनै पनि यस्ता घटनाहरु फौजदारी अपराध हुनलाई परिवारले उजुरी दिनै पर्छ भन्ने छैन । पीडितको उजुरी बिना नै प्रहरीको प्रतिवेदनको आधारमा राज्य वादी भएर मुद्दा दर्ता गर्न सकिन्छ । निर्मला पन्त काण्डदेखि ३३ किलो सुन काण्ड हुँदै सेक्युरिटी प्रिण्टिङ खरिद काण्डका अपराधीहरु र कात्रो कमिशन काण्डका पापिस्टहरुलाई उन्मुक्ति मिलिरहेको यो क्षणमा नौलो अपहरणका पात्रहरु दण्डित होलान् भन्नेमा आम सर्वसाधारणहरुको रत्तिभर आशा हराएको छ । हेरौं प्रतिपक्षी दलहरु (यदि कुनै चोखा भएमा), आम सञ्चार र नागरिक समाजका अगुवाहरुले अब यो प्रकरणलाई कसरी अघि बढाउँदा रहेछन् ।

Leave a Comment