कोभिड–१९ बाट प्रोफेसर रोजर म्याथ्युजको निधनः अपराधशास्त्रमा एउटा युगको अन्त्य

अपराधशास्त्र (criminology) जी का एक सिद्दान्तकार रोजर म्याथ्युजको कोभिड–१९ का कारण हालै निधन भएको छ । कुनै बेला समाजशास्त्रको एक हाँगाको रुप (Sociology of Crime and Deviance) मात्रै भनी अध्ययन–अध्यापन गरिने अपराधशास्त्रलाई सामाजिक बिज्ञानको एक छुट्टै बिषय (independent discipline) को रुपमा विकास गर्न उनको ठूलो हात थियो । अपराधलाई वाम यथार्थवादी दृष्टिकोणबाट ब्याख्या गर्ने उनको सिद्दान्तलाई Left Realist Criminology भन्ने गरिन्छ ।

युनिभर्सिटी अफ केण्टको समाजशास्त्र बिभागका एक उच्च पदस्थ ७१ बर्षीय प्राध्यापक रोजर म्याथ्युज आफ्नो मृत्यृ हुन केही दिनअघि मात्र पनि कक्षामा पढाइरहेका थिए । जीवनका अन्तिम दिनहरुमा पनि आफ्नो अध्ययन–अध्यापन र शोधको बिषयहरुः वेश्यावृत्ति, जेल र वन्दीहरुको अवस्था र सशस्त्र डकैती जस्ता बिषयहरुमा आफ्नो पुस्तक लेखिरहेका थिए ।

अपराध नियन्त्रण सम्बन्धि नीति र कार्यक्रमहरु पित्रृसतात्मक भएकोले समाजमा वेश्यावृत्तिलाई केवल महिलाहरुको समस्याको रुपमा मात्र बुझिनु हुन्न भन्ने उनको धारणा थियो । उनी भन्दथे, कुनै व्यक्ति अपराधी हुनु उसको मनस्थितिको उपज मात्र नभएर समाजिक ब्यवस्था (social order) को उत्पत्ति हो । यथार्थमा उनको सिद्दान्तले अपराधलाई वर्ग, लिङ्ग र नारीवादी दृष्टिकोणसंग सम्मिश्रण गरेर विश्लेषण गर्दछ । उनका अनुसार अपराधीलाई पक्रेर मात्रै अपराध नियन्त्रण गर्न सकिन्न, अपराध भनेको पीडक (offender), पीडित (victim), अपराध नियन्त्रणका संयन्त्रहरु – प्रहरी, जेल, फौजदारी नीति (state) र समाज (society) बीचको चतुर्भुजीय अन्तरसम्बन्धको जोडघटाउ र त्यसको योगफल हो भन्ने उनको जिकिर थियो ।

सन् २०११ मा केण्ट युनिभर्सिटी जानुपूर्व उनी लण्डन साउथ ब्याङ्क युनिभर्सिटीमा उनी मेरा अध्यापक थिए । “अरु सबै गुरुहरुले पावर प्वाइण्टमा पढाउनुहुन्छ तर तपाईं पावर प्वाइण्ट बिनै” भनेर मैले एक पटक गुनासो गरेको थिएँ । “म तिम्रा अरु टीचरहरु जस्तो हो र मेरो त पुस्तकै दर्जनौं प्रकाशित छन् नि त्यही पढन” भनेर ठट्टा गर्दै उनले मलाई भोलीपल्ट आफ्नो भर्खरै प्रकाशित पुस्तक Doing Time: An Introduction to the Sociology of Imprisonment हातमा थमाइदिए । उनी जस्तो विश्वप्रसिद्द अपराधशास्त्री त बन्न सकिएन तर कुनै दिन कारागार र वन्दीहरुको जीवन सम्बन्धि शोध गर्ने अवसर पाएँ भने उनको स्मृतिमा यो पुस्तकले मेरो प्रोजेक्टको म्यानुअल भएर काम गर्दो हो ।

प्रोफेसर म्याथ्युज एक गरीब परिवारमा जन्मेर हुर्केका प्राज्ञ थिए । त्यसो भएर पनि उनले सधैं समाजका सबैभन्दा तल्लो वर्गका निन्ति कलम चलाए । १९८० को दशकमा जब रोनल्ड रेगन र मार्गरेट थ्याचरहरुले अपराधलाई व्यक्तिको समस्या भनी राज्यलाई आफ्नो जिम्मेवारीबाट पन्छाउन खोज्दै थिए, उतिखेर लेफ्ट रियालिस्ट क्रिमिनोलोजी नै थियो जसले नवउदारवादीहरुको त्यस्ता अपराध नियन्त्रणका विधिहरु (जस्तो कि बढ्दो सीसीटिभीको प्रयोग, प्रहरी र जेलको संख्यामा घटौति, बजेटमा कटौति, कडा कानून आदी) लाई चुनौति दिएको थियो, र अझै पनि उनका विचारहरु नवउदारवादीहरुका लागि टाउको दुखाईको बिषय बनेको छ ।

एक प्रेरणादायी अध्यापक, कुशल लेखक, विचारक, चिन्तक र मजदुर वर्गका आवाज श्री रोजर म्याथ्युज र उनका विचारहरु सबैका लागि सधैं प्रेरणाका श्रोत बनेर रहिरहनेछन् । अलविदा रोजर ।

Leave a Comment