सुक्को झार्न सकिन्न भने खोइरो खन्न छोड्नु पनि समाजसेवा नै हो

“संसारमा केही थोरै व्यक्तिहरु वास्तवमा भलाइ गर्न चाहान्छन् ।अरु व्यक्तिहहरु हेर्छन्, ताली पिट्छन् । आफुहरुले धेरै गरेको सम्झन्छन् ।”

आजको यो लेख स्वामी विवेकानन्दको माथि उल्लिखित भनाइबाट शुरु गर्न प्रासंगिक ठानें |

केही दिनअघि लण्डनमा बस्ने एक जना दाइले यस्तो स्ट्याटस लेखे कि समाजसेवा भनेको अवकाशपछि बुढेसकालमा गरिने एउटा ‘हब्बी’ हो । यो भनेको सर्वाधिक धनीहरुले मात्र प्रायः विलासिताका लागि गर्ने ऐयाशीपनको एक नमुना हो । स्ट्याटसले वास्तवमा समाजसेवा श्रमिक वर्गको औकातभन्दा बाहिरको कुरा हो भनी दर्शाउन खोजेको छ । समाजसेवालाई केवल ‘धनको सहयोग’ को रुपमा चित्रित गर्दै च्यारिटी, धनदान र समाजसेवालाई एउटै पर्यायको रुपमा ब्याख्या गरेको छ । मुलतः स्ट्याटसले विम्वात्मक रुपमा ‘समाजसेवा’ जस्तो पवित्र शब्दलाई तलसम्मै गिराएर यो भनेको “दुई पैसा कमाइ नभएका वकम्फुसेहरुको मागीखाने भाँडो हो”, भन्न खोजेको छ ।

अंग्रेजीमा एउटा भनाइ छ, “A fool asks a question that wise-man cannot answer”। अतः मदर टेरेसा, महावीर पुन र अनुराधा कोइराला मिलेर सम्भवतः एक हप्तामा दिन नसक्ने उत्तरको प्रश्न स्ट्याटसले एकै मिनेटमा उठायो । त म कसरी दिन सकूँला र यस्तो स्ट्याटसको उत्तर । तैपनि मनको उत्कण्ठा आफ्नै यो फेसबूकको वालमा यसरी पोख्ने जमर्को गरें ।

यदि हाम्रो सामान्य बुझाइमा खोट भए मात्र हो नत्र ”के समाजसेवा गर्नुलाई गोजीभरि पैसा नै त चाहिने हो त ? कसैलाई सहयोग गर्नु भनेको हुनु र नहुनुमा भन्दा पनि हाम्रो हृदयको ढोका कति खुल्छ त्यो महत्वपूर्ण होइन र ? आफुसित धन भए धनदान गर्नु तर धनै नभए कसैलाई ‘कपुरी क’ सिकाइदिएर ज्ञानदान गर्नु पनि समाजसेवा नै होइन र? कसैलाई एउटा फाराम भर्न सहयोग गर्नु पनि समाजसेवा नै होइन र? आफुले चाहेजस्तो धनदान गर्न नसके कुनै च्यारिटीमुलक कार्य गरेर दिनु पनि समाजसेवा नै त होला नि हैन र ?

तर स्ट्याट्सपछि तल कमेण्टहरुमा त अझ भनिएको छ, – “मागी मागी पनि समाजसेवा के गर्नु ?”

यस अर्थमा मागेर च्यारिटी गर्नेहरु, जस्तो कि अक्स्फाम, युएनडीपी, सहारा यूके, तमुधीं यूके र एनआरएनए यूके सबै मगन्तेहरु हुन् । यदि यी संस्थाहरु मगन्ते भएदेखिन् ती संस्थासंग जोडिएर समाजसेवा गर्नेहरु, जस्तो कि अक्सफामका सीइओ धनञ्जय श्रीस्कन्दराजा, युएनडीपीका प्रशासक अचिम स्टेइनर, सहारा यूकेका नविन गुरुङ, ‘च्यारिटी किङ’ भनिने गोर्खा प्यालेस रेस्टुरेण्टका मालिक सूर्य गुरुङहरु (उदाहरणका लागि) त सिधैं भिखारीको दर्जामा पर्ने भइहाले । किनकि यिनीहरु कुनै विल गेट्स वा विनोद चौधरी होइनन् तर आफ्नो गोजीको भन्दा बढी त लाखौंदेखि करोडौंसम्म उठाएर दान गरेका छन् ।

धेरै टाढाको उदाहरण किन लिऊँ, शिव कल्चरल कम्युनिटीले थोपा थोपा गरेर हालसालै मात्रै अल्डरशटमा एउटा हिन्दू मन्दिर निर्माण गर्यो । तर स्ट्याटस् र कमेण्टेटर्स (टिप्पणीकार) हरुको तर्कले शिव कल्चरल कम्युनिटीलाई मगन्ते संस्था र मन्दिर निर्माणका लागि १०/२०/५/ पाउण्ड जम्मा गर्नेहरुलाई भिखारीका रुपमा दर्ज गर्यो । भिखारी नै सही, तर समाजमा शिव कल्चरल कम्युनिटी जस्तो मगन्ते संस्था र भीम बानियाँ, बिक्रम भट्टराई, रोहित गुरुङ (अरु धेरै नाम छन्) जस्ता ‘भिखारीहरु’ जन्मिरहून्।

स्ट्याटसको तल लाइक र कमेण्ट गर्ने जनहरुको यसो नामावली हेरें, अहो ! शीरदेखि पुछारसम्म चीर-परिचित तिनै मित्रहरुको लाइन देखेंः आजसम्म कसैले दान नदिएकाहरू, च्यारिटीमा एक सुको खर्च नझारेकाहरू, सधैं च्यारिटीको विरोध गर्नेहरु, च्यारिटीलाई आतंकका रुपमा चित्रित गर्दै समाचार लेख्नेहरु आदि आदि । उनीहरुको पेशागत र आर्थिक हैसियत हेर्दा कोही कन्सल्टेण्ट, कोही इन्जिनियर, कोही वकिल, कोही कफी शपका मालिक, कोही सेक्युरिटी अफिसर, हुँदाहुँदा एनआरएनए यूकेका एक एक जना पूर्व अध्यक्ष र महासचिब धरी त्यो लिस्टमा रहेछन् । अथवा कम्तिमा पनि समाजसेवा र दान-परोपकारमा सुनिरहने नाम त्यहाँ थिएनन् |

वास्तवमा “अरुको उपकार गर्नेहरुको शरीर परोपकारद्धारा नै सुशोभित हुन्छ, चन्दनद्धारा होइन” भन्ने संस्कृत दार्शनिक भर्तहरीको भनाइलाई यदि सम्झिनु हो भने त्यो लाइक र कमेण्ट गर्नेहरुको लिस्टमा अधिकतम संख्या त चन्दन लाउनेहरु कै थियो । समाजसेवा त्याग नभएर विलास हो भनी बुझ्ने, र दया-माया-उपकार जस्तो मानवीय समवेदना धनीहरुमा मात्र हुनु वाञ्छनीय देख्नेहरुको झुण्डले नै धेरै जसो कमेण्ट गरेका थिए ।

तर हाम्रो सामान्य बुझाई भनेको समाजसेवा विलास वा आनन्द होइन, समाजसेवा त आमहितका लागि गरिने त्याग हो | आफ्नो पेट टन्न नहुँदा नहुँदै पनि छाक कटाएर दिनु पनि समाजसेवा हो | आफू जलेर अरुलाई उज्यालो दिनु यथार्थमा समाजसेवा हो | यसलाई बालकृष्ण समको एउटा पङ्तिले अरू स्पष्ट पारौं:

बत्ती तेल जलाएर आफैं जल्दछ आखिर !
रहन्छ बाँकी निस्सार खरानी मात्र आखिर!!

अतः समाजसेवा गर्नु हाम्रा लागि अन्ध्यारोमा बत्ती बाल्नु हो, र समाजसेवीहरू हाम्रा लागि अँध्यारोका प्रकाश हुन् |अन्ध्यारोमा बत्ती बाल्नुका लागि आफ्नो खल्ति भरिपूर्ण हुनपर्छ भन्ने छैन । कुराको सार यति हो, समाजसेवा भनेको कसैको अहिले खसिरहेको आँसु पुछ्नलाई म पछि गरुँला भनी साँच्ने बिषय पनि होइन । यदि जीवनमा केही पाउन चाहने हो भने दिन पनि सिकौं । फुर्सदका समय अरुको सेवा र सहयोगमा सदुपयोग गर्न यदि जानेनौं भने पनि यति त नबिसौं कि सकरात्मक भावना र सोचले कसैलाई पनि अहित त गर्दैन ।

स्ट्याटस् र कमेण्टसहरुमा मात्रै होइन, व्यक्ति फाइदाको लागि वा व्यापारको लागि समाजसेवा गर्दछ भन्ने बुझाई पनि हामी माझ छ । तर समाजसेवा गर्दा कसैलाई फाइदै मिल्छ भने त्यसमा हाम्रो आपत्ति किन हुन पर्ने ? त्यो प्रश्न अर्को कोणबाट राख्न सकिन्छ । कसैलाई प्रेम गर्दा दोहोरो प्रेम मिल्छ भने, कसैप्रति सद्भाव राख्दा बदलामा सद्भाव नै प्राप्त हुन्छ भने त्यसमा बिपत्ति के रह्यो र ? आखिर समाजसेवी भावना त सदाचारीहरुमा नै हुने गर्दछ, र सदाचार त्यस्तो श्रोत हो जहाँबाट सम्मान जन्मन्छ । र यदि समाजसेवा गर्दा कसैलाई प्रेम, सद्भाव वा सम्मान मिल्यो भने त्यसबाट गैर–समाजसेवीहरुलाई नोक्सान नै के छ र ?

अन्तमा, गान्धीले भनेका थिए, “जसमा उपकार गर्ने प्रवृत्ति छैन उसलाई मानिस भनिने अधिकार पनि छैन”| तर त्यसो भनेर यो सानो लेखमा म गान्धीजी जस्तो कठोर पनि कसरी बन्न सक्छु र । तर जाँदाजाँदै एउटा कुरा भने राखिहालौं, – सकिन्छ भने कसैलाई कुनै सानोतिनो सहायता दिऊँ र त्यसमा कति खुशी लाग्छ हेरौं । त्यसपछि हामी आफ्नो आँखामा हामी आफैं कति माथि उठ्छौं, त्यो हार्दिक प्रसन्नताको अनुभव गरौं । यदि त्यो गर्न सक्दैनौं भने पनि कम्तिमा समाजसेवीहरुको खोइरो नखनौं । किनभने राजनीति र समाजसेवामा विरोध नगर्नु पनि सहयोग नै हो । यदि अरुका लागि दुई पैसा खर्च गर्न सक्दैनौं भने पनि त्यो पैसा जम्मा गरेर आफ्नै लागि एउटा कोट किनेर लगाऔं ता कि आफ्नो शरीर न्यानो राख्न सकौं । आफ्नो शरीर न्यानो राख्नु पनि उपकार नै हो । किनभने जो व्यक्ति आफ्नो शरीर नै न्यानो राख्न सक्दैन उसले अरुको शरीरको जाडो कसरी भगाउन सक्छ र ।

Leave a Comment