फेसबूकमा पाएको वधाई: कसैका लागि आहार, कसैका लागि बिख

आजको यो लेख पद पाएर बधाई मागिहिड्ने मित्रहरु बारे सम्बन्धित छ । अन्य कसैसित मिल्न गएमा संयोग मात्र ठानिदिनुहोला ।

केही दिनअघिको कुरा हो, एक जना भलाद्मीले आफु एनआरएनएको टास्कफोर्समा परेको थाहा पाएपछि बेलायतका केही ठूला भनिएका अनलाइनहरुलाई आफ्नो नामको हेडलाइन बनाइदिन आग्रह गर्दै हिंडे रे (अनलाइनकै एक जना सम्पादकले म लाई पनि भने) । सायद यही कुरा मित्र नारायण गाउँलेजीको कानमा पनि पर्यो होला, र नै उहाँलाई एउटा लेख सायद फुर्यो होला, मैले यसो अनुमान गरें ।

“जाबो टास्कफोर्समा त मै पनि परें नि । तर मैले त बधाई मागिन त” (https://www.voiceofnepal.tv/2020/02/52192/?fbclid=IwAR3Wg0YnYmmkMhvWCwiIUDYqerI2Q0hYNlDavFx37bVNCcnGddotYRcPkbk#.XlgEVqia9Qw.facebook)

– मित्र नारायण गाउँलेजीले केही दिनअघि आफ्नो लेखमा भन्नुभएको रहेछ । म आफैं बधाई खोजीहिंड्ने मित्रहरुमध्येमा म नपरेकोले उहाँले मलाई लक्षित गरेर लेख्नुभएको त पटक्कै हैन । तर लहरो तान्दा पहरो थर्केपछि कुराको डालामा म पनि परें । त्यसैले पनि केही लेख्नै पर्ने भयो ।

नारायणजीको लेखमा निकै नै घतलाग्दा कुराहरु छन् । तर उहाँको एउटा विचारसित भने म सहमत हुन सकिन । त्यो के भने, चुनावमा लाखौं खर्च र अनेकौं तिकडम गरेर पद लिने तर माखो नमार्नेहरु चाहीं महान र अनावश्यक राजनीति नगरी आफ्नो काम र विज्ञताको आधारमा टास्कफोर्समा बस्नेहरु चाहीं तुच्छ भन्ने यदि उहाँको बुझाई हो भने त्यसमा मैले भने संकट देखें । त्यसैले पनि उहाँको त्यो लेखप्रतिको यो प्रतिलेख फुर्यो ।

कुरो के हो भने, परीक्षामा चिट चोरेर पास गर्ने परिक्षार्थी वा कसैको आग्रहमा राम्रो अंक ल्याउने विद्यार्थीलाई भन्दा आफ्नो बलबुताको अंक ल्याएर पास गर्नेहरुको आत्मसन्तुष्टि र गौरव स्वाभावैले बेग्लै हुँदो हो । त्यसो भएर होला एनआरएनएको कार्यदलमा पर्नु मलाई भने साधारण कुरो लाग्दैन ।

एनआरएनए यूकेका १४ हजार सदस्यहरुमध्येबाट आधा दर्जन बढीले मात्र आइसीसीको कार्यदलमा बसेर काम गर्न पाउनु मलाई साधारण लाग्दैलाग्दैन ।

अझ आफ्नै कुरा गर्नु हो भने मलाई त हातको माछो छोडेर पोखरीमा बल्छी खेल्ने कुनै रहर छैन । अर्थात लाखौं रुपैयाँ खर्च गरेर चुनावी दाऊ खेल्नु भन्दा विना कुनै झन्झट आफुलाई मनपरेको टास्कफोर्समा बसेर काम गर्न पाए आफ्नो जोशको अन्वेशष (passion explore) गर्नु उत्तम लाग्छ ।

आफुले त हरेक पटक आफ्नो तीन तीन पन्ना लामो सी. भी. पछारेर पाउने गरेको कुनै कार्यदलको जिम्मेवारी हो; कुनै पदाधिकारीलाई चुनावमा सघाएको आग्रहमा वा नसघाएको पूर्वाग्रहको आधारमा पाएको होइन । त्यसैले होला ‘नपाएसम्म कस्तो कस्तो’ लागेको टास्कफोर्सको जिम्मेवारी कसैकसैलाई ‘पाएपछि सस्तो’ लाग्दो हो, तर मलाई भने सस्तो लाग्दैन ।

अरु मित्रहरुका बारेमा त थाहा भएन तर मलाई भने टास्कफोर्सको सदस्य कसैले थोपरिदिएको जिम्मेवारी होइन । म सम्बन्धित निकायहरुलाई सम्बन्धित टास्कफोर्समा रहेर काम गर्ने आफ्नो रुची र चाहना प्रकट गर्दछु । त्यसपछि मलाई आफ्नो सी. भी. सहित सम्बन्धित निकायमा आफ्नो इच्छा दर्ज गर्नु भनिन्छ । म त्यही गर्दछु र सोही बमोजिम मलाई मेरो अनुभव र हैसियतको आधारमा जिम्मा दिने गरिएको छ । अर्थात, अरु कति सजिलरी टास्कफोर्समा पर्छन तर मलाई हेक्का रहेन तर मलाई भने आइसीसीले हरेकपटक आफ्नो सी. भी. माग्ने गरेको छ । सोधे हुन्छ अघिल्लो कार्यकालका लागि पूर्व सचिब डी. बी. क्षेत्री र यस कार्यकालका लागि महासचिब डा. हेमराज शर्मालाई ।

त्यसो भएर होला मलाई आइसीसीको टास्कफोर्समा बसेर काम गर्नु ‘सित्तैमा आएको धन’ जस्तो लाग्दैन ।

अघिल्लो पटक डी. बी. क्षेत्रीको कार्यदलमा म पर्नुअघि पनि आइसीसीले मेरो सी. भी. मागेको थियो । एक महिना लामो विचाराधिनपछि मैले वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति (FEMWWC) को युरोप चेयरको भूमिका पाएँ । एउटा राम्रो संयोग नै भनौं, टास्कफोर्स बनेको केही महिनामै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले हाम्रो टास्कफोर्ससंगकै परामर्शमा वैदेशिक रोजगारमा रहेकाहरुको हितमा यति राम्रा कुराहरु घोषणा गरे कि FEMWWC ले तत्कालमा त्यसपछि खासै पापड बेल्न नै जरुरी परेन । हेर्नुहोला चेयर डी. बी. क्षेत्री नेतृत्वको टास्कफोर्स र मन्त्री गोकर्ण बिष्टबीचको परामर्श (https://www.facebook.com/khusi.tawa.limbu/videos/2084277601831745/)

तर आफ्नो लेखमा नारायणजी भन्नु हुन्छ – “गाइगुइ सुनेको, म पनि टास्कफोर्समा परेको छु रे । मलाई त बधाई परेन” – अहो ! कति हल्का रुपमा आइसीसी टास्कफोर्स र त्यस्को जिम्मेवारीलाई प्रस्तुत गर्नुभएको ।

अत: नारायणजीको लेख पढेर एउटा कुरा थाहा हुन्छ: त्यो के भनेर टास्कफोर्समा सिधै दुई खालका सदस्यहरु हुन्छन् – एक, गाइगुइ अरुले भनेको सुनेर आफू टास्क्फोर्समा परेको थाहा हुने, र दुई, आफ्नो तीनबित्ते सीभी पछारेर टास्कफोर्समा बस्ने । त सोझै भन्न् सकिन्छ टास्कफोर्समा बसेर दुई बर्षमा कसले कति माखो मर्दो हो भनेर ।

त्यसैले होला टास्कफोर्सको सदस्य हुँदैगर्दा बधाई पाउनु कसैलाई ‘डढेको मुखलाई खुदो हालेको पुवा’ जस्तो लाग्ला तर मलाई भने त्यस्तो लाग्दैन ।

अर्थात कसैलाई औपचारिकताका लागि नभएर अरुका व्यक्तिको इच्छा, कार्यक्षेत्र र अनुभवको आधारमा (यदि विज्ञताको आधारमा होइन भने) नै कुनै टास्कफोर्समा राखिएको होला । यस पटक पनि उपाध्यक्ष रबिना थापाले आइसीसीमा मेरो नाम अघि सार्दैगर्दा र महासचिब डा. हेम राज शर्माले मेरो नाम समावेश गर्दै गर्दा मैले यसअघि संयोजन र समापन गरेको च्यारिटीका टर्याक रेकर्डहरु पक्कै हेरे होलान् ।

तसर्थ म भन्न सक्छु, आइसीसीले मलाई मेरो ‘सुन्दर’ रुप, ‘अग्लो’ कद वा ‘गोरो’ वर्ण देखेर वा चुनावमा सघाएको नसघाएको पूर्वाग्रहको आधारमा मलाई टास्कफोर्समा राखिएको होइन । सायद त्यसैले होला टास्कफोर्सको सदस्य हुँदैगर्दा पाएको वधाइ कसैलाई बिल्कुलै आहार जस्तो नलाग्दो हो, तर मलाई चाहिँ पटक्कै बीख जस्तो लागेको छैन ।

त्यसो त आजकल फेसबुकमा बधाई दिन र बधाई खान त्यति ठूलो कुरा जो रहेन । त्यसलाई कसैले महत्व दिएर फेसबूक रंगाउनु अनावश्यक लाग्दछ । बिहान उठेर यसो फोन छोयो कि फेसबूकको सबैभन्दा सिरानमा कि त कसैको जन्मदिन, कि त विवाह वा एन्निभर्सरी वा कसैको मृत्युको खबर लेखिएको खबर हुन्छ । अन्ततः फेसबुके नित्यकर्म त्यही ह्याप्पी बर्थडे वा रिपबाट शुरु हुन्छ । मलाई लाग्छ फेसबुकको अल्गारिदमले सायद यस्तै कुराहरुलाई कोडिङ गरेर न्युजफिडको टुप्पामा राखिदिन्छ । तब मात्र देख्न पाइन्छन् मित्रहरुको स्ट्याटसहरु, फोटाहरु, अन्य शेयरहरु । सूचना र ज्ञानगुनका कुराहरु त स्क्रल गर्दा गर्दा सबैभन्दा पुछारमा पाइन्छन् ।

दिइएको जिम्मेवारी पुरा गर्नुभन्दा पनि अन्य केही साथीहरुलाई समाचारको हेडलाइन हुन मनपर्ने गरेको हुनसक्छ । तर मैले भने आफ्नै न्युज पोर्टलमा भने आफ्नो टास्कफोर्सको समाचार बनाएर शेयर गरें ।

https://ivazz.com/khusilimbu/news/2020/02/27/03/39/15/1130/embed/#?secret=1tKfclk1lx

बधाई त राम्रा मन भएकाहरुले नै दिने हो । अरुका प्रगति देख्न नचाहनेहरु वा हदैसम्मका अल्छी मित्रहरुले प्रायः स्क्रल मात्रै गर्दा हुन् ।

अन्तमा, सबैलाई एउटै डालामा हालेर, अनावश्यक तिकडम गर्नेहरुलाई ठूला, कार्यदलमा काम गर्नेहरुलाई चाहीं साना ठान्नुभन्दा निश्चित व्यक्तिले निश्चित कार्यकालमा आफ्नो जिम्मेवारी पुरा गर्यो कि छैन ? वा एउटा माखो नमारी समाचारको हेडलाइन मात्रै बनिरह्यो ? त्यो महत्वपूर्व होला भन्ने लाग्छ ।

शुभ सप्ताहान्त ।

Leave a Comment