चमेराले घामसित डाहा गरेर घामलाई के खति ?

“तोलाको बोली खोला, हाम्ले भनेर के होला ?  आखिर माइतीघर मण्डलामा र रामशाहपथअघि दुई चार हजार मान्छेहरु उफ्रिएर, कराएर के हुँदोरैछ र । पूर्व माओवादी नेता Agni Sapkota बने गणन्तन्त्र नेपालको नयाँ सभामुख ।

चाहना त मेरो पनि थियो नि निवर्तमान सभामुख शिवमाया तुङ्बाङ्फे नै सभामुख बनून् भन्ने । “काङ्रेसको एउटा कार्जेकर्ता हुङ् भन्नेलाई नेकपाको जुनसुकै नेता सभामुख भएपनि केको तात्तो न छारो नि लै?” भनेर कतिले मलाई प्रश्न पनि तेर्स्याए । तर मेरो तुङ्बाङ्फेप्रतिको खुकुलो शुभेक्षा भनेको उनी पिछडिएका समुदायबाट राजनीति आएकी हुन् भनेर त हुँदैहो; तर एक महिला भएकीले पनि हो; अनुभवी र सक्षम भएकीले पनि हो; अझ संविधान र संवैधानिक प्रकृयाको मर्यादाको लागि पनि हो ।

तर म जाबोको चाहना पनि कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसैले वास्ता नगरेको जस्तै भयो ।

“लोकतन्त्रको मन्दिरामा पूजारी नै हत्यारा”, “अग्नी सापकोटा अब केही दिनमै जेल चलान” आदि-इत्यादि, दुनियाँ-दिवाना हेडलाइनहरु असरल्ल जताततै पढ्न पाईन्छन् । ए गाँठे ! हिजो माओवादी आन्दोलनको जगजगीको बेला अग्नी सापकोटा व्यक्ति थिएनन्, एक प्रव्रित्ति मात्र थिए भनेर किन नबुझ्ने ? त्यो प्रव्रित्तिको पुनराव्रित्ति नहोस् भन्ने हाम्रो कामना हुनु स्वाभाविक हो । तर हिजो शिवमाया तुङ्बाङफेलाई सभामुख बनाइयोस् भनी चुँ नबोल्नेहरुको आज अग्नी सापकोटा सभामुख हुँदा निन्द्रा नलागेर चौपट् छ । यो के हो ? यो मेरो विचारमा ६२/६३ को आन्दोलन र नयाँ सम्विधानले ल्याएको परिवर्तनप्रतिको बिषवमन हो; हिजोको असफल र चौतर्फी नकारिएको ब्यवस्थाको रहलपहल धङ्धङी मात्र हो; अग्रगमनप्रतिको तीतो असन्तुस्टी हो ।

माओवादी आन्दोलनको बेला कसकसले जनधन नगुमाएका होलान् ? जसलाई परेको छ उसले ब्यहोरेको छ । म आँफैले त दुई जना अत्यन्तै नजिकको व्यक्तिहरु गुमाएँ । गाउँ जनसरकार प्रमुख (गाजस) भएको निहुँमा मेरो भाई (साइला तुम्बाको छोरा) ज्ञानबहादुर तावालाई शाहीसेनाले चरालाई जस्तो ताकीताकी गोली हानेर भर्लाको रुखबाट खसाए; काङ्रेसको नेता भएको निहुँमा मेरो मामा नरप्रसाद लिङ्देनलाई माओवादीले शहिद बनाए । तर म र मेरो परिवार न त हिजोको शाहीसेनाको ब्यहारको तीतो धङ्धङी लिएर हिंडेको छ न त पाँचथरको पूर्वमाओवादी नेता श्री जबेगूको खोइरो खनेको छ ।

क्रान्ति जहिल्यै पनि इतिहासको गर्भबाट जन्मन्छ, नेतालाई जहिल्यै पनि समयको मागले पैदा गर्दछ । ऐतिहासिक दन्द्वात्मक भौतिकवादको सिद्दान्तले पनि त्यही भन्छ । त्यसैले इतिहासको त्यो काल खण्डमा रुसमा अक्टोबर क्रान्ति नभएको भएपनि अरु कुनै न कुनै क्रान्ति हुन्थ्यो, त्यो क्रान्तिले लेनिनलाई नजन्माएको भएपनि अरु कुनैलाई जन्माएको हुन्थ्यो । इतिहासमा हिटलर वा गान्धी नजन्मिएको भएपनि अरु कुनै व्यक्ति जम्नन्थे जसले दोस्रो विश्वयुद्द वा भारतीय स्वतन्त्र सङग्रामको नेत्रित्व गर्नेथिए । अर्थात नेपालमा पनि माओवादी आन्दोलन नभएको भए अर्को आन्दोलन हुन्थ्यो । पात्र र परिस्थिति बेग्लै हुन्थे होलान् तर सन्दर्भ उही हुन्थ्यो । त्यसैले ब्यक्तिको रुपमा हिजो अग्नी साप्कोटाले के गर्‍यो भन्ने कुरा गौण हो । इतिहासको त्यो कालखण्डलाई कर्दले ताछेर फाल्न मिल्ने भए म आँफैले नै गर्थें हुँला ।

अग्नी सापकोटालाई हत्यारा देख्नेहरुले दोषी चस्मा लगाएका होइनन् र ? आँफैलाई प्रश्न गर्छु । साप्कोटालाई जेल गएको देख्न चाहनेहरु सुखानी काण्डका एक पात्र केपी ओलीजीको ‘पूजाआजा’ गर्छन्; रेशम चौधरीको जेल चलानीमा खसी काटीखानेहरु बालक्रिष्ण ढुङ्गेलको आजादीमा मुखमा सुपारी हालेर बसेका छन् । साप्कोटालाई जेल पठाउँदा प्रचन्डलाई पनि पठाउने कि नपठाउने? प्रचन्डलाई पठाउँदा उपेन्द्र यादवलाई किन नपठाउने ? यादवलाई पठाउँदा ओलीलाई पठाउने कि नपठाउने ? चित्तबुझ्दो उत्तर छ कसैसित ?

अग्नी सापकोटालाई हत्याको आरोप लगाउँदै रामशाहपथ धाउनेहरु वास्तवमा उच्चस्तरीय बक्वास मात्र हुन् भन्ने लाग्छ । यिनीहरुले अदालतको समय र अन्य संसाधनहरुको दुरुपयोग गर्दैछन् । यिनीहरुले इतिहासमा न त छिन्ताङ्ग काण्डका दोषी सूर्यबहादुर थापालाई थुने, न त ४६ को आन्दोलनका दमनकारीहरुलाई पक्रे, न त ५००० जनाको हत्याको जिम्मेवार प्रचन्डलाई केही गर्नेछन् न त, प्रचन्डको आफ्नै शब्दमा, “१२००० जनाको हत्याको आरोपी राज्य” बिरुद्द केही बोल्नेछन् ।

अन्तमा, “साधुसन्त भोकै मरे, लुच्चाले खाए खीर” जस्तो कुरा गर्नेहरुले कसरी अग्नी सापकोटालाई लुच्चा देख्छन् र संगैमा शिवमाया तुङ्बाङ्फेलाई चैं सन्त देखेनन् ? बुझिनसक्नु छ । नेपालमा भएका कुन चाहिं राजनैतिक क्रान्ति हिँसारहित थियो र ?

कसैलाई कुनै व्यक्ति मन नपर्दैमा ऊ नेत्रित्त्वमा नपुग्ने भन्ने हुन्न। संसारका अरु धेरैलाई जस्तै मलाई पनि डोनाल्ड ट्रम्प मन नपर्ने मान्छे हुन् । तर उनी अमेरिका ४५औँ राष्ट्रपति बने त । हङ्कङ्गमा सन् १९९७ मा टुङ् ची वाह् देखि लिएर आजकी क्यारी लामसम्म हरेक पटक जो जो कार्यकारी प्रमुख बने, ती सबैले असी लाख हङ्गकङ्गेली जनताको स्वतन्त्रतालाई बन्धकमा राखी बेइजिङको गुलामीमा लम्पसार परेर हङ्कङ्ग प्रमुख बनेका हुन् । मलाई ति कहिल्यै मन परेनन् । देश र राजनीतिको हरेक पक्षलाई नवउदारवादको चस्माले हेर्ने मार्गरेट थ्याचरदेखि लिएर डेभिड क्यामरून हुँदै अहिलेका बोरिस जोन्सन मलाई मन नपर्ने नेताहरु हुन्, तर ती बेलायतका प्रधानमन्त्री बने त । अरु त अरु, नेपालकै सन्दर्भ कुरा गरौँ, मलाई केपी शर्मा ओली कति पनि नरुछेका नेता हुन् । उनी बाहेक नेकपाका ए बी वा जेड जो भएपनि प्रधानमन्त्री भैदिए हुन्थ्यो भनी माता पाथिभरा देवीसँग कति भाकल गरें हुँला । पञ्चायती शासन ढाल्न उहाँले गर्नुभएका योगदान र भोग्नुपरेका जेलनेलको उच्च कदर छँदैछ, तर नेपाली समाजमा ब्याप्त हरेक आर्थिक-सामाजिक-सांस्कृतिक विभेदहरुलाई केवल वर्गीय दृष्‍टिकोणले मात्र हेर्नुहुने देशको प्रधानमन्त्रीलाई मेरो मनमा उति स्थान नभएर पो के बित्यो । हुँदाहुँदा गएको बर्ष केन्सिङ्टन प्यालेस गार्डनमा प्रम ओलीको दर्शन गर्न लामै लाम लागेको थियो । म त्यसमा गइन । तर चमेराले घामसित डाहा गरेर घामलाई के खति हुने रैछ र ?

अत: रातलाई सम्झेर बिहानीलाई धिक्कार्नु ठीक होइन । बितेको समय सम्झेर मात्र वर्तमानमा सही काम हुँदैन । झन्डै चार महिनासम्म प्रतिनिधि सभा बन्धक बनेपछि मुलुकले नयाँ सभामुख पाएको छ । यो समय धिक्कार्ने, दुत्कार्ने, रुने, कराउने, उफ्रिने, चिच्याउने र सराप्ने होइन भन्ने लाग्छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नी साप्कोटाज्यूलाई मेरो पनि हार्दिक बधाई तथा शुभकामना । प्रतिपक्षी दलको कुराहरु पनि सुन्नुहोला ।

लण्डन निकै ठुलो पानी परिरहेछ्, बाहिर कस्तो छ् कोनी । जोगिएर हिंड्नुहोला ।

Leave a Comment