अपराध र अपराध-पीडितहरुको अध्ययन: आवश्यकता र महत्व

खुशी लिम्बु, युनिभर्सिटी अफ सरे

समाजमा किन कुनै एक ब्यक्ति अपराध गर्दछ र अर्को ब्यक्ति अपराध गर्दैन भन्ने बिषयमा पश्चिमा जगतमा पुनर्गागरण कालदेखि नै बिभिन्न दार्शानिक्, मनोबैज्ञानीक, बिज्ञंहरु तथा नीतिनिर्माताहरुबीच बहस र एउटा गहन अध्ययनको बिषय बन्दै रहिआएकोछ । प्रारम्भमा इटालीका दार्शनिक् सिजारे बेकारीयाले सन् १७६४ मा “अपराध र दण्ड” बिषयमा एउटा यस्तो सनसनीपूर्ण लेख लेखे जुन पुनर्जागरण कालकै उत्कृष्टमध्ये एक मानिन्छ । उक्त लेखमा बेकरियाले मनिस एक चेतनशील प्राणी भएकोले उसले जुनसुकै कार्य पनि नाफा र नोक्सान वा फाईदा-बेफाईदालाई ध्यानमा राखेर गरिरहेको हुन्छ भन्दै अपराधलाई उनले ब्यक्तिको स्वतन्त्र बिचारको उपजको रुपमा प्रस्तुत गरे । उनको भनाइमा समर्थन जनाउँदै केहि समयपश्चात इङ्ल्यान्ड्का जिरेमी ब्यान्थम र जे. एस. मीलजस्ता दार्शनिकहरुले पनि मानिस एक बिचारशील  प्राणी भएकोले जहिले पनि आफ्नो दु:खमा न्युनता ल्याउने र सुखमा अधिकता ल्याउने कोशिष् गरिरहेको हुन्छ भने । अपराध भनेको उनीहरुको शब्दमा त्यही प्रकृयामा ब्यक्तिले गरेको गलत निर्णयको प्रतिफल हो भने जुन कार्यले अन्य ब्यक्ति र समाजलाई हानी पुर्याउँदछ । बेकरिया, बेन्थम र मिलको यस् सिद्दान्तलाई अपराध शास्त्र (Criminology) मा शास्त्रीयतावाद अर्थात ‘Classicism’ भनिन्छ।

अपराधीलाई काबुमा ल्याएर अपराधको दरमा कमी ल्याउन शास्त्रीयतावादीहरुले दन्डप्रणालीलाई बिकल्पहिन माध्यमको रुपमा अठारौं शताब्दिको अन्त्यतिर अघि ल्याए जुन आजपनि यथावतै छ । उनीहरुले मूख्यत: दण्ड तत्कालिक हुनपर्ने, समानुपातिक हुनपर्ने र सार्वजनिक हुनपर्ने तीन प्रमुख कुराहरुमा जोड दिए । उनीहरुका अनुसार सार्वजनिक रुपमा दिईेएको दन्ड अन्य धेरैले देख्ने हुनाले भविष्यमा अरु कसैले अपराध गर्ने गुन्जायस रहन्न  । दोश्रो, अपराधीलाई उसको अपराधको लागि जति चांडो सजाँय मिल्छ  दन्ड त्यति नै प्रभावकारी हुन्छ । र तेश्रो, अपराध जति ठुलो हो दन्डको मात्रा त्योभन्दा ठुलो हुनपर्छ ता कि अपराधीले आफ्नो कुकार्यका लागि एकातिर पाउने सुख वा सन्तुष्टी र अर्कोतिर पाउने सजाँयको पिडा वा चुकाउनपर्ने मुल्यको राम्ररी लेखाजोखा गरोस ।

वास्तवमा शास्त्रीयतावादी बिचारधाराको आगमनपूर्व समाजमा कुनै निश्चित नियम, कानून र दन्ड प्रणालीको ब्यवस्था थिएन। औद्द्योगिक क्रान्तिपुर्वको उस बेलाको सामन्ती समाज कानूनभन्दा पनि धर्म र लोक मान्यताको आधारमा चलेको थियो । त्यसैले शास्त्रीयतावादले फौजदारी कानून, दन्ड र न्याय प्रणाली स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्यो । तर जब उन्नाइसौं शताब्दि प्रगतितिर अघि लम्क्यो तब शास्त्रीयतावादमा आधारित नीति नियमहरुमा पनि परिवर्तनका लागि दवाब बढ्न थाल्यो। यसको मुख्य कारण थियो आधुनिकताको आगमनसंगै उक्त काल खण्डमा बिज्ञानले गरेको प्रगति र बिज्ञानप्रतिको मानिसहरुको बढ्दो बिस्वास् । बिज्ञानको प्रभाव अरु क्षेत्रमा परेजस्तै अपराधशास्त्रमा पनि पर्न गयो र जीव बिज्ञानको प्रभाव स्वरुप अपराधशास्त्रमा जैविक प्रत्यक्षतावाद अर्थात ‘Biological Positivism’ को बिकास भयो। जैबिक प्रत्यक्षतावाद इटालीका सिजारे लम्ब्रोसो र उनका अनुयायिहरुले प्रतिपादित गरेको सिद्दान्त थियो जुन सिद्दान्तले ब्यक्ति वंशाणु आधारमा अपराधी भएर जन्मने र उसलाई सज्जन बनाउन सकिने सम्भावना न्युन हुने तर्कहरु प्रस्तुत गरेका थिए। चार्ल्स डार्विनको सैदान्तिक धरातलमा उभिएर लम्ब्रोसोले यस्तो तर्क अघि सारे जस अनुसार अपराधीहरु भनेको जीवको उत्पति र बिकासको क्रममा पछाडि धकिलिएका मानव प्रजातिहरु हुन् जो शारीरिक र मानसिक दुबै रुपमा सज्जन ब्यक्तिहरु भन्दा फरक हुन्छन्, जस्तो कि खप्परको आकार, चिउँडो र खुट्टा लम्बाइ आदि । तसर्थ, उन्नाइसौ शताब्दिको उत्तरआर्धमा अपराध र अपराधी सम्बन्धी व्याख्याका लागि केवल दुईवटा सिद्दान्तहरु थिए: एकातिर शास्त्रीयतावाद अर्थात कानून र अर्कोतिर जैविक प्रत्यक्षतावाद अर्थात बिज्ञान ।

जैबिक प्रत्यक्षतावादमा आधरित तर्कहरु आँफैमा कमजोर र बिबादित भएको र उन्नाइसौ शताब्दिको अन्त्य र बिसौं शताब्दिको शुरुका दशकहरुमा भएको मनोबिज्ञान र समाजशास्त्रको उदयले गर्दा क्रमश: मनोबैज्ञानीक प्रत्यक्षतावाद र सामाजिक प्रत्यक्षतावादले जैविक प्रत्यक्षतावादको उक्त स्थान ओगट्यो । मनोबैज्ञानीक प्रत्यक्षतावादको बिकासको लागि पारिवारिक समस्या र पुर्व बाल्यकालका अनुभवहरुमा निहित हुन्छ भन्ने मनोबिश्लेषक सिग्मण्ड फ्रायड्को  सिद्दान्त अग्रपङ्तिमा थियो । जसअनुसार ब्यक्तिको अपराधीक प्रब्रितिको कारण उसको मनोबिज्ञानमा हुने र त्यसको समाधान पनि मनोबिज्ञानमै खोजिनुपर्ने तर्कहरु अघि आए। त्यसैले अपराधीलाई सज्जन बनाएर उसलाई समाजको प्रमुख धारमा समाहित गर्नाका लागि पेशागत बिज्ञँहरुको सल्लाह-सुझाव र हस्तक्षेपको आवश्यकताको महशुस भयो। फलस्वरुप करिव १९४० को दशकतिर आएर मनोबैज्ञानीक, मनोचिकित्सक, सोसल वोर्कर, प्रोबेसन अफिसर आदि जस्ता पेशाहरुका साथै चाइल्ड वेल्फेयर, रिह्याबिलिटसन आदी जस्ता परोपकारी संस्थाहरुको  बिकास भयो ।  शैक्षिक कार्यक्रम र पाठ्यक्रमहरुमा सुधार आए । अपराधिक् प्रब्रितिलाई बुझ्न मनोबैज्ञानीक र सामाजिक संरचनाहरुमा हेरिनु निष्कर्षहरुले गर्दा मनोबैज्ञानीक कारणले बनेको अपराधीलाई थेरापी र रिह्याबिलिटेशनजस्ता पद्दतिको को माध्यमबाट र गरिवी वा अन्य सामाजिक कारणबाट बनेको अपराधीलाई लोक कल्याणकारी राज्य (वेल्फेयर स्टेट) को माध्यमबाट उसलाई असल ब्यक्ति बनाएर एउटा अपराधरहित उत्तम समाज स्थापना गर्ने परिकल्पनाहरु भए। सोही अनुरुप पश्चिमी देशहरुमा नीतिहरु निर्माण भए। यसरी बिसौ शताब्दिको मध्यसम्ममा मानव जीवनका मामिलाहरुमा बैज्ञानीक ज्ञानकोपूर्ण रुपमा प्रयोग गर्ने भरपूर प्रयासहरु भए।

शास्त्रीयतावादको मुल मन्त्र भनेकै अपराधलाई ब्यक्तिगत छनौटको रुपमा प्रस्तुत गर्नु थियो। तर १८३० र ४० को दशकमा फ्रान्सका आन्द्रे-मिचेल ग्वेरी र बेल्जियमका एडल्फ क्वेटेलेट भन्ने गणितज्ञहरुले आफ्नो अध्ययनको क्रममा समाजका बिभिन्न वर्ग र क्षेत्रबाट तथ्यांकहरु संकलन गरे र  उनीहरुले शास्त्रीयतावादको सिद्दान्तलाई चुनौति दिए । अपराध, गरिवी, अशिक्षा जस्ता सामाजिक समस्याहरुलाई संख्यात्मक अध्ययनबाट निदान गर्ने पहिलो प्रयास गरेको हुनाले उनीहरुलाइ “नैतिक तथ्यांकशास्त्रीहरु” पनि भन्ने गरिन्छ। आफ्नो अध्ययनबाट उनीहरुले सामान्यतया अपराध र सामाजिक तत्वहरुबीच गहिरो सम्बन्ध भएको तथ्य पत्ता लाए जसमा अपराधको सम्बन्ध ब्यक्तिको उमेर, उसको लिंग, पेशा, आय जस्ता तत्वहरुसंग भएको प्रमाणित् गरे । अन्य सामाजिक कारणहरुमा गरिवी, शैक्षिक स्तर, हावापानी र अल्कोहल आदि थिए । ब्रिद्दहरुले भन्दा जवानहरुले बढी अपराध गर्नु, महिलाहरुले भन्दा पुरुषहरु बढी अपराधी गतिविधिहरुमा संलग्न हुनु, र धनीहरुको बस्तिमा भन्दा गरिव गस्तिहरुमा अपराधको दर बढी हुनु आदि जस्ता नतिजाहरुले के निष्कर्षमा पुगे भने अपराधको सम्बन्ध उमेर, लिंग, गरिवी जस्ता सामाजिक तत्वहरुसंग छ न कि ब्यक्तिको छनौट्सँग। ग्वेरी र क्वेटेलेट्को भनाइ अनुसार यदि अपराधको सम्बन्ध ब्यक्तिको छनौटसंग हुनेभए समाजको सबै क्षेत्र र बर्गमा अपराधको दर समान हुनेथियो । तर उनीहरुले संकलन गरेको आफ्नो तथ्यांकहरुमा त्यो नभएर अपराधको दर कुनै निश्चित समुदयमा बढी एकत्रित भएर रहेको पाए ।

ब्रिटेन को सन्दर्भमा भन्नपर्दा सन् १९७० को दशकसम्म ब्रिटेनमा अपराधको दर र मापनको निम्ति केवल सरकारी तथ्यांकहरु मात्र उपलब्ध थिए जुन प्रहरी, प्रोबेसन सर्भिस र जेलद्वारा रेकर्ड गरिएका तथ्यांकहरुको संकलन थियो । तथापि, बिभिन्न सामाजिक, आर्थिक तथा राजनैतिक् कारणहरुले गर्दा बितेको चालिस बर्ष यता यस प्रकारका सरकार-अभिलेखित अपराध (अफिसियल्ली रेकर्डेड क्राइम) मा नाटकीय बृदिदर आयो जसले गर्दा अपराधीक तथ्यांकको महत्व एक्कासी बढेर आउनुका साथै सर्बसाधारण नागरिकहरु, अपराधशास्त्रीहरु, बौद्दिक, नीतिनिर्माण र राजनीतिक ब्रितमा ‘अपराध’ एउटा सार्वजनिक चासोको बिषय बनेर गयो । तसर्थ आज आएर अपराधिक तथ्यांक (क्रिमिनल स्ट्याटिस्टिक) लाई राष्ट्रको ज्वरो नाप्ने ‘ब्यारोमिटर’ वा राष्ट्रको नैतीक स्वास्थ्य (मोरल हेल्थ अफ द नेशन) को जाँच गर्ने एउटा उपकरणको रुपमा लिईन्छ । अपराधिक तथ्यांकहरुलाई आज समाजमा हुने अपराधको स्तर तथा बृदिदर सम्बन्धि जानकारी गराउने आधिकारिक सूचनाको प्रमुख श्रोतको रुपमा लिईन्छ ।

ब्रिटेनमा अपराध-पीडितहरुको तथ्यांक संकलन हुनथालेको तीस बर्षभन्दा बढी भईसकेको छ र क्राइम सर्भे फर इङ्ल्यान्ड एन्ड वेल्स CSEW (पूर्व नाम ब्रिटिश क्राइम सर्भे) ले हरेक बर्ष इङ्ल्याण्ड र वेल्सका जनताले भोग्न परेका अपराधीक घटनाहरुलाई अनुमानित रुपमा  सार्वजनिक गर्दछ । CSEW को प्रतिबेदनमा ब्रिटेनका बिभिन्न क्षेत्र र समुदायलाई भिन्न-भिन्न र स-साना बर्गमा बिभजित गरेर कुन क्षेत्र र कुन समुदायमा कस्तो प्रकारको र कुन हदसम्मको अपराध हुन्छ भनेर सर्भेद्द्वारा प्राप्त तथ्यांकलाई सुक्ष्म रुपमा बिश्लेषण गरेर प्रस्तुत गर्दछ । तथापि, नेपालीहरुको भने अन्य जातिगत समुदाय (जस्तै सोमाली, बङलादेशी आदि) छुट्टै चर्चा र बिश्लेषण हुंदैन । त्यसका दुई प्रमुख कारणहरु छन् । पहिलो, नेपालीहरु तुलनात्मक रुपमा नयाँ आप्रवासी हुनु, र दोश्रो, नेपालीहरुलाई सरकारी तवरबाट एउटा छुट्टै जातिगत पहिचानको आधारमा बर्गिक्रित नहुनु । उदाहरणको लागि एथनिक मनिटरिङ् फारम भर्दा अन्य जातिय बर्ग (अदर एथ्निक ग्रुप) भन्ने बक्समा टिक लाउनपर्ने हुन्छ जसले गर्दा नेपालीहरुले भोग्नपर्ने अपराधको बास्तविक अध्ययन हुन पाउँदैन । अध्ययनहरुले के देखाउँछ भने हरेक जाति, समुदाय, उमेर, पेशा, क्षेत्र, सामाजिक बर्गले भोग्नपर्ने अपराध र त्यसको कारण बेग्ला-बेग्लै हुन्छ। त्यस्तैगरी, ब्रिटेनमा गोराजाति भन्दा काला र एसियन जातिहरुको संख्या कम भएपनि बाटोमा प्रहरीको खानतलासीमा परेका शंकास्पद ब्यक्तिहरुदेखि लिएर जेलमा रहेका कैदीहरुको संख्यालाई हेर्ने हो भने औसत रुपमा काला र एसियनहरुको संख्या बढी हुने तथ्य होमअफिसको हरेक सालको तथ्यांकहरुले देखाउँछ । यसको आधारमा यो भन्न सकिन्छ कि प्रहरी र अन्य न्यायप्रणालीले गर्ने काम कामकारबाही र ब्रिटिश एथ्निक माइनरिटीहरुसंग कहीं न कहीं जातिगत र रंगभेदको सम्बन्ध छ ।

उन्नाइसौं शताब्दिको शुरुतिर जैबिक प्रत्यक्षतावादी अपराधशास्त्री सिजारे लम्ब्रोसोले जब अपराधको सम्बन्ध ब्यक्तिको जाति, कपाल,शारीरिक बनावट र छालाको रंगसँग भएको बिभिन्न तर्क र प्रमाणहरु प्रस्तुत गरे त्यसबेलादेखि लिएर आजसम्म पनि अपराध र अपराधिक ब्यवहार र ब्यक्तिले सम्भावित रुपमा सामना गर्नपर्ने अपराधको कहीं न कही सम्बन्ध भएको तथ्यहरु आजका अध्ययनहरुले पनि देखाउँछ । उदाहरणको लागि, “कालो वा खैरो बर्ण भएको ब्यक्ति स्वाभावैले अपराधी हुन्छ” भन्ने परम्परागत सोच राख्ने कुनै प्रहरीले आफ्नो ड्युटीको दौरानमा अन्य बर्ण भएको भन्दा कालो वा खैरो बर्ण भएको ब्यक्तिलाई बाटोमा रोकेर खानतलासी (स्टप एन्ड सर्च) गर्न सक्छ । अर्कोतिर सन् १९२० को दशकमा अमेरिकाको शिकागो शहरदेखि शुरु भएको अध्ययनहरुदेखि आजसम्मका सामाजिक अध्ययनहरुले पनि के देखाउँछ भने जहाँ धेरै आप्रवासीहरु बढी केन्द्रित हुन्छन त्यो भागको सामाजिक ब्यवस्था खलबलिएको हुन्छ र जहाँ सामाजिक ब्यवस्था खलबलिएको हुन्छ त्यहाँको औपचारिक र अनौपचारिक दुबै संस्थाहरु जस्तै घर, परिवार, बिद्द्यालय, चर्च, कानून, प्रहरी, प्रशासन आदि पनि कमजोर हुन्छन जसले गर्दा त्यहाँ निश्चित प्रकारको अपराधले प्रश्रय पाएको हुन्छ ।

यसै सन्दर्भमा, सन् २००४ देखि भुतपूर्व गोर्खा सैनिकहरुले आवासीय भिसाको अधिकार पाएको र सन् २००६ देखि ब्रिटिश नेसनालिटी (हङ्कङ) एक्टको कार्यान्वयन भएबाट सन बिएनओहरु हङ्कङदेखि बेलायत आउने क्रम शुरु भएपश्चात ब्रिटेनमा नेपालीहरुको जनसंख्या एक्कासी बढेको तथ्य सेन्टर फर नेपाल स्टडिज युकेको २००८ को अध्ययन र जनगणना २०११ ले स्पष्ट रुपमा पुष्टि गरेको छ । सन् २००१ मा करिब ५,००० नेपालीहरु बसेको बेलायतमा सन् २००८ सम्ममा करिव ७२,००० हुँदै हाल आएर करिव १,००,००० सम्म पुगेको हुनसक्ने कुरा सिएनएस युकेकै बिज्ञहरु बताउँछन् । तसर्थ, तुलनात्मक रुपमा नयाँ अल्पसंख्यक प्रजातिको रुपमा नेपालीहरुले सामना गर्नपर्ने अपराधको समस्या ब्रिटेनका गोराजाती र अन्य अल्पसंख्यक प्रजातिहरुले भोग्न पर्ने अपराधको समस्यामा कुन हदसम्म तात्विक भिन्नता भन्नका लागि पनि नेपाली समाजमा ‘भिक्टिमाइजेसन सर्भे’ अत्यावश्यक देखिन्छ ।

यसै सन्दर्भमा भन्नुपर्दा, हालैका सप्ताहहरुमा इङ्ल्यान्ड र वेल्समा बसोबास गरिरहेका नेपाली समुदायमा अपराध र पिडाको अवस्था, प्रक्रिति र स्तरको जाँच गर्न प्रकारको  सर्भे भईरहेको छ । यो सर्भे एउटा उच्चस्तरबाट कुनै सरकारी निकायले गरेको नभएर युनिभर्सिटी अफ सरे को एम एस्सीको लागि शोधपत्र बुझाउने दौरानमा म यो पङ्तिकार आँफैबाट प्रयास भएको छ । ब्रिटेनमा रहेका नेपालीहरुले भोग्नपर्ने अपराधको अध्ययन एउटा आँफैमा गहन बिषय भएको र उक्त बिषयको अध्ययन पनि ठुलै स्तरबाट हुनपर्ने जरुरी भएपनि त्यो ठुलो अध्ययनको शुरुआत यो सानो सर्भेले गर्नेछ भन्ने आशा लिएको छु । यदि यहाँले आजसम्म भाग लिईसक्नुभएको छैन भने कृपया यहाँ दिईएको लिन्क खोलेर यथाशिघ्र अनलाईन सर्भेमा भाग लिई यो सर्भेलाई सफल पारीदिनुहुन यसै लेख मार्फत बिनम्र आग्रह गर्दछु । अनलाई सर्भे यसै सप्ताहको अन्त्यमा बन्द हुँदैछ ।

नोट: मेरो यो लेख पहिलो पटक बेलायतबाट प्रकाशित हुने युरोपको नेपालीपत्रमा अगस्ट २१ मा छापिएको थियो ।

https://www.surveymonkey.com/s/crimesurvey-nepalicommunity-uk-english

https://www.surveymonkey.com/s/crimesurvey-nepalicommunity-uk-nepali

Leave a Comment