आइतबारको एनआरएन यूकेको कार्यक्रम र किसन राईलाई लेखेको मेरो एउटा पुरानो पत्र

यो पत्र सम्बन्धित ब्यक्तिहरुसित मात्र सम्बन्धित छ ।

तीन बर्षअघि हंगकंगबाट प्रकाशित हुने एभरेस्ट साप्ताहिकका सम्पादक Kisan Rai जीलाई मैले एउटा इमेल पठाएको थिएँ । उहाँलाई निकै चित्त बुझेछ पत्रले त एउटा लेखको रुप पो लियो । एभरेस्टमा छापिएपछि मलाई उक्त पेज पठाइदिनुभयो । सोही पत्रलाई काटछाँट गरेर यहाँ पुन प्रस्तुत गर्दैछु ।

“… … …
आदरणीय किशन दाई नमस्कार,
माथिको समाचार पढेर खुशी लाग्यो । सबै कुरो ठीकै छ तर एउटा कुरो धेरै पहिलेदेखि भन्न मन लागेको छ । … … …  त्यो के भने हङ्कङमा हामी नेपालीहरुको जब जब कुनै मीटिङ, गोष्ठी, बिमोचन आदिजस्तो औपचारिक कार्यक्रमहरु हुन्छन् तब त्यहाँ उपस्थित साथीहरुलाई जिन्स, हाफ्प्यान्ट, चप्पल, स्यान्डो भेष्ट लाउन पर्ने हुन्छ । हुँदा हुँदा अब त झन औपचारिक बैठक बस्दा ट्र्याक सुट, गन्जी र ट्रेनर (स्पोर्ट शूज) लाएर उपस्थित भएको देख्न थालिसक्यौं । यस्तै हो भने अब केही बर्षभित्रमै पाइजामा लाएर औपचारिक बैठक बसेको फोटो मिडिया र सामाजिक सन्जालतिर देख्न पाइएला जस्तो भयो ।

यस सन्दर्भमा दाई आज यहाँ एउटा पुरानो घटना सम्झना चाहन्छु । घटना आजभन्दा १५ बर्षअघि अर्थात सन् २००० को हो । हङ्कङ बेलायती उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा जुलाई १ को दिनलाई स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ भन्ने त सर्वविदितै छ । उक्त सार्वजनिक बिदाको अवसर पारेर दिदीहरु Jaya Laxmi Rai, जया राई, लक्ष्मी राई थापा (लारा Lux Mee) दाइहरु क्रान्ती सुब्बा, चन्द्र दुमी, शरण सुब्बा, रामकाजी राई आदि जस्ता हङ्कङका उदियमान र दिग्गज साहित्यकारहरुले युनलङमा कविता गोष्ठीको आयोजना गरेका थिए । उक्त कार्यक्रममा म फुच्छे पनि भाग लिन गएँ । त्यसदिन देखि आजसम्म हङ्कङको सिङ मुन रिभरमा धेरै पानी बह्यो; धेरै नेपालीहरुको जीवनमा उल्लेख्य परिवर्तनहरु भए । तर दु:खका साथ भन्न पर्दा एउटा परिवर्तन हुन नसकेको कुरा हो आफू सहभागी भएका सार्वजनिक समारोहहरुमा हाफप्याण्ट, चप्पल र गन्जी लाएर उपस्थित हुनु अनि उक्त भब्य कार्यक्रमलाई उचित सम्मान दिएर आफू गौरवान्वित हुन नसक्नु ।

उक्त दिन जसरी कतिपय सहभागीहरु हाफ्प्याण्ट, चप्पल र गन्जी लाएर सम्मानित साहित्य गोष्ठीमा सहभागी भए, त्यो क्रमको निरन्तरता आजसम्म पनि छ भन्ने तथ्य आज बिहान तपाईंको पेजमा प्रकाशित् फोटोले पुष्टि गर्‍यो । वास्तवमा म यो पटक पटक देखेको र अनुभवको आधारमा भन्दैछु । एउटा उदाहरणको कुरा गरौँ, ….. ….. क्रममा 2014 मा हङ्कङ आएको थिएँ । उक्त अवसरमा संगीतकार Dinesh Subba दाईद्वारा स्वरवद्द दोश्रो गीती एल्बमको बिमोचन कार्यक्रममा भाग लिन अचानक म पनि जोर्डनमा अवस्थित दोहोरी साँझ रेस्टुरेन्टमा पुगें (https://www.facebook.com/photo.php?fbid=809054032438875&set=a.155348441142774.29822.100000028582952&type=1&theater )। कार्यक्रम सफलताका साथ सम्पन्न भयो । सबैले आ-आफ्नै रुपले समिक्षा गरे होलान् । तर फेरि पनि मलाई चित्त नबुझेको कुरा त्यही थियो – कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरु चप्पल, हाफ्प्यान्ट, गम्बूट, हेल्मेट आदि लाएर उपस्थित थिए । त्यस्तो भब्य समारोहको अशोभनीय पक्ष त्यही थियो ।

त्यहाँ उपस्थित कतिपय साथीहरु कामबाट सिधै कार्यक्रमका सहभागी हुन आएका थिए । त्यसैले पक्कैपनि उहाँहरु पुरै ‘स्मार्ट ड्रेस’ मा उपस्थित हुनसक्ने सवालै थिएन । तर उहाँहरु आफूलाई त्यो साँझ बरिष्ठ संगीतकारको एलबम बिमोचनमा निमन्त्रणा भएको र कामबाट उताउतै जाने भन्ने योजना त पक्कै थियो । त्यस अवस्थामा उहाँहरुले कम्तिमा पनि आफ्नो लन्च र हेल्मेट बोक्ने झोलामा एउटा कोलरवाला कमिज पनि भारी लाउन सक्नुहुन्थ्यो, जुन कमिज लाएर त्यहाँ उपस्थित हुनुभए कार्यक्रम कति शोभायमान हुन्थ्यो होला ।

हामीलाई थाहा छ हङ्कङ निकै नै गर्मी देश हो । त्यसैले कुनै औपचारिक समारोहमा जाँदा पसिनाले पोतेको घाँटीमा टाइ नै झुण्डाएर जान पर्छ भन्ने छैन । तर कम्तिमा पनि एउटा कोलर भएको कमिज, छालाको जुत्ता र एउटा सग्लो पाइण्ट लाएर जस्तोसुकै मौसममा पनि बाहिर निस्कन सकिन्छ । स्मार्ट भएर बाहिर हिंड्नलाई आफू डाक्टर, वकिल, शिक्षक वा अरु कुनै ‘प्रोफेशनल’ हुनपर्छ भन्ने छैन, केवल आफूमा आत्मसम्मान भए पुग्छ । सफा र चट्ट (neat and tidy) भएर हिंड्नलाई महँगो कपडा वा सुट लाएर हिंड्नुपर्छ भन्ने छैन, केवल आफ्नो छालाको जुत्ता कहिलेकाहीँ पालिस गर्ने, दार्ही जुँगा काट्ने र कपालमा एक थोपा तेल घस्ने जाँगर काफी हुन्छ ।

उदाहरणको लागि यहाँ प्रस्तुत मेरो पुरानो फोटो उक्त दिन अर्थात १ जुलाई २००० को दिन कविता वाचनको क्रममा लिइएको हो । उक्त भब्य गोष्ठीमा मेरो सानो रचनाको महत्व कति रहन गयो वा गएन, त्यो आफ्नै ठाउँमा मूल्याङ्कन भयो नै होला । तर आज पनि मलाई खुशी लाग्छ कि हाफप्यान्ट र चप्पल लाएर आएका कतिपय सहभागीहरुका माझ त्यहाँ एउटा पुरानो कमिज लाएर म सानो मान्छे उपस्थित हुँदा थोरै भएपनि त्यो सम्मानित साहित्य गोष्ठीलाई शोभायमान बनाउन मद्दत् पुर्याएँ जस्तो लाग्छ । त्यसको निम्ति मलाई त्यहाँ उपस्थित दर्जनौँ स्थापित साहित्यकारहरु, पढेकालेखेका, बिजनेसम्यान वा समाजसेवी दाजुदिदीहरु झैं हुन जरुरी भएन । त्यस्तैगरि सार्वजनिक समारोहहरुमा आफू सम्मनित भएर रहन र कार्यक्रमलाई शोभायमान राख्नका लागि धेरै पढेको र अङ्रेजी नै बोल्ने हुनपर्छ भन्ने पनि छैन भन्ने मेरो मान्यतालाई तपाईंले पनि स्वीकार गर्नुहुन्छ नै होला । जस्तो कि उतिखेर म त केवल सुरुङमा काम गर्ने एक मजदूर थिएँ, जुन यहाँ प्रस्तुत मेरो दोश्रो फोटोले पुष्टि गर्छ ।

कुनै पनि बैठक वा अन्य औपचारिक समारोहहरुमा कुन भद्रमहिला वा सज्जन ब्रिन्दले ले के लाउने भन्ने कुरा कुनै पनि कानूनले तोकेको हुंदैन; त्यो ब्यक्तिको स्वेच्छको बिषय हो । त्यसैले कसैले कुनै कार्यक्रममा हाफ्प्यान्ट र गन्जी मात्र लाएर गएपनि ऊ अपराधी हुन सक्दैन । तर उसले कम्तिमा पनि सामाजिक मान्यता बिपरित ब्यवहाँर गरेको हुन्छ। त्यसैले उसलाई सामाजिक रुपमा बिचलित (deviant ) सम्म भन्नपर्ने हुन्छ । अर्थात, औपचारिक कार्यक्रमहरुमा उपस्थित हुँदा स्मार्ट ड्रेस लाएर जानु वाध्यकारी नभए पनि एउटा प्रचलित संस्कार र सामाजिक मान्यता हो ।

… … … सामाजिक मान्यता (social norms) भनेको संस्कार (culture) को एक अभिन्न अंग हो जसले समाजमा एकरुपता (uniformity ) र सामाजिक बहाव (social cohesion ), र सिङोपना ( wholeness) ल्याउनमा मद्त गर्दछ । सामाजिक मान्यतालाई सामान्यतया दुई प्रकारमा बिभाजित गरिन्छ, जसलाई अङ्रेजीमा ‘फोल्कवेज’ (folkways) र ‘मोरेज’ (mores) भनिन्छ । पहिलो, ‘फोल्कवेज’ भनेको लोकले स्वीकार गरेको त्यस्ता प्रचलनहरु जुन समाजको हरेक सज्जन ब्यक्तिले अनुकरण गर्दछ र त्यही अनुसार ब्यवहार गर्दछ । दोश्रो, ‘मोरेज’ भनेको त्यस्ता प्रचलित मान्यताहरु जसको अनुसरण नगरेमा ब्यक्ति समुहबाट बहिष्क्रित वा कहिलेकाहीँ दण्डित पनि हुनपर्ने हुन्छ । यस् अर्थमा कुनै विवाह भोजमा तपाईं ट्र्याकसुट र ट्रेनर लगाएर जानुभयो भने कानूनत: तपाईं दण्डित हुनुपर्ने छैन । तर त्यहाँ उपस्थित जनहरुले तपाईंलाई छड्के आँखाले हेर्दै निधार पक्कै खुम्चाउनेछन् । किनकि तपाईं समाजका बहुसंख्यक सदस्यहरुले स्वीकारेको मान्यता (mores ) को बिपरित ब्यवहार गरिरहनु भएको छ । यसरी सामाजिक मान्यताभन्दा बाहिर गएर कुनै ब्यवहार गर्नेलाई अपराधी नै नभनिएपनि उसलाई बिचलित वा अङ्रेजीमा ( deviant) भन्ने गरिन्छ । यस् अर्थमा कुनै सभा वा बैठक बस्दा हाफप्याण्ट् र चप्पल लाएर उपस्थित हुनु भनेको सामाजिक मान्यतालाई स्वीकार्ने बहुसंख्यक मानिसहरु अर्थात मूख्य धारको समाज (mainstream society) बाट अलग्गिएर अनौठो ब्यवहार देखाउने अल्पसंख्यकहरुको समुह (deviant group) को सदस्य बन्न पुग्नुहुनेछ ।

हङ्कङको सन्दर्भमा भन्नपर्दा प्राय: जसो साथीहरु बैठक बस्दा जिन्स र हाफप्याण्टमा उपस्थित हुने गरेकोले त्यो नै नेपाली समाजमा स्थापित मान्यता भाईसकेको अवस्था पनि हुनसक्छ । तर तिनै साथीहरु कुनै दिन चाइनिजहरुसित वा कुनै अन्तरराष्ट्रिय प्रकृतिको सार्वजनिक समारोहमा भाग लिन जाँदा नेपालीहरु हमजाएगा बन्ने सम्भावना बढी रहन्छ । अर्को कुरा, सामाजिक मान्यताहरु एक पिंढीबाट अर्को पिंढीले सिक्ने हुनाले कुमान्यताहरुलाई शुरुमै निमोठ्नु उत्तम हुन्छ । यदी हामी आँफैंले उदाहरण भएर स्मार्ट ड्रेस लाएर बैठकमा उपस्थित नहुने हो भने हाम्रा पिंढीहरुले भोलिका दिनहरुमा पाइजामा लाएर बैठक बस्ने दिन आउन नसक्ला भन्न सकिन्न । त्यसैले कुनै औपचारिक समारोहमा भाग लिनजाँदा स्मार्ट भएर जाने अभ्यास आजैबाट शुरु गरौँ ।
हङ्कङमा एउटा समस्या के देखिन्छ भने कुनै पनि सार्वजनिक समारोहहरुमा कस्तो पोशाक लगाएर उपस्थित हुने भन्ने बारेमा ‘ड्रेस कोड’ प्राय: तोकिएको हुँदैन । यसले गर्दा उपस्थित जनहरुको पोशाकमा औपचारिकता र एकरुपता झल्केको हुंदैन ।

मलाई हङ्कङमा हुँदाको सम्झना ताजै छ । उसबेला न्यु मकाती, न्याप्चुन र जो बनाना जस्तो डिस्कोमा जाँदा होस् वा नेपालीहरुले आयोजना गरेको डान्स पार्टी जाँदा होस्, त्यहाँ ड्रेस कोड हुने गर्दथ्यो । रक्सीको तालमा झ्याप भएर रातभरी नाच्नपर्ने ‘दुर्जनहरु’ जम्मा हुने त्यस्ता ठाउँहरुमा प्रवेश गर्नअघि त्यहाँका बाउन्सरहरुले तलदेखी माथिसम्म दुईदुइ पटकसम्म नजर लाउँथे । तर आज डेढ दशक बितिसक्दा पनि सज्जनहरु जम्मा हुने नेपालीहरुको सार्वजनिक समारोहहरुमा ड्रेस कोड नराख्नु बिडम्बनाको कुरा हो ।
दाई अन्तमा, यस् पत्र मार्फत हङ्कङमा रहेका मेरा साथीहरुमा यति सन्देश प्रबाहित होस् भन्ने चाहन्छु कि सार्वजनिक समारोहहरु जति नै सानो महत्वको किन नहोस् त्यसलाई कति मर्यादित र शोभायमान बनाउने भन्ने कुरा तपाईं हामीमै भर पर्दछ । यदि आफ्नो बैठकलाई तुच्छ सम्झनुहुन्छ र आँफै भद्र रुपमा प्रस्तुत हुनुहुन्न भने अरु कोही दोश्रो ब्यक्ति आएर त्यो बैठकलाई महत्व देला भन्ने आशा गर्नु ब्यर्थ हुन्छ । त्यसैले हामी पहिले आफू मर्यादित बन्ने कोशिस गरौँ ता कि दोश्रो ब्यक्ति पनि त्यहाँ सम्मानित रुपमा प्रस्तुत होस् । तब उक्त बैठक शोभायमान रहन्छ । यदि हामीमध्ये कसैमा बैठकमा उपस्थित हुँदा जिन्स र चप्पलमा प्रस्तुत हुने गरेका छौँ भने आजैबाट त्यो बानी त्यागेर स्मार्ट कपडा लाउने बानी बसालौँ ।

Leave a Comment