बृद्द भत्ताका कुरा र चाँपाबोटे माइलाको कथा

आज भने एउटा छोटो कथाबाट शुरु गरौं ।

म सानोमा गाउँमा छँदाको कुरा हो, हाम्रो एक असल छिमेकी हुनुहुन्थ्यो । हामी गाउँलेहरु उनलाई आदर गरेर बोलाउँदा ‘चाँपाबोटे माइला’ भनेर बोलाउँथ्यौं । उहाँ गाउँमा निकै नामी, अनि मेरी आमाको एक मनपर्ने धामी । घरभित्रको पूजाआजामा आमालाई लिम्बु फेदाङबा र बिजुवा नभई नहुने र घरबाहिरका पूजाआजामा आमालाई उहाँ (बाहुन पूजारी) अनिवार्य चाहिने ।

हाम्रो घरमाथिको डाँडामा एउटा देवीस्थान थियो । हरेक साल हामी देवीथानमा चण्डीपूर्णेको बिहान पूजा गथ्र्यौं । पाठा पनि काट्थ्यौं । चाँपाबोटे माइला बडाबाउ हाम्रा नियमित पूजारी । एक दिन फेरि चण्डीपूर्णे आयो । सदा झैं एक बिहान आमा पुजारीलाई निम्ता दिन उहाँको घर पुग्नुभयो । घरभित्रको अगेनु वरीपरी गाउँका अरु स्वास्नी मान्छेहरु पनि जम्मा भएका रहेछन् । तिमध्ये एक महिला भने चामल पैंचो माग्न आएकी थिइन् । घरबेटी चाँपाबोटे माइली आमै आगन्तुक छिमेकीहरुलाई फिका चिया उमालेर मनीपूरे डबकामा दिनमा ब्यस्त भइन् । उनले पैंचो माग्नेलाई चामल लिन तलामाथि श्रीमानलाई नै पठाइन् ।

“ए रुक्मेकी आमा, चामल दुई मानो कि दुई पाथी रे ?” बुढा माथिबाट कराए ।

“दुई मानो भनेको” बुढीले मुनितल्लाबाट स्पष्ट पारिन् ।

एकछिनको सन्नटापछि बुढाले माथिबाट फेरि बोले,
“चामल डालाको भरुँ कि कोठाको ?”

“होइन के भन्छन् यी बुढा ? आज यीनलाई के भा’छ हँ ?”
बुढी मुनितल्लाबाट किन हो निकै तातिइन् ।

बुढीको कड्काई सुनेपछि माइला बुढा चुपचाप दुई मानो चामल लिएर भर्याङबाट तल झरे । तर माइला बाको ‘डाला’ र ‘कोठा’ को कुरा सुनेपछि अब चामल पैंचो माग्ने त्यहाँ अरु पनि निस्किए । बुढीले नाईं भन्न पनि सकिनन् । बुढाले कसैलाई एक मानो र कसैलाई दुई मानु भर्दै एक पाथी चामल पैंचो दिइपठाए ।

बुढी बोलेकी थिइनन् । केही बेरपछि त्यहाँबाट सबै छुटे ।

साँझतिर माइली आमै आमालाई भेट्न हाम्रा घर झरिन् । आमाले बुझिहेर्दा चाँपाबोटे घरमा दिउंसो अचानक टाढाका पाहुनाहरु आएछन् । आमाले माइली बडीलाई चार मानो चामल मजेत्रामा हालिदिएर उकालो पठाइन् ।
____________

मलाई नेपालका बिभिन्न दलहरुले, र बिशेष गरेर नेकपा एमालेले, आफु सरकारमा छँदा बाँडने गरेको बृद्द भत्ता र चाँपाबोटे माइलाले त्यो दिन बाँडेको चामल एउटै लाग्छ ।

वास्तबमा हामी जस्तो तल्लाघरे, त्यस्तै त्यस्तै थिए माथ्लाघरे । चाँपाबोटे घरको तलामाथि डाला र कोठा (चोयाले बनेको चामल राख्ने सानो भकारी) थिएनन् । भएकै भएपनि त्यस दिन त्यहाँ चामल थिएन । चामल त आमैले हलुंगेको एउटा भाँडोमा राखेकी थिइन् । ठूलो मनका माइला पुजारीलाई गाउँमा सबैले मान्ने र त्यही अनुसारको हैसियत देखाउन खोज्नु ठीकै थियो होला तर जेठमा ब्याड राखेपछि बचेको धान कुटेर निफनेको चामल कति र के प्रयोजनका लागि भनेर बाबैले नबुझिदिंदा आमैलाई कत्रो फसाद् पर्यो ।

संसदीय प्रजातन्त्रको एउटा बिडम्बना भनौं, कतिपय अवस्थामा एउटा पार्टी सत्तामा आउँछ, ढुकुटी भर्छ । तर ढुकुटीमा कसैले भरेर राखेको चामल बांड्न अर्को पार्टी टुप्लुक्क आइपुग्छ । उसले ढुकुटी रित्याइञ्जेलसम्ममा उसको सत्ताको मिति पनि पुगिसकेको हुन्छ । त्यसपछि अर्को पार्टी फेरि सत्तामा आउँछ । त्यो चक्र चलिरहन्छ ।

मह जम्मा गर्न कति गाह्रो हुन्छ त्यो माहुरीलाई मात्र थाहा हुन्छ, तर मह चोर्ने भालु र मलसाँप्रा, अनि मह काढेर खाने मान्छेहरुलाई थाहा हुँदैन ।

४६ सालको आन्दोलनपछि नेपाली कांग्रेस र वाममोर्चाले ढिकुटीको चावी हातमा लिंदा त्यहाँ जम्मा ३० अर्ब रुपैयाँ मात्र थियो । ४८ सालको चुनावबाट एकमना सरकार बनाएपछि कांग्रेसले त्यसलाई तीन बर्षमा बढाएर ७० अर्ब पुर्यायो । तर ५१ सालमा चावी एमालेको हातमा गइदियो । उसले नौ महिना चावी राख्दा बाँड्ने काम शुरु भयो । तर “आफ्नो गाउँ आफैं बनाउँ” अभियानको इतिहासको ब्याज आजसम्म पनि भकारी रित्याउने पार्टीले खाइरहँदा भकारी भर्ने पार्टीको नामै आउँदैन । यसरी त्यो भकारी रित्याउने पार्टी जतिजति पटक सरकारमा आइपुग्छ उति उति पटक बृद्द भत्ता पनि बढिरहेकै अवस्था छ ।

ढिकुटीमा धान कसले भर्यो भन्दा पनि ढिकुटी रित्याएर कसले दिन्छ उसैलाई जनताले पनि भोट दिंदा रैछन् । आफ्नै घरको एउटा उदाहरण लिउँ, मेरो तुम्बा (बडाबाउ ) को पेन्सन मात्रै मासिक ५० हजार रुपैयाँ छ । राजधानीको एक ‘महल’ मा बस्छन् आफ्ना सन्तान र दरसन्तानका साथ । उहाँलाई पनि २००० रुपैयाँको वृद्द भत्ताको अझै माया छ । तुम्बाको घरमा जेठा दाई माओवादीको जिल्लास्तरका नेता हुनुहुन्छ, अरु थरिथरिका नेता छौं, तर हालै सम्पन्न चुनावमा ९१ बर्षीय वृद्दले आफ्नो ‘स्वविवेक’ ले सूर्यमा छाप ठोके । चुनाव जीत्न सबै पार्टीले नेकपा एमालेबाट सिक्ने हो कि ?

अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले राष्ट्रको ढिकुटीमा ६०० अर्ब रुपैयाँ जम्मा गरेको छ । तर कांग्रेस यस पटक चलाकीमा अलि अब्बल देखियो । उसले आफैंले भरेको भकारी अरुलाई रित्याउन नदिएर आफैंले रित्याउने निर्णय लिएको छ । उसलाई थाहा छ कि अब पाँच दश बर्ष भकारीको चाबी आफ्नो हातमा पर्ने छैन । नआउने सम्भावनाबीच भकारी रित्याउने खेलमा लागेको यो पालाको नेपाली कांग्रेसको चाला ठीक भन्ने पक्षमा त म पनि छैन । तर भकारी रित्याउन मात्रै जानेकाहरुलाई भर्न कति गाह्रो हुन्छ त्यो अनुभव लिने अवसर भने केही दलहरुले अवश्य पाउनेछन् ।

जे जसो भएपनि सोचबिचार नगरी ल्याइएका लोक कल्याणकारी नीतिहरु सधैं राष्ट्रका हितमा हुन्नन् भन्ने मनशाय मेरो यो छोटो लेखको हो । ‘घांटी हेरी हाड निल्नु’ । चुनावको बेलामा चाराको रुपमा फ्याँकिएका सस्ता नाराहरु राजनैतिक दलहरुका निम्ति सधैं महँगो सिद्द भएका छन् । नेपालमा ६५ बर्ष पुगेकाहरुले अब बृद्द भत्ता पाउने भो रे । राम्रै हो । तर राष्ट्रको ढिकुटी कहिल्यै खाली नहोस् । हाम्रो कामना ।

अन्तमा मेरा कथाका प्रेरणाहरु – मेरी आमा, चाँपाबोटे माइला बडा र माइली बडी – तीनै जना स्वर्गवासीहरुलाई सम्झँदै आजको यो छोटो लेख उहाँहरुको आत्मालाई नै समर्पण गर्दछु ।

यहाँहरुको आजको दिन शुभ रहोस् ।

Leave a Comment