दुई शब्द पद्मावतको बारेमा

लामो समयपछि हलमै गएर सिनेमा हेर्ने एउटा निहुँ मिल्यो हिजो – आफ्नो जन्मदिनको अवसर पारेर, परिवारसित ।

हिन्दी फिल्म ‘पदमावत’ केही दिन अघिदेखि लण्डनमा पनि प्रदर्शन भइरहेको छ । ३४ मिलियन अमेरिकी डलरमा निर्माण गरिएको भनिएको उक्त चलचित्र वलिवुडमा आजसम्मकै सबैभन्दा महंगो लगानी हो ।

ऐतिहासिक बिषयवस्तुलाई कला र साजसज्जाले सिंगारेर दर्शकसामु पस्कनमा माहिर निर्देशक संजय लिला भंसालीले बिगतमा देवदास, खामोसी र हम दिल दे चुके सनम जस्ता सुपरहिट चलचित्र दिइसकेका छन् ।

मध्ययुगिन १४औं शताब्दीका अफगानिस्तानका खिज्जी बंशका अत्याचारी राजा अल्लाउदिन (रणवीर सिंह) ले दिल्लीका एक रजौटा रतनसिंह (शाहिद कपुर) की कान्छी रानी (दिपिका पडुकोन) लाई मनपराएपछि पदमावतीलाई पाउन अल्लाउदिनले के के गर्दछ फिल्म त्यसै कथाको वरीपरी घुम्दछ । फिल्मको सेट, हतियार, हात्ती, घोडा, किल्ला, लडाईं, पोशाक साजसज्जाले दर्शकलाई बिल्कुलै मध्य युगमै पुर्याउँदछ ।

फिल्ममा दुई जना रानीहरुबाहेक अरुलाई, जानी नजानी, दासीको रुपमा चित्रित गरिएको छ । मेवार राज्यका सम्पुर्ण नारीहरु अन्तमा एक वन्द दुर्गभित्रको आगोमा आत्मदाह गर्दछन् । यस सन्दर्भमा पदमावतको समाज अति नै पितृसतात्मक देखिन्छ र नारीवादी लेखकहरुका निम्ति यो एक उर्वर समय हुनसक्छ । उता एक मुसलमानी राजालाई अति नै भयानक र अत्याचारी देखाउँदा इस्लाम धर्मावलम्बीहरुको समवेवनामा आघात पुग्ने सम्भावना त छँदैछ ।

पदमावत शुरुमा डिसेम्बर महिनामै प्रदर्शनमा ल्याउने तयारी भएपनि धार्मिक र साँस्किृतिक रुपमा सम्वेदनशील केही दृष्यहरु भएपछि उक्त दृष्यहरु र नाम (पदमावती बाट पदमावत) परिवर्तन गरी गत हप्ता रिलिज भएको रहेछ । फिल्म कति सफल हुन्छ र यसका राम्रा नराम्रा पाटाहरु के हुन् भन्ने बारेमा निश्चय नै केही दिनभित्रमा जानकारहरुको टिप्पणी पनि आउनेछन् । तर एक साधारण दर्शकको रुपमा एउटा ठोकुवा चाहिं म के गर्न सक्छु भने रणवीर सिंहले यस पटकको “Best Villain” को धेरै अवार्डहरु हात पार्नेछन् ।

जे होस् #Padmaavat ले यति छोटो अवधिमा ३६ मिलियन डलर असुल गरिसकेको छ र यो क्रम जारी छ । फिल्म २ घण्टा ४४ मिनेटको छ । हामीले त हेर्यौं । तपाईं पनि जाने हो ग्रिनीचको O2 मा ?

अन्तमा, यस अवसरमा, मलाई हिजो देश विदेशबाट जन्मदिनको शुभकामनाको मीठा सन्देशहरु पठाउनुहुने, पठाउन नभ्याउने र पठाउन बिर्सने सबैलाई एक मुष्ठ धन्यवाद टक्राउन चाहान्छु । यहाँहरुको शुभेच्छाहरु सधैं मेरा साथ रहनेछन्

Leave a Comment