लिंगभेदी समाजका अनेक रंगहरु

गायीका कोमल ओलीलाई राष्ट्रिय सभाको सांसद बनाइएको बिषयलाई लिएर नेपाली विश्व बजार अहिले चर्चा परिचर्चामा रमेको छ । कुनै बेला उनले गाएको ‘पोइल जान पाम’ गीत अहिले अभिशाप नै भएजस्तो । पोइल गएकी केटीले यो गीत गाएकी भए गीत सामान्य हुन्थ्यो । पोइल जाने उमेर बित्न लागेको तर वास्तवमा पोइल भने कहिल्यै नजाने कोमल ओलीले गाउँदा यो गीत उच्छृङकल भयो । तर पनि तर्क, बितर्क र कुतर्कहरुले कोमल ओलीको राष्ट्रिय सभासम्मको बाटो रोकिएन । बधाई छ माननीय ओलीलाई । कतिपय हामी पञ्चायतकालीन सोच पालेर विदेशमा वस्दैआएका छौं । सत्य पचाउन पनि गाह्रो पर्ने । कुनै बेला (र सायद आज पनि) नेपालमा आइ. ए. मा भर्ना हुनका लागि एस. एल. सी. पास गरेको हुनैपर्दथ्यो, वी. ए. पढ्नका लागि आइ. ए. को सर्टिफिकेट खोजिन्थ्यो । त्यस्तैगरी एम. ए. गर्नका लागि वी. ए. को मार्कशीट नभई हुन्नथ्यो । संसारका अन्य विश्वविद्यालयहरुमा के भइरहेथ्यो टी. यू. लाई बाल मतलब थिएन । त्यसका लागि तपाईंको उमेर, अनुभव र सम्भावनाको कुनै महत्व थिएन । विहारबाट किनेर ल्याएको वीरपूरे सर्टिफिकेट भए विश्वविद्यालयमा भर्ना हुन जत्ति पनि पाइने । आजको जमाना त्यो छैन । युरोप र अन्य विकसित देशहरुमा त शैक्षिक संस्थाहरुले दिएका प्रमाणपत्रहरु मात्र तपाईंको योग्यताका परिचायक होइनन् । तपाईंले जीवनमा बटुलेका अनुभवहरु, सिकेका सीपहरु र भोलीको सम्भावनाहरुलाई मध्य नजर गरेर आज तपाईंलाई विश्वबिद्यालयहरुले तपाईंलाइ सुहाउँदो कोर्सहरु अफर गर्दछ । को कति पानीको छ भन्ने कुरा राजगारदाताहरुले पनि निवेदकको सी.भी. सुंघेर पत्तालाईदिन्छ । १५ मिनेटको अन्तर्वार्तामा बसेर ‘अ’ भन्दैगर्दा सबै अलंकारहरु चिनिदिन्छ । अझ बेलायतमा त धेरैजसो रोजगारीका लागि डिग्रीको सर्टिफिकेट पनि खोजिन्न । यो विम्बलाई मैले राष्ट्रिय सभामा सदस्यहरुको मनोनयनसित जोडेर हेर्न चाहें । राष्ट्रिय सभा भनेको राजनीति गर्ने, राजनीति बोल्ने, राजनीति खाने, राजनीति ओकल्ने र राजनीति छेद्नेहरुको मात्र ठाउँ होइन । राष्ट्रिय सभाको सदस्य हुनलाई राजनीतिलाई पेशा बनाएको, जेलनेल र कोर्रा खाएको, क्याम्पस प्रमुखको कार्यालयमा ताल्चा लाएको वा टायर बालेर हिंडेको अनुभवी ब्यक्ति हुनपर्दैन । राष्ट्रिय सभामा सामान्यतया समाजका सबै वर्ग र समुहका ब्यक्तिहरुलाई प्रतिनिधिको रुपमा चयन गरिन्छ । उनीहरु ब्यापारी, समाजसेवी, कलाकार, लेखक वा किसान जो पनि सक्तछन्। बेलायती हाउस अफ लर्डस र भारतीय राज्य सभा सबैभन्दा राम्रा उदारहणहरु हुन् । कतिपय राजनीतिशास्त्रीहरुले यसलाई “the fifth wheel of a car” (गाडीको चक्काको पाचौं पाङग्रा) भन्ने गरेको भएपनि प्रजातन्त्रमा राष्ट्रिय सभाको आफ्नै स्थान छ । त कोमल ओली राष्ट्रिय सभाको सदस्य हुँदा उनको करियर पृष्ठभूमिलाई बहसको बिषय बनाउनुको कति तुक छ ? कोमल ओली मेरा मन पर्ने गायीकाहरुको सूचीमा पर्दिनन् । तर लाखौं मनका ढुकढुकी त हुन् नि । बर्षौंदेखि गीतसंगीतमा लागेर लोकलाई मनोरञ्जन दिलाउँदैआएकी कोमल ओली राष्ट्रिय सभाको सदस्य भएको बारे बहसको श्रृङखलालाई निरन्तरता दिनुभन्दा रौताहटवासीले चिन्दै नचिनेका बबनसिंह र कैलालीवासीेले भेट्दै नभेटेका रेशम चौधरी कसरी भोट जीतेर साँसद भए त्यतातिर दिमाग खर्च गरे अलि अर्थपूर्ण रहला । र अन्तमा, कुनै दिन कुमार बस्नेत वा उनीजस्ता अन्य कुनै पुरुषहरु राष्ट्रिय सभाको साँसद भए तर यस्ता कुराहरु उठेनन् भने तपाईं अचम्म नमान्नुहोला । कसलाई के थाहा, यो समाज तपाईंले जानेकोभन्दा बढी पुरातनवादी, बुझेकोभन्दा बढी रंगभेदी र सोचेकोभन्दा बढी लिंगभेदी पनि त हुनसक्छ नि । हैन र ? आजको तपाईंको दिन शुभ रहोस् ।

Leave a Comment