के बेलायतका २९३ जना नेपालीहरु साँच्ची नै सम्मानका भोका हुन् ?

योग कुमार फगामी नेतृत्वको एनआरएनए यूकेले मुछेत्र गुरुङको कार्यकाललाई माथ खुवाउँदै दुई सय त्रियानब्बे जना सल्लाहकारहरुलाई नियुक्त गरेको सार्वजनिक भएपछि हाल बेलायतको नेपाली बजार तातिएको छ ।एनआरएनए यूके महासचिब आर. के. त्रिपाठीको निजी अनलाइन लण्डन नेपालन्युजमा नवनियुक्त सल्लाहकारहरुका नाम प्रकाशित छन्। प्रकाशित नामावलीमा आफ्ना नाम देख्नेहरु ब्यक्तिगत रुपमा बधाई साटासाट र नदेख्नेहरु गुनासो गरिरहेका बेला नामावलीलाई लिएर प्रतिकृयास्वरुप केही लेखहरु बाहिर बजारमा आएका छन् । आउने क्रम अझ केही हप्ता चल्नेछ ।

वर्तमान कार्यकालका लागि छनौट गरिएका सल्लाहकारहरुको यो संख्या अघिल्लो कार्यकालको भन्दा एक सय तेह्रले बढी हो । अघिल्लो कार्यकालमा जम्मा दुई सय जना सल्लाहकारहरु नियुक्त गरिएको भनिए पनि केहीले आफु सल्लाहकार हुन अस्वीकार गरेका र केहीले आफुसित परामर्श नलिई नियुक्त गरिएको भनेपछि अन्तिम नामावालीमा जम्मा १८० जना सल्लाहकारहरु थिए । यदि यस पटक सम्बन्धित सबैसंग सल्लाह लिई उनीहरुलाई सल्लाहकार नियुक्त गरिएको हो भने वर्तमान संख्या २९३ घट्ने भन्दा अझ बढ्न सक्ने सम्भावनको गुञ्जायस छ ।

एनआरएनए यूकेका नवनियुक्त सल्लाहकारहरु

सल्लाहकारहरुको संख्यालाई लिएर अघिल्लो कार्यकालमा पनि निकै टिकाटिप्पणीहरु भएका थिए तर विवाद नियन्त्रणभन्दा बाहिर जान पाएन । यस पटक पनि वर्तमान कार्यकालका सल्लाहकारहरुको संख्यालाई लिएर बिभिन्न बिचारहरु सम्प्रेशण भइरहँदा यो विवाद केवल एउटा बहस हो भन्ने लागेको छ । एनआरएनए यूकेको सल्लाहकारहरुको संख्यालाई लिएर हाल सञ्चार जगत र सामाजिक सञ्जालतिर बिभिन्न टिकाटिप्पणीहरु भइरहँदा संघको एक पूर्व प्रवक्ताको रुपमा मैले संघप्रति रक्षात्मक दृष्टि लिनपर्ने अवस्था छ भने अर्कोतिर संघ गलत दिशातिर गएको खण्डमा एक सिपाहींको भूमिका पनि निभाउन पर्ने बाध्यता पनि छँदैछ ।

यिनै बाध्यताहरुबीच एक पङतिकारको रुपमा बिभिन्न टिप्पणीकारहरुको टिप्पणीप्रति टिप्पणी गर्न पनि मैले यहाँ केही टिप्पणी गर्ने जमर्को गरेको छु । प्रायजसो टिप्पणीहरु कुनै सामाजिक अभियन्ताले भन्दा पनि टिप्पणीकारहरुले नै गरेको हुँदा टिप्पणीहरु पढ्नकै लागि निकै मनोरञ्जक छन् भने कुनैमा दम पनि छ । प्रायजसो टिप्पणीकारहरुले सल्लाहकारहरुको संख्या हास्यास्पद, कोहीले अनावश्यक त कोहीले देखावटी भनेर उडाएका छन् । तर यस गतिविधिलाई अतिरञ्जित र बिषयगत रुपमाभन्दा पनि वस्तुगत रुपमा बर्णन गर्न जरुरी हुन्छ ।

सल्लाहकारहरु भनेका शक्ति हुन्, सञ्चय गरौं

सल्लाहकारहरुको नियुक्ति गर्दा एनआरएनए यूकेले निज ब्यक्तिबाट सल्लाह कम र बढी सहभागिताको अपेक्षा राख्दैआएको छ । बेलायतको नेपाली समाजको संरचना जातीय, क्षेत्रीय, धार्मिक, पेशागत, लैंगिक दृष्टिकोणले नेपालमाभन्दा बेलायतमा फरक छैन । सबै संघसस्थाहरुलाई एनआरएन अभियानको मुलधारमा ल्याउने अघिल्लो कार्यसमितिको प्रयासलाई वर्तमान कार्यसमितिले निरन्तरता दिएको छ । नेपाल हाउसजस्तो अभियानमा बेलायतका सबै समुदायलाई सहभागी गराएर अभियानमा सबैको अपनत्वको भावना जगाउन खोज्नुलाई राम्रो दृष्टिकोणले हेर्न सकिन्छ । २९३ जनालाई केवल ‘नाम मात्रका सल्लाहकार’, ‘रबर स्ट्याम्प’ र ‘सम्मानका भोका’ भनी कार्यसमितिभित्र र बाहिरकाहरुले उनीहरुको अवमूल्यन गर्दैगर्दा एनआरएनए यूकेले अधिकतम संख्यामा संघसंस्थाका प्रतिनिधिहरुलाई सल्लाहकार नियुक्त गर्दाका राम्रा पाटाहरु अवलोकन किन नगर्ने ?

सल्लाहकारहरुको नियुक्ति शक्ति आर्जनको एउटा माध्यम पनि हो । जो जिम्मेवारीमा छन् उनीहरुले नै उछित्तो काढ्ने सम्भावना पनि कम नै रह्यो । समाजसेवामा बिरोध नगर्नु पनि सहयोग नै हो । कतिपय अवस्थामा चोरलाई चावी दिंनु उपयुक्त मानिन्छ । अर्थात एनआरएनएप्रति सधैं नकरात्मक धारणा मात्र राख्ने कतिपय मान्यवरहरुलाई सम्मानको पल्ला झुण्ड्याइदिने एउटा रणनीति पनि हुनसक्छ ।

‘पासिङ आउट परेड’ का प्रसन्न मुद्राहरु : गत कार्यकालका 180 मध्येका 86 जना सल्लाहकारहरु यस पटक पनि छनौटमा परे

चोरलाई चौतारो साधुलाई सुली

अघिल्लो कार्यसमितिले पनि सबै तह, तप्का र समुदायलाई समेटेर समाबेशी बनाउने भन्दै १८० जना सल्लाहकारहरु नियुक्त गर्यो तर बेलायतमा रहेका सबै संघसंस्थाका प्रतिनिधिहरुलाई समाविष्ट गर्ने वास्तविक कार्य भने भएन । जोजसको नाम सिफारिशमा पर्यो तिनका नजिकका ब्यक्तिहरु कार्यसमितिमा थिए । यो प्रक्रिया यस पटक सुधारिन पर्दथ्यो तर त्यो भएन । अर्थात जसको नाम छुट्नु हुन्थेन ति नामहरु छुटेका छन् र जसको नाम समावेश नहुन पर्दथ्यो तिनका नाम समाबेश छन् । सल्लाहकारको सूचीमा धतुरेहरुदेखि लिएर समाजसेवाको ‘स’ नसुनेका अनि पाँच जनाको बैठक कस्तो हुन्छ जीवनमा कहिल्यै नदेखेकाहरुको नामहरु पनि पढ्न पाइन्छ । कार्यसमितिमा कतिपय त्यस्तै सदस्यहरुलाई चुनेर पठाएपछि यो त्यसैको प्रतिविम्ब हो । समाजका त्यस्ता ब्यक्तिहरुको नाम छुटेका छन् जो वास्तबमै एनआरएनए यूकेलाई सल्लाह दिने सामथ्य राख्दछन् र दिएका पनि छन् र जो बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु पनि हुन् ।

अघिल्लो कार्यसमितिले छानेका १८० जना सल्लाहकारहरुमध्ये गत चुनावसम्ममा भुस र चामल छुट्टिसकेको अवस्था थियो । भुस तिनै थिए जो १० जनवरी २०१६ का दिन एम्पायर हलमा सल्लाहकारको प्रमाणपत्र र खदा लिन आए तर त्यसपछिका कार्यक्रमहरुमा नत भाग लिए नत कुनै च्यारिटीमा एक पेन्नी नै झारे । कतिले त उल्टो लिने काम गरे (नाम नभनौं) तर कार्यसमितिलाई धन्यवादसम्म भन्न तिनलाई लाज भयो । असली तिनै थिए जसले कि त पैसा कि त समय दिएर मुछेत्र गुरुङको कार्यसमितिको हौसला बढाए । त्यसैलाई आधार मानेर वर्तमान कार्यसमितिले सल्लाहकारहरु छनौट गर्नुपर्ने थियो तर त्यो देखिएन । वर्तमान सूचीमा धेरै भुसहरु पुनः भित्रिएका छन् भने कतिपय चामलहरु उछिट्टिएर पाखा परेका छन् । अघिल्लो कार्यकालमा पुर्याएका योगदानकै कुरा गर्ने हो भने पनि योगेश राई, भुपजीत राई, सुमनचन्द्र राई र चन्द्र सुन्दास (अरु धेरै उदाहरणहरु छन्) जस्ता नेपालहाउसको लागि आफ्नो बैंक ब्यालेन्स परवाह नगरी आर्थिक सहयोग पुर्याउने सल्लाहकारहरुलाई पाखा लगाइएको छ । एनआरएनए यूकेको यस लापरवाहीपूर्ण छनौटले सल्लाहकार मण्डलीबाट सज्जनहरुको बहिर्गमन भएको छ र केही दुर्जनहरुको आगमन भएको छ ।

प्रतिनिधित्व, अपनत्व र समाबेशिताको रटानः छेपाराको कथा

सल्लाहकार छनौट प्रक्रियामा हचुवापनको अन्य उदाहरणहरु छन् । चुनावताका उम्मेद्वारहरुले समाबेशीताका जति कुरा गरेपनि यस कार्यकालका २९३ सल्लाहकारहरुमध्ये ७६ जना त गुरुङ मात्र छन् जुन २६ % हो । यदि यसलाई समानुपातिक र समाबेशी मान्ने हो भने बेलायतमा रहेका १८% लिम्बुहरुको प्रतिनिधित्व १० जना सल्लाहकारहरुले (३.५ %) ले गर्दैनन् (CNSUK को 2008 को तथ्याङकलाई आधार मान्दा) । अघिल्लो कार्यसमितिमा त थपनाकै लागि भएपनि किराँत याक्थुङ चुम्लुङका अध्यक्षलाई सल्लाहकारमा राखिएको थियो । तर यस पटकको लिस्टमा १५ हजार लिम्बुहरुको प्रतिनिधित्व गर्ने संस्था चुम्लुङका अध्यक्ष दिलसिङ लिम्बुको नाम कतै देखिन्दैन । उता १६ % जनसंख्या भएका खसआर्यहरुबाट ४८ % सल्लाहकारहरु (१४० जना) छानिएका छन् जुन कुल संख्या २९३ को झण्डै आधा हो । त्यस्तै ८ % दलितहरु भएका बेलायतमा पाँच जना पनि उक्त समुदायबाट सल्लाहकार मण्डलीमा नपर्नुले एनआरएनए यूकको माइन्युट बुकबाट समानुपातिक प्रतिनिधित्वको मुद्दा कोसौं दुर छ भन्ने स्पस्ट छ । अरु तर अरु, ४७% नेपाली महिलाहरु बस्ने बेलायतमा ५%  (१५ जना) महिलाहरुले २९३ जना सल्लाहकार मण्डलीमा के प्रतिनिधित्व गर्लान ?

त्यस्तैगरी अघिल्लो कार्यकालका ९२ जना सल्लाहकारहरुलाई यसपटक किन हटाइयो कार्यसमितिसंग चित्तबुझ्दो जवाफ पक्कै नहोला । बबी लामा, दर्शना कार्की र मनिषा डंगोल जस्ता ‘फ्रण्टलाईन एनआरएनए वीमिन एक्टिभिस्ट’ हरुलाई पनि किन हो कम्तिमा दुई बर्षे विदा दिइएको छ । एनआरएन यूकेमा संघसंस्थाहरुको प्रतिनिधित्वकै कुरा गर्ने हो भने पनि धेरैजसो संघसंस्थाहरुका प्रतिनिधिहरुको नाम देखिन्न । उदाहरणका लागि ताप्लेजुङ समाज यूकेको अध्यक्षको नाम छुटाइएको छ, पाँचथर समाज यूकेको अध्यक्ष चन्द्र सुन्दासको नाम हटाइएको छ, तेह्रथुम समाज यूकेका महासचिब डम्बर सिंगकको नाम काटिएको छ, इलाम समाज यूकेका अध्यक्ष गोपाल गिरीको नाम पढ्न पाइन्न । नजिकका झापा समाज, खोटाङ समाज, धनकुटा समाज र संखुवासभा समाज लगायत अन्य धेरै प्रतिनिधिमुलक संस्थाहरुका प्रतिनिधिहरुको नाम निशानै छैन । राजनीतिक दलका नेताहरुलाई पनि समाबेश गर्ने प्रयासमा संघीय लिम्बुवान मञ्च यूके भनिने एउटा पार्टीका बेलायत नेता लोकेन्द्र तबेबुङको नाम पनि यस पटकको लिस्टबाट मेटाइएको छ । अघिल्लो कार्यकालका सल्लाहकार तबेबुङले एनआरएन हाउस नेपालका लागि एक लाख रुपैयाँ दिएका थिए । त्यस्तै च्यारिटी बिभागकी पूर्व सदस्य एबं सिरिसे स्कूल पुननिर्माणको लागि सिंगो एक लाख दिने ब्यक्ति लिला सेलिङले भविष्यमा पुर्याउन सक्ने योगदानको बारेमा कार्यसमितिमा चिन्ता कसैले लिएनन् ।

यस अर्थमा कतिपयले भन्ने गरेको “एनआरएनए यूकेभित्र केही गलत, जातिवादी र क्षेत्रवादी ब्यक्तिहरु पनि हावी छन्” भन्ने आरोपलाई असत्य सावित गर्ने एउटा सुनौलो अवसर एनआरएनए यूकेलाई यसपटक पनि चुकेको छ ।

सिफारिश नपुगेर ‘रिडन्डेन्सीमा ‘ परेका निम्न ब्यक्तित्वहरु जो एनआरएनए यूकेका  ‘बर्डेन’ होइनन् ‘एसेटस्’ हुन्

के सल्लाहकारहरुको नामावली ब्यक्तिको सामाजिक हैसियतको मापदण्ड हो ?

सल्लाहकार मण्डलमा आफ्नो नाम पनि समाबेश होस् भन्ने चाहाना राख्नेहरुदेखि लिएर जम्बो मण्डलमा आफु परिए आफ्नो प्रतिष्ठा खस्कने चिन्ता लिएका महाशयहरुको नाम पनि अनौपचारिक कुराकानीहरुमा सुन्न पाइयो । अरु त अरु, समानुपातिकता र समाबेशिता जस्ता राजनैतिक मुद्दालाई लिएर बेलायतका मञ्चहरु तताउन तम्सने महाशयहरुले २०० जनाका हुलमा आफुले ‘ख’ र ‘ग’ वर्गका ठानेकाहरुको नाम देखेपछि हत्तरपत्तर कि त सल्लाहकारको समुह सानो बनाउन नत्रभने आफु सल्लाहकार मण्डलमा नबस्ने भनी घुर्की लाउँदै पन्छिए रे । उसखेर एकपटक एउटा संगठनको १००० जनाको कार्यसमितिमा सदस्य भएर बस्दा चरालाई धोति चाहिएको थिएन तर अहिले एनआरएनए यूकेको २०० जना सल्लाहकारहरुको मण्डलमा आफ्नो नाम देख्दा किन कुरीकुरी लाग्नु पर्ने ? एनआरएनए यूकेले आफुलाई ‘क’ वर्गका ठान्ने ठूलाबडाहरुलाई पालै पालो गरेर सबैलाई सुहाउँदो जिम्मेवारी दिंदैआएको छ र त्यसलाई निरन्तरता दिने नै छ । सल्लाहकार बसिदिन अनुरोध गर्दा ‘जातै जाने’ जस्तो अभिब्यक्ति दिनु राम्रो होइन । एकातिर समाजसेवामा नाफाघाटाको हरहिसाब गर्दै एनआरएन अभियानमा संलग्न सबैलाई उँच र निचमा बिभक्त गरी हेर्ने अर्कोतिर वर्गबिहीन समाजको वकालत गर्दै हिंड्ने महाशयहरुको सामन्ति पारा पाखण्डपनको चरम रुप जस्तो देखियो ।

र अन्तमा, ‘भन्न सजिलो गर्न गाह्रो’

एनआरएनए यूकेले कति गर्न सक्दछ त्यसको एउटा सीमा छ । यसले सबैैको आशा पुरा गर्न सक्दैन । २९३ जनाको लिस्ट तयार गर्दा अध्यक्ष र महासचिबको निकै दिनको निद्रा नपुगेको होला । दुई बर्षअघि त २०० जनाको लिस्ट तयार गर्न नै निवर्तमान अध्यक्षले दुई महिना चिटचिट पसिना काढेका थिए । तर दुई बर्ष पहिले र अहिलेको स्थिति फरक छ । उति बेला समितिमा सबै नयाँ थिए । अध्यक्ष लगायत झण्डै सतप्रतिशत नै नयाँ अनुहार । तर वर्तमान अध्यक्ष र कार्यसमितिका अधिकाँश सदस्यहरु निवर्तमान कार्यसमितिबाट आएका छन् । उनीहरुले बिगतबाट सिक्न नसकेको वा नचाहेको प्रष्ट बुझियो । कार्यसमितिभित्र जसलाई अलि थाहा थियो उनीहरुले आफ्नो असन्तुष्टिका रंगहरुलाई बैठकमा नपोखेर आफ्ना फेसबुकका स्ट्याट्सहरु सिंगार्नमै ब्यस्त रहे ।

जे भएपनि एनआरएनए यूकेले सल्लाहकारहरु नियुक्ति गर्ने सवालमा संख्यात्मक रुपमा फड्को मारेको छ, राम्राका लागि होस् वा खरावीका लागि । १८० बाट बढाएर २९३ जनालाई सल्लाहकार बनाएर । तर एउटा प्रश्न, २९३ र ३९३ बनाउनमा आखिर तात्विक फरक के फरक छ । तसर्थ अब सल्लाहकारमा राख्नै पर्ने ब्यक्तित्वहरुदेखि लिएर सल्लाहकार बन्न चाहनेहरु ब्यक्तिहरुको एउटा लिस्ट बनाएर यसलाई कि त ३९३ बनाए पनि के भो त । यसो गरेबाट आफु सल्लाहकार बन्न नपाउँदा हाल रुवावासी गर्नेहरुको संख्या पनि ह्वात्ते घट्ने थियो ।

समष्टिमा, यस लेख मार्फत यो नयाँ सल्लाहकार भविष्यका कार्यसमितिलाई उप्रान्त सल्लाहकारहरु चयन गर्दा सम्भावित सल्लाहकारहरुसित सल्लाह गरेर मात्र सल्लाहकारहरु चयन गर्न सल्लाह दिन्छ ।

अनि आफ्ना पनि थोरै कुरा

त्यसो त सल्लाहकारहरुको सूचीमा खुशी लिम्बुको नाम पनि कतै देखियो । नचिताएको कुरो । यसले दुई बिशेष अर्थ राख्दछ । एकातिर चुनावी तीतामीठाका सम्भावित अवशेषहरु कहिंकतै छन् कि भन्ने खुशी लिम्बुको अनुमानलाई योग फगामी र राजकुमार त्रिपाठीले गलत सावित गरिदिएका छन् भने अर्कोतर्फ खुशी लिम्बुलाई सल्लाहकारमा नियुक्ति गरिनु उनले दिएको सिंगो दुई बर्ष र उनले महासचिबको उम्मेद्वारको रुपमा पाएको सात सय मतको पूर्ण सम्मान हो भन्ने लागेको छ ।

२२ तारिखको साँझको निमन्त्रणा आएको छ । गइन्छ । अध्यक्ष र कार्यसमितिलाई धन्यवाद दिइन्छ । अन्य सल्लाहकारहरुसित बधाई साटासाट गरिन्छ । यसमा आत्मग्लानीको कुनै गुञ्जायस रहने छैन । यो किनेर पाएको पद र ढोगेर पाएको सम्मान होइन । आफु यसको हकदार हो । पाए खदा पनि लगाइएला; आत्मसम्मानका साथ; गौरवका साथ । बाँकी २९२ भित्र कति जना चोर, कति जना सन्त र कति महन्त हिसाबकिताब राख्नेहरुले राख्दैगरुन् ।

नवनियुक्त सल्लाहकारहरु सबैलाई बधाई अनि शुभकामना ।

Leave a Comment