जोबानको लोभ कि पिल्सिङको लालच ?

लिम्बु समाजमा सामान्यतया बालविवाहको परम्परा छैन । किशोर किशोरी भएपछि उनीहरुलाई राजी खुशी विवाह गरिदिने चलन अस्तिसम्म थियो । आजकल छैन । किशोर किशोरीहरु आफैं भागेर भने विहे गर्छन् । छुट छ ।

तर आजकल एक प्रकारको अपचलन आएको छ । यो अपचलन लिम्बु समाजमा मात्रै नभएर अन्य समुदायमा पनि भइरहेका होलान् । उमेर पुगेका तरुनीहरुलाई ‘विडो’ बुढा पेन्सनरहरुको “बुढेशकालको सहारा” को नाममा बिवाह गराइदिने । यो चलन हिजो पनि थियो । तर हिजो सम्पत्तिको लोभ र सन्तान उत्पादन ‘प्राइमेरी मोटिभेशन’ थिएन । आजकल यस प्रकारको बिवाहले अलि भिन्न रुप लिएको छ ।

उत्तरआधुनिक कालखण्डमा छौं । आफ्नो जागिर वा बिजनेसपछि, यदि समय बाँचिहाल्यो भने पार्टनरलाई । त्यसपछि पनि समय बाँचिहालेमा छोराछोरीलाई । अनि, अपशोचका साथ, बाबुआमालाई समय दिनका लागि क्यालेण्डरमा चिनो लाउने ठाउँ नै भेटिन्न । युगको बिडम्बना ।

त्यो हदसम्म त बुढेशकालका पितालाई जीवन सहारा र ‘सोल मेट’ का लागि अर्की कुनै विधवा महिला वा केही कम उमेरका ‘तुम मेञ्छ्या’ (बुढी कन्या) लाई बिहे गराइदिंदा त्यसको औचित्यता पुष्टि गर्न केही सहयोग हुन्छ । तर त्यो औचित्यता पूर्ण होइन ।

यदि परिवारमा बाबु बिते भने र आमा रहिन् भने आमाको सोल मेटको कसैले उठाउँदैन । सबैले भन्छन्, “आ … आमालाई त छोराछोरीले हेरिहाल्छन् नि …।” तर आमा बितिन् र बाबु एक्लै भए भने बाँच्नेका लागि बर्खी नउठी बिहेको लागि पार्टनर खोज्ने कार्य शुरु हुन्छ । शुरुमा भर्खरै विधुर (widower) भएको बृद्दको ‘ब्रेनवाश’ पहिले गरिन्छ । अझ बुढाका छोरा छैन भने त ‘बंश चलाउने’ नाममा उनलाई धर्मसंकटमा पारिन्छ । मानौं कि छोरा बृद्दलाई होइन अरुलाई नै चाहिएको छ ।

“आ… बुढा, अब बिहे गर्नुपर्छ । सन्तान जति सप्पै बिदेश, यत्रो सम्पत्ति कसले खाने ?” प्राय प्रयोगमा आउने शब्दहरु यीनै हुन् ।

अनि शुरु हुन्छ केटीलाई फकाउन । पहिला बुढाको पेन्सनको लोभ देखाइन्छ । ब्रिटिश गोर्खाहरुको अहिले पेन्सन धेरै छ । इण्डिया गोर्खाहरुको पेन्सन पनि कम छैन । त्यसपछि पहाडमा यति, तराईमा त्यति र शहरमा उति भनेर लालच देखाइन्छ । मानौं कि बुढा पेन्सनरका अरु कोही छैनन् ।

हाल सन्तानहरु बिदेशिने क्रमसंगै यो परिपाटी विकसित भएको छ । यस प्रक्रियामा केटीकै गाउँले, छरछिमेक र नातेदारहरु बढी संलग्न रहन्छन् । यस्ता उदाहरणहरु धेरै छन् – वल्लोघर, पल्लोघर, घरभित्र, घरबाहिर, तल्लो टोल, माथिल्लो टोल, वारी गाउँ पारी गाउँ । जताततै ।

यस्ता मानिसहरु जनसंख्या बृद्दीका अभियन्ताहरु हुन् । र नेपाललाई उनीहरु जस्ता अभियन्ताहरु चाहिएको छैन ।

हामीलाई जनसंख्या घटाउने र छोराछोरी समान हुन् भन्ने अभियन्ताहरु चाहिएको छ ।

केही महिनाअघिकै उदारण लिउँ । करिब आठ बर्ष क्यान्सरले थला परेकी श्रीमतीको बिधुर एक जना क्याप्टेन बुढाले स्वास्नीले मृत्युवरण गरेको महिनादिनु नपुग्दै अर्की ल्याए । उनलाई ल्याउन बाध्य पार्ने थिए उनकै छिमेकीहरु । त्यो पनि राजधानीको मध्य भागमा ।

सबैको ध्यान आकृष्ट हुनपर्ने कुरा के हो भने यस प्रकारको विवाहमा शोषणको गुञ्जायस रहन्छ । धनीले गरिबलाई गर्ने शोषण । आर्थिक स्तर राम्रा भएका दुलहीका परिवारले कहिल्यै पनि बनतिरको वास जाने उमेरका पेन्सनरहरुलाई खुशीका साथ विवाह गरिदिंदैनन् । यस्तो प्रकारको विवाहमा बुढा दुलहा र कलिली दुलहीको आर्थिक हैसियत कहिल्यै पनि समान हुन सक्दैन ।
____________________

मैले हिजो साँझ मात्र यो तस्विर देखैं फेसबुको एउटा ग्रुपमा, जुन फोटो अहिले लिम्बु समुदायबीच भाइरल बनेको छ । लिम्बु जातिको पवित्र धर्मशास्त्र मुन्धुम अनुसार सात पुस्ता अघिसम्म नाता पहिल्याउन पर्ने नियम छ । सबैले नगर्लान् त्यो पाटो छँदैछ । त्यसमा यदि फरियाको नाता पनि जोड्ने हो भने यो फोटोमा देखिएका जोडी मेरा नातेदार हुन सक्ने सम्भावना दोब्बर छ । यदि यी जोडी मेरा नातेदार परेनन् भने पनि यी कसैका बाबु, कसैका छोरी, कसैका कोही न कोही हुन् । तर दुःखका साथ यो फोटोलाई ‘रिफरेन्स’ बनाउँदै माथिका कुराहरु गर्ने जोखिम उठाएको छु ।

झलक्क हेर्दा यी जोडीबीचको उमेरको अन्तर बाजे र नातिनीबीचको जस्तै नै छ । दुलही पनि खासै खुशी देखिएकी छैनन् । विवाहको उद्देश्य जस्तोसुकै होस् । राजीखुशीले पनि हुनसक्छ । उहाँहरुलाई मेरो पनि बधाई र शुभकामना छ । तर एउटा सामाजिक अभियन्ताको रुपमा म यस प्रकारको ‘फकाईफुलाई विवाह’ लाई निरुत्साहित गरौं भन्न चाहान्छु । यदि निरुत्साहित गर्न सकिएन भने पनि कम्तिमा प्रोत्साहन पनि नगरौं ।

यहाँहरुको आजको बाँकी दिन शुभ रहोस् ।

Leave a Comment