मैले बुझेको राजनीति र यसको सोझो अर्थ

सामाजिक संघसंस्थाहरुलाई राजनीतिबाट टाढा राखिनुपर्दछ भन्ने हामीबीच एक सामाजिक मान्यता छ । तर यसको ब्यवहारिक पक्षलाई थोरैले मात्र बिचार गरेका हुन्छौं । संघसंस्थाहरुलाई राजनीतिबाट बिशुद्द राख्नपर्छ भन्दैगर्दा राजनीतिलाई एउटा फराकिलो अर्थमा बुझ्न आवश्यक छ भन्ने लाग्दछ ।  नेपालमा कुनै बेला कलेजमा छँदा म पनि राजनीतिशास्त्रको बिद्यार्थी थिएँ । तर यहाँ कोरा किताबी कुराभन्दा पनि राजनीतिलाई ‘डे-टु-डे प्राक्टिस’ मा कसरी बुझ्ने भन्ने बिषयमा छोटो चर्चा गर्न चाहन्छु ।

राजनीतिलाई सामान्यतया कुनै पनि देशको राज्यब्यवस्थासंग सम्बन्धित दलगत क्रियाकलापहरुलाई मात्र हेर्नु गलत हुन्छ भन्ने मेरो भनाइ हो । राजनीति भनेको काँग्रेस-एमालेबीचको लडाईं वा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीचको तालमेल मात्र होइन । राजनीति भनेको कन्जर्भेटिम्स र लेबरबीचको रस्साकस्सी मात्र होइन । कुनै एक दलले नीति निर्माण र कार्यान्वयनमा आफ्नो हित खोज्नु मात्र राजनीति होइन ।

राजनीति भनेको दलहरुबीच कसले देश चलाउने भन्ने खेल मात्र पनि होइन । चुनावको टिकट हत्याउन गरिने चाल , सरकार बनाउन तेस्रो दलसंग गरिने अप्राकृतिक मेल, प्रधान न्यायधिस हुन गरिने जाल, महानिरिक्षक बन्न गरिने होड , राजदुत हुन वा सचिबमा बढुवा हुन सत्ता र शक्तिको वरिपरि घुम्ने प्रार्थना, सिपाहींबाट कर्पोरल र सार्जण्टबाट कोलर हुनको लागि गुरुजीहरुलाई गरि बिन्ति र अफिसर हुन मेजर साबहरुलाई खुशी पार्न गरिने भक्ति यी सबै राजनीति हुन् । बिशुद्द राजनीति । राजनीति भनेको करेसाबारी अर्काको नाममा र घरबारी आफ्नो नाममा गर्न अंशीयार दाजुभाइहरु अंशदाता बाउको वरिपरि घुम्नु पनि हो  । राजनीति एआरएनमा हुन्छ, राजनीति यति, तमुधी र याक्थुङ चुम्लुङ सबैमा हुन्छ । राजनीति भनेको कुनै पार्टीको सदस्यता लिनु मात्र होइन । राजनीति अर्को गाउँमा जान लागेको विकासको योजना आफ्नो गाउँमा पार्न खोज्नु पनि हो । छिमेकी वडामाभन्दा आफ्नो वडामा गाउँपालिकाको केन्द्र बनाउन हुलदंगा गर्न पनि राजनीति नै हो । त्यसका लागि कुनै पार्टीको सदस्य बन्न जरुरी हुँदैन ।

राजनैतिक चलखेल सबैभन्दा धेरै हुने ठाउँहरुमध्ये सैनिक ब्यारेक । अझ बढी राजनीति बढी हुने ठाउँ हो गोर्खा सैनिक ब्यारेक । त्यहाँ पूर्बेली र पश्चिमे भनी गोराले बिभाजित गरिदिएका थिए कुनै जमानामै । किनभने गोराहरु “फुटाउ र राज गर” को राजनीति गर्छन् । ब्यारेकभित्र अनि पूर्वेली पूर्बेलीहरुबीच राजनीति हुन्छ । दार्जीलिंगेले अरु पूर्वेलीलाई पूर्वेली नै गन्दैन किनभने उसलाई अंग्रेजी बोल्न आउँछ । राई गोर्खा मेजरले लिम्बू सिपाहींलाई बढुवा गर्नपर्दा १० चोटी सोचेर मात्र गर्दछ । लिम्बु सिपाहींले फेरि राई फूलिवालाकोभन्दा दार्जीलिंगे धर्केको मोलमोलाई बढी गर्दो हो । यी सबै राजनीति हुन् ।

मेरो जीवन पनि ब्यारेकभित्रको राजनीतिले बर्बाद बनाइदिएको छ – एक अर्थमा। आमाले भन्नुभएको म सानो  छँदा अरे बाउ सार्जण्टबाट कोलरसार्जण्ट झण्डैले बन्नुभएको । बाउको बढुवा भए आमा गाउँबाट दिदीहरु, म अनि भाइलाई लिएर हंगकंग फेमिली टुरमा तीन बर्षलाई कम्तिमा जान पाउने मानसिक तयारी हुनुभा रैछ । तर राजनीतिले बाउको बढुवा रोक्यो । फरियाको साइनोले सुसुराली भदै पर्ने एक जना गोर्खा मेजरले बाउलाई कोलर बनाउने आस्वासन दिएका थिए रे तर पछि आएर कोलर त बुढा मेजरले एक जना दार्जीलिंगेलाई दिएछन् । बाउको काबेलीको माछाको सुकुटी र तीन पानेभन्दा सायद दार्जीलिंगको रम अलि दामी थियो क्यारे मेजर साबलाई । असत्ति राजनीति !

त्यो ब्यारेकभित्रको राजनीतिले गर्दा मैले हंङकङको गोर्खा चिल्ड्रन्स स्कूल पढ्न पाइन । बाउ कोलर सार्जण्ट भएर हङकङ फेमिली टुर जान पाएको भए म अंग्रेजी फररर पढ्थें होला, गोरा जस्तै । तर बेकामे राजनीतिले मलाई गाउँको स्कूलमा पढ्न बाध्य बनायो । त्यसैले आज म यहाँ छु ।

मैले यहाँ भन्न खोजेको के हो भने राजनीति भनेको राज्यब्यवस्थासंग सम्वन्धित क्रियाकलापहरु मात्र होइनन् । कुनै पार्टीमा आस्था राख्नु वा सदस्य बन्नु मात्र राजनीति होइन । राजनीति भनेको आफ्नो अस्तित्वको लडाईं र खिचातानी हो । राजनीति मन्दिरमा, मस्जिदमा, चर्चमा, गुम्बामा, व्यापारमा, जागिरमा र सबै संघसंस्थाहरुमा हुन्छ । पार्टीको सदस्य भएकालाई संस्थामा ल्याए राजनीति हुन्छ भन्दैगर्दा कुनै धर्म मान्नेले संस्थामा आफ्नै धर्मको हितमा गर्दो हो । कुनै जातिमा विस्वास राख्नेले आफ्नो जातलाई नै माथि पार्न खोज्दो हो ।  कुनै कुनै क्षेत्रमा बस्नेले संस्थामा आफ्नो क्षेत्रको हितमा मात्र कुरा गर्दो हो । के यी सबै राजनीति होइनन् ?

ब्यक्तिलाई कुनै पदबाट राजीनामा गराइन सकिन्छ तर उसको बिचार र आस्थाबाट राजीनामा गराउन सकिन्न । उ जहाँ गए पनि आफ्नो ब्यवहार उसको बिचारले निर्देशित हुन्छ, पदले होइन । मैले देखेको त सामाजिक संघसंस्थामा आएर आफ्ना बिचार लाद्नेहरु कुनै दलको सदस्यभन्दा पनि कुनै पनि दलको नामै नसुनेका ब्यक्तिहरु नै हुन्छन् । राजनीति त उनीहरुलाई पो लागेको हुन्छ । त राजनीति दलको सदस्यता लिनेलाई “छी: छी: दुर दुर” गर्नुको के तुक छ ?

तर आजकल राजनीतिलाई कुनै दलको सदस्यता लिनसंग गाँसेर हेर्दै ब्यक्तिलाई फलाना पार्टीको सदस्य भनेर उसलाई समाजसेवा गर्ने अवसरबाट बन्देज गर्ने प्रवृत्ति हामी कहाँ निकै बढेको छ जुन ठीक होइन । केही नेपाली मानसिकताहरु अहिले राजनीतिप्रति नकरात्मक धारणाको विकास गराउन उद्यत देखिन्छन् । र कुनै राजनीति दलको सदस्यता लिएको नाममा समाजमा नकरात्मक भ्रम फैलाएर त्यसको फाइदा लिन तत्पर छन् । उनीहरुलाई थाहा छैन कि २००७ को क्रान्ति कसले ल्यायो । उनीहरु बुझपचाउँछन् कि २०४६ सालको आन्दोलन कसले ल्यायो र २०६२/६३ को आन्दोलनले देश र समाज कसरी परिवर्तनको दिशामा अघि बढ्यो । उनीहरु आज बिर्षन्छन् आफ्ना पुर्खाहरुभन्दा उनीहरु कति स्वतन्त्र भएका छन् र सबै राजनीतिले सम्भव भएको हो । राजनीतिलाई “छि: छि: र दुर” गर्न खोज्नु अशिक्षाको पराकास्टा हो ।

राजनीतिको अर्थ बहुआयामिक हुन्छ । राजनीति भनेको समग्रमा एउटा दर्शन पनि हो र दर्शनले नै समाजलाई निर्देशित गर्दछ । यस अर्थमा राजनीति समाज अघि बढ्ने मूल बाटो हो । राजनीति बिज्ञान हो । राजनीति कला पनि हो । अनि राजनीति मुख्यत: टाउको (दिमाग) हो । जसरी टाउकोले सारा शरीर नियन्त्रण गर्दछ उसरी नै राजनीतिले समाज हाँकेको हुन्छ । राजनीति बिनाको काल्पनिक समाज टाउको बिनाको मुर्कट्टा हो । राजनीति बिना देश र समाज कहाँ अघि बढेको छ र?

सिजारे बेकरिया र जिरेमी बेन्थम जस्ता पुनर्जागरणकालका प्रसिद्द दार्शनिकहरुले एउटा घतलाग्दो शास्वत सत्यको उजागर गर्दै भनेका छन्, “Human is a hedonistic selfish being. He always tries to maximise his pleasure and minimise his pain”. अर्थात मानिस सधैं आफ्नो दुखमा न्युनता गर्न र सुखमा अधिकता ल्याउन तल्लिन रहन्छ । त्यसैले राजनीतिको खेल मार्फत आफूलाई माथि र अरुलाई तल पार्न खोज्नु स्वाभाविक मानवीय प्रवृत्ति हो ।  राजनीतिमा आफ्नो शाख राख्नलाई अरुको अस्तित्व गिराउन पर्ने हुन्छ । राजनीतिको कुटिल खेलमा ब्यक्ति वा समुह आफ्नो स्थान माथि पार्ने प्रयास गर्दछ जसको निम्ति अरुलाई तल पार्न जरुरी हुन्छ  । राजनीति भनेको जाल, साँज, फरेब र आफ्नो जीतको सुनिश्चितता गर्न एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति हो । राजनीतिमा अनेक हुन्छ । राजनीति यस्तो पेशा हो जसले नजिकबाट अर्को मान्छेलाई चिनाउँछ । राजनीतिले अर्को मान्छेको जाल फरेब, अर्को मान्छेको कमजोरी, अर्को मान्छेको मित्रता र अर्को मान्छेको सख्यताको परिचय दिन्छ । यथार्थमा  राजनीतिले मानिस को मानिस कस्तो जातको  हो त्यो देखाउँछ । समष्टिमा भन्नुपर्दा मानिस जहाँ आफ्नो हित र स्वार्थ अनुसार काम गरिरहेको हुन्छ त्यहाँ राजनीति भइरहेको हुन्छ ।

यति हुँदाहुँदै पनि राजनीति गर्नुपर्दछ । राजनीतिको बारेमा मैले अरु गन्थन गर्नुभन्दा पनि नेपालका एक स्वनामधन्य बिद्धान नेता प्रदीप गिरीले एक पटक एउटा कार्यक्रममा बोलका कुराहरु यहाँ सम्झिन सान्दर्भिक देखें ।

“राजनीतिसँग उदासिन रहनु आफ्नो भाग्यसित खेलवाड गर्नु हो । राजनीति भनेको झन्डै युद्द जस्तै हुन्छ । राजनीति र युद्द भनेको एकअर्काको प्रतिरुप वा छायाँ हुन् । अर्को परिभाषामा युद्द भनेको राजनीति सफल नहुँदा गरिने अर्को माध्यम हो । राजनीति भनेको प्रत्यक्ष रुपमा आफ्नो जीत नहुँदा गरिने अर्को प्रकारको युद्द हो । काङ्रेस भएर एमालेसँग लड्दा, एमाले भएर माओवादीसँग लड्दा, फेरी काङ्रेस भएर फेरि काङ्रेससँगै लड्दा, त्यसभित्रको ईर्श्या, द्वय, घ्रिणा, क्रोध, गुटवन्दी षड्यन्त्र जुन हुन्छ त्यो बडा ठुलो विश्व बिद्यालय हुन्छ ।”

उनले अघि भनेका छन्, “प्रेमबाट जस्तै राजनीतिबाट् बडा ठुलो शिक्षा पाईन्छ । प्रेममा नपरेको मान्छे र राजनीतिमा नपरेको मनुवाले वास्तवमा जीवन बुझेकै हुँदैन । अब यो अलग हुन्छ कि राजनीति काङ्रेसको गर्ने कि घरपरिवारको गर्ने । देउरान जेठानको गर्ने कि छरछिमेकको गर्ने। राजनीति नभएको ठाउँ कहाँ हुन्छ रु तँ ठुलो कि म ठुलो नभएको कहाँ हुन्छ र ?”

तसर्थ, आखिर राजनीति कहाँ पो हुन्न र?  वल्लो गाउँलेहरु भएर माथ्ला र तल्ला गाउँलेहरुसित मिलेर पल्ला गाउँकालाई एकलाउन खोज्नु; माथि उक्लन खोजेकालाई तलैतिर पार्न खोज्नु; तलतिर भएकालाई बहिर्याउन खोज्नु; बाहिर भएकालाई फेरि अवस्था हेरी भित्रयाउन खोज्नु यी सबै राजनीतिका रुपहरु हुन् । नेपाली काँग्रेस, एमाले, माओवादी वा लिम्बुवानको सदस्य लिनुभन्दा डरलाग्दो राजनीति त यि सदस्यहरुलाई पार्टी सदस्यको नामको ट्याग झुण्डाइदिएर आफू पदमा जान खोज्नु पो हो त ? अर्को शब्दमा राजनीति भनेको त आफूलाई मन लागेको पदमा जान अर्काको नाममा राजनीति पार्टीको नाम झुण्डाइदिनु र उसलाई राजनीति गर्ने नाम दिएर आफू राजनीति गर्नु पो त ।

के हाम्रो समाजमा पनि यी माथि भनिएका राजनैतिक खेल हुन्छ ? मलाई त आजसम्म त्यस्तो लागेको छैन । तपाईंलाई ??

Leave a Comment