एकात्मकवादी मन्त्री किरण गुरुङको अधिनायकवादी चिन्तन

घरमा बज्यैको श्राद्ध गर्दा बिरालोले प्रसाद खाइदियो । बाउले त्यो बिरालोलाई डोकाले थुनिदियो । पछि गएर छोरोले पनि बाउको श्राद्ध गर्यो तर घरमा बिरालो थिएन । छोरोले कतैबाट बिरालो खोजील्याई डोकाले थुनिदियो । श्राद्ध कर्म सकियो ।

घरमा बिरालो नै नभएपनि खोजेर ल्याएर श्राद्ध गर्ने पालो यसपटक एनआरएनए यूकेको थियो ।

प्रतिकात्मक रुपमा बेलायतका सबैभन्दा ठूला नेपाली संस्थाहरु एनआरएनए यूके र आदिवासी जनजाति महासंघले नियमित रुपमा अन्तरकृयाहरु गर्दै आएको छ । शुरुशुरुमा नेपालबाट आउने नेता र अगुवाहरुसंगको भेटघाट गर्ने र त्यसलाई औपचारिकता दिने चलन थियो । दोहोरो नागरिकता, गोर्खाका मुद्दा र प्रवासी नेपालीका समस्या बारेमा जानकारी गर्न गराउन गरिने त्यस्ता अन्तरकृयाहरु समयको आवश्यकता थियो । तर आजकलका अन्तरकृयाहरु केवल फेशन, नक्कल वा बिगतको अनावश्यक निरन्तरता बन्दैगएको छ । कुन ब्यक्तिसंग अन्तरकृया गर्दा समुदायलाई कति फलदायी होला भन्ने सोचबिचार नगरिकनै कि त सम्बन्धित नेताको इच्छा पुरा गर्न वा कसैको दवावमा आएर अन्तरकृया गर्ने क्रम बढ्दो छ । नाङलाले चामल र भुस छुट्याएर मात्रै ब्यक्तिलाई मञ्च दिन पर्नेमा एनआरएनए यूकेको हिजोको अन्तरकृया ननिफनेको बियाँको भात जस्तो बन्न पुग्यो ।

हिजो नगेन्द्र कुमालले राखेका बिचारहरुप्रति मेरो सार्वजनिक टिप्पणी छैन । उनले धेरै बोलेनन्, जति बोले, कसैले आँखीभौं उचालेनन् । सायद अतिहिरु एक जना गुरुङ र अर्को कुमाल भएर होला । कार्यक्रममा केवल तीन जना – कुल आचार्य, रामशरण सिम्खडा र बिनय अधिकारी – बाहेक अरु गैर–जनजातिहरु त्यहाँ थिएनन् । (अन्तरकृयाको अतिथिहरु लामिछाने, कोइराला वा पाठक भएको भए यो संख्या ठिक उल्टो हुन्थ्यो होला) । मेरो कटाक्ष प्रदेश ४ का आर्थिक मामिला मन्त्री किरण गुरुङको सोच, शब्द, चिन्तन र स्वाभावप्रति । बिरोधी र भिन्न मत राख्नेहरुको शब्दप्रति निकै असहिष्णु देखिएका मन्त्री किरण गुरुङले आफ्नो मन्तब्यको शुरुमा जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले भनेका शब्दहरुप्रति बढी आक्रामक देखिए ।

“नेपालदेखि आएका नेताहरुले आफुले पुरा गर्न सक्ने प्रतिज्ञा मात्रै हामी प्रवासी नेपालीहरुसंग गर्नुहोला, म आफु बेलायतवासी एक कांग्रेसी कार्यकर्ता भएको नाताले यो कुरा भन्न चाहान्छु”

एनपीसीसी यूकेका सभापतिको यो भनाइले वास्तवमा अघिदेखि नै नेता किरण गुरुङको पारो तातेको रहेछ । माइक पाउने बित्तिकै उनी रन्किए । मन्त्री गुरुङले आफुले नेपालमा लगानीको बारेमा मात्र कुरा गर्न र सुन्न चाहेको र नागरिकताको बारेमा कुनै कुरा सुन्न नचाहेको रुखो बिचार पनि पोखे । तर वास्तवमा कार्यक्रममा उपस्थित अधिकांश श्रोताहरु नागरिकताको कुराप्रति चाख लिएर आएका थिए ।

“तपाईंहरु राजनीति गर्ने भए नेपालमा गएर गर्नुहोस्, यहाँ थरिथरिको रंग नदेखाउनुहोस्!” । एनआरएनए यूकेद्धारा हिजो आयोजित अन्तरकृयामा यो कड्किएको आदेश थियो प्रदेश ४ का आर्थिक मामिला मन्त्री किरण गुरुङको – चीरपरिचत पार्टी कम्युनिस्ट पार्टीको नेताको ।

वास्तवमा मन्त्री गुरुङले विदेशमा आएर धेरै रुपहरु नदेखाउनु् भन्नुको सिधा अर्थ हो – कुनै एउटा अमुक राजनीति पार्टीमा मात्र आस्था राख्नु, एउटै धर्म मान्नु, एउटै भाषा मात्र बोल्नु, एउटै चाड मान्नु, ढिंडो नखानु, धोति नपहिरनु टोपी मात्रै लाउनु, पालाम र सोरठीको नामै नलिनु भजन मात्रै गाउँदैहिंड्नु, ल्होसार छोडेर दशैंमात्रै मान्नु भन्नु हो ।

कोही पनि नेपालीहरु बेलायत रहरले आएका होइनन् । बिदेशिनु उनीहरुको बाध्यता हो । तर पनि यहाँ एउटा सानो नेपाल छ । बाहुनीहरु यहाँ तिजमा कम्मर मर्काउँछन्, गुरुङसेनीहरु रोधीमा रम्छन्, मगर्नीहरु कौडा, लिम्बुनीहरु धान र राइनीहरु चण्डी नाच्छन् । यति सुझबुझ नभएका यस्ता ब्यक्तिलाई बेलायतसम्म ल्याउने कष्ट पनि त तमुधीं यूकेले नै गरेको थियो । नेपाल एक बहुजातिय, बहुधार्मिक र बहुसाँस्कृतिक समुदायको मूर्त रुप हो भन्ने नबुझेका नेताले बहुलवादी सोचमा आधारित रहेर बनेको प्रदेश सरकारको एक मन्त्रीको रुपमा कसरी कार्यसम्पादन गर्दछन् सोझै अनुमान लाउन सकिन्छ ।

आफु कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर कांग्रेसी र जनजाति नाम सुन्न नचाहने यी नेताले केही दिन अघि रेडिङको रिभरमिड हलमा कड्किंदै भने, “तपाईंहरु घर फर्किनुस्” । उनको भनाइको आशय थियो, तिमीहरु किन बिदेश आयौ खुरुक्क नेपाल हिंड, त्यहाँ तिमीहरुको लागि सबै ब्यवस्था छ, गाँस–वास–कपास–रोजगारी–विकास–अवसर–शिक्षा–स्वास्थ्य–समृद्दि–स्वतन्त्रता–शान्ति ।

साउनमा आँखा फुटेको गोरुले केवल एउटै रंग देख्छ – त्यो हो हरियो । जन्मदै आँखा फुटेको गोरुले पनि सायद एउटै रंग देख्छ – त्यो हो कालो । तमुधीं यूकेको निमन्त्रणा आएर तिनको स्वागतमा रमाएका किरण गुरुङले एउटै मात्रै रंग देख्नु बहुलवादी होइन, एकात्मकवादी चरित्र हो, प्रजातान्त्रिक होइन अधिनायकवादी रुप हो ।

जनजाति महासंघकै एक सदस्य संस्था तमुधीं यूकेको मञ्चमा उभिएर कड्किंदै उनले त्यहाँ पनि नेपालीहरुलाई बहुरंग नदेखाउन आदेश दिए । ल्होसार मनाउन बेलायत आएका उनले नेपालीहरुको एउटै मात्रै चाड देखे । कति बिडम्बना । कोही कांग्रेसी र कोही जनजाति नभएर एउटै नेपाली मात्रै भएर रहनुपर्ने उनको आदर्शवादी सोच यथार्थमा कति यथार्थपरक छ त । “बिदेशमा बसेर राजनीति नगर्नु” भन्ने उनको भनाइको आशय यही थियो कि बिदेशमा बस्ने नेपालीहरुले राजनैतिक पार्टीमा आस्था राख्नु पाउँदैन, अर्थात उनीहरु राजनीति अधिकारबिहीन प्राणीहरु हुन् ।

किरण गुरुङले यदि सक्छन् भने काठमाण्डौंको श्रम मन्त्रालयमा लाम लागेका नेपालीहरुलाई कड्किएर भनून, तिमीहरु विदेश नजाऊ । त्रिभुवन बिमानस्थलमा हवाईजहाज कुरेर बसिरहेका नेपाली युवाहरुलाई भनून्, देशमा तिमीहरुको लागि सबै ब्यवस्था छ – गाँस–वास–कपास–रोजगारी–विकास–अवसर–शिक्षा–स्वास्थ्य–समृद्दि–स्वतन्त्रता–शान्ति । तिमीहरु बिदेश नजाऊ । तर बिदेशमा रोजीरोटी गरिरहेका नेपालीहरुलाई देश फर्कर्न र रंगबिरंग नदेखाउन अर्ति नदिउन् ; राष्ट्र, राष्ट्रीयता, भौगोलिक अखण्डता, देशभक्ति, स्वदेशको माया र पराधिनता के हो उनले हामीबाट सिकून्; देशको भूगोललाई मात्र नेपाल मान्ने उनीजस्ताले देश एक नैतिक भावको मूर्त रुप हो भन्ने बुझुन्; र देशको समग्रतामा वस्तु रुप, आत्मा र स्वतन्त्रताको सम्मिश्रण देखून् । उनी आफ्नो अन्धोपनबाट उज्यालोतिर आऊन् ।

लक्ष्मी प्रसाद देवकोटाले एकपटक भनेका थिए, “एक भाषाले एक जाति बनाउँछ, एक जातिले एक राष्ट्र बनाउँछ, एक राष्ट्र भएपछि एक सभ्यता हुन्छ, एक धर्म हुन्छ, एक ध्येय हुन्छ ।”

देवकोटाको यो चिन्तन सतप्रतिशत फासिवादी थियो । हिटलरले पनि यही सोच लिएर सारा जर्मनीमा (र भएदेखिन विश्वभरी) एउटै जाति, धर्म र भाषाको एउटै राष्ट्रको सपना देखे । विश्वयुदुद निम्त्याए । यहुदीहरुको नाश गरे । त्यसपछिको संसारको इतिहास र उनको अन्त्य सबैलाई थाहै छ । आज राप्रपाले बोकिहिंडेको मरिसकेको राजतन्त्रको प्रेत र सबै पार्टीहरुमा बचेखुचेका दक्षिणपन्थी प्रतिक्रान्तिकारीहरुले जपिरहेको पञ्चायती मन्त्र पनि देवकोटाकै हिटलरवादी चिन्तन हो ।

देवकोटाको फासिस्ट चिन्तन महेन्द्रकालीन राज्यसत्तामा निकै फाप्यो । नेपाली भाषाको स्वर्ण युग आयो, तर अरु नेपालका अरु भाषाहरु मरेर गए । पञ्चायतकालमा राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता, राजभक्ति, धर्म र देशभक्तिका शब्दहरु यति घोकाइयो कि आजका नेपाली नेताहरुले हिजोको त्यो धङधङगी अझै बोकेर हिंडिरहेका छन् । वास्तवमा पञ्चायती पाठ्य पुस्तक महेन्द्र मालाको बाहिरी पछाडी गातामा लेखिएका शब्दहरुले यतिसम्म हामीलाई राजी (indoctrinated) गरायो कि ति घोकाइएका राष्ट्रियताका शब्दहरु नै आजसम्म पनि वान्ता गरिरहेका छौं । त्यसैले हामीलाई अझै पनि लाग्छ, मेची–महाकाली र हिमाल–तराई मात्रै नेपाल हो, त्यहाँका जाति, धर्म, भाषा, इतिहास, संस्कार–संस्कृति, आस्था र विस्वास र समष्टिमा आत्माहरु नेपाल नै होइनन । पत्रकार बिजय पाण्डेले “समाजले आफ्नो औकात अनुसारको मात्रै नेता पाउँछ” भने झैं जबसम्म यस्ता धङधङगी लिएर हिंड्छौं किरण गुरुङ जस्ता एकात्मकवादी सोच भएका अधिनायकवादी नेताहरु हाम्रो वरिपरि घुमिरहेका हुनेछन् ।

अन्तमा, एउटा सिंगो माला देख्ने तर त्यसमा रहेका सय वटा रंगीबिरंगी फूलहरु नदेख्ने, एउटै ताल मात्रै कुरा गरिरहन तर सय वटा बाजाको आवाज सुन्न नचाहने, परिवर्तित युगको सन्दर्भमा लेखिएको नेपालको संबिधानको मर्महरु नबुझ्ने हठी, धर्मान्धी, सनकी, घमण्डी र अध्ययन नभएका नेताहरुलाई बेलायतमा मञ्च र माइक प्रदान गर्नुभन्दा अघि दश पटक सोचौं ।
बाँकी दिन शुभ रहोस् ।

Leave a Comment