बेलायत एनआरएनमा अबको नेतृत्व

गैर-आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सातौं साधारणसभा तथा नयां कार्यसमिति निर्वाचन आगामी ९ सेप्टेम्बर २०१७ मा हुने तय भइसकेको छ । अहिले सबैको ध्यान लाप्राकमा नमुना वस्ती निर्माणतिर केन्द्रित भएका कारण एनआरएनए यूकेको आसन्न नयां नेतृत्व चयन केही छायांमा परे जस्तो देखिएपनि साथीहरु आन्तरिक रुपमा निर्वाचनमा जुटिसकेको आभास भएको छ । एनआरएनएको जन्म बेलायतबाटै भएकाले यहांको नयां नेतृत्व कस्तो आउंछ विश्वभरका एनआरएनलाई समेत चासो हुनु स्वभाविक छ ।

विश्वका ७५ राष्ट्रिय एनसीसीहरुमध्ये बेलायतले काठमाण्डौंमा हुने विश्व सम्मेलनमा आफ्नै विशिष्ठ स्थान ओगट्ने भएकाले यहांको समितिलाई विशेष चासो दिइन्छ । बेलायत एनआरएन कस्तो हुनुपर्छ भन्नेबारे बेला बेला वहस हुने गर्छ । यस सम्वन्धमा मैले व्यक्तिगत रुपमा केही धारणा राख्न जायज ठानेको छु । अधिकांश बेलायतवासी नेपाली भन्छन्, एनआरएनए यूके ग्रासरुट लेभलसम्म पुग्न सकेन, यो सिमित धनी वर्गहरुमा मात्र सिमित भयो । कतिपयको आवाज अप्ठेरो पर्दा यसले हामीलाई केही गरेन भन्ने पनि छ । सांचो हो, डेढ लाखभन्दा बढि नेपाली भएको बेलायतमा एनआरएनप्रति जनसहभागिता र चासो ज्यादै न्यून छ । म आफैं दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर काम गरेकोले पनि संस्थाप्रति मानिसको वितृष्णा नजिकबाट नियाल्ने मौका पाएको छु । निर्वाचनका बेलामात्र बलजफ्ती सदस्यता दिलाउने परिपाटी कसैबाट छिपेको छैन् । सिजनल अर्थात चुनाव अघिमात्र होइन, अब एनआरएनए यूकेले सदस्यता विस्तार गरि कम्तीमा बेलायतका ५० प्रतिशत नेपालीलाई समेट्न सक्नुपर्छ । जति सदस्य भयो, उति संस्थाको गरिमा र संरचना बलियो हुने हो । अधिकांशलाई लागेको छ- एनआरएनए यूके व्यापारीहरुको संस्था भयो । पैसा हुने संघमा अट्न सक्छन् नहुनेलाई पहुंच कम छ । नयां नेतृत्वमा आउन पैसा खन्याएरै सदस्य बढाउनुपर्छ । यो कुरा केही हदसम्म सांचो पनि छ । अघिल्ला कार्यसमितिमा साथीहरु नेतृत्वमा आउन भारी रकम खर्च गरेर निकै कसरत गरेको सबैलाई ज्ञात छ । अब यो परिपाटी अन्त्य गर्नै पर्छ संस्थाले ।

संघमा अब सबै जातजाती, धर्म र वर्ग समेटेर समावेशी नेतृत्व चयन हुन अपरिहार्य छ । युवा पुस्ता एनआरएनप्रति आकर्षित हुन नसकिरहेको अवस्थामा त्यो तप्कालाई संघमा आवद्ध गराउन ठूलो चुनौति छ नयां नेतृत्वलाई । वास्तवमा बेलायतमा तीनसय हाराहारी नेपाली संघसंस्था स्थापित भएको अनुमान गरिन्छ । त्यति धेरै संस्थामध्येबाट एनआरएनमै आकर्षित गर्न सदस्यहरुलाई लाभ हुने खालका प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ । जस्तैः फ्रि मेम्बर कार्डमार्फत हवाइ टिकेट होस् वा अन्य किनमेल, त्यसमा सहुलियत हुने व्यवस्था गर्न सकियो भने नयां मानिस यससंस्थाको सदस्य बन्न लालयित हुन सक्छन् । त्यस्तैगरि बेलायतमा नेपाल र नेपालीको इज्जत अनि प्रतिष्ठा बढ्नुमा गोर्खाहरुको योगदान अग्रपंक्तिमा आउंछ । गोर्खाहरुको वीरता र साहसले ब्रिटिसमात्र होइनन्, विश्वकै हेराइ उनीहरुप्रति सकारात्मक छ । एनआरएनए यूकेमा ति साहसी भूपू गोर्खाहरुलाई समेट्न जरुरी छ । भूपू गोर्खाहरु समान पेन्सन, क्षतिपूर्ति लगायत मागले लामोसमयदेखि आन्दोलित रहेको अवस्था छ । यस्तो परिस्थितिमा एनआरएनए यूके नेतृत्वले भूपू गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाइ साथ दिनुपर्छ । उनीहरुलाई नेपाली नागरिकता निरन्तरताबाट वञ्चित गरिनुहुन्न ।

युवाहरु भविष्यका कर्णधार हुन्, देशविकासका मेरुदण्ड हुन् । युवा पुस्ताको सीप र ज्ञान नेपालमा हस्तान्तरण गर्न नेपाल सरकारसंग समन्वय गरि उनीहरुलाई संस्थामा आकर्षित गर्न जरुरी छ । एनआरएनए यूके नयां नेतृत्वले जेष्ठ नागरिकलाई सुविधा दिने खालका कार्यक्रम ल्याउनुपर्छ । एनआरएन आपतकालिन कोष स्थापना गरि अप्ठेरो परेको बेला नेपालीलाई सहयोग गर्न सक्ने व्यवस्था मिलाए मानिसहरु यसतर्फ आकर्षित हुन सक्छन् । एनआरएनए यूकेले नेपाल हाउस निर्माण जस्तो महत्वकांक्षी प्रोजेक्ट अघि सारिरहेको अवस्थामा अबको नेतृत्वले त्यो जिम्मेवारी पुरा गर्न सक्ने आंट लिन सक्नुपर्छ ।

(लेखक एनआरएनए यूकेका उपाध्यक्ष हुनुहुन्छ । )

Leave a Comment